तिलोत्तमा क्याम्पसमा एमबीएको कार्यक्रम सुरू

मेचीकाली संवाददाता

४ भाद्र २०८१, मंगलवार
357 shares

बुटवल, भदौं ४ । रूपन्देहीको तिलोत्तमा क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा एमबीएको कार्यक्रम सञ्चालनमा ल्याएको छ । कक्षा ११÷१२ देखि विज्ञान र व्यवस्थापन विषयमा अब्बल ठहरिँदै आएको क्याम्पसले मास्टर्स इन बिजनेश एडमिन्स्ट्रेशन पठन–पाठन सुरू गर्न लागेको हो । मंगलबार कलेजले एमबीए कार्यक्रमको शुभारम्भ भएको हो । एमबीए कार्यक्रम अन्तर्राष्ट्रिय बजारमा समेत अब्बल मानिन्छ । त्यसैले हरेक वर्ष एमबीए पढ्ने विद्यार्थीको संख्या बढिरहेको छ । नेपालमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले एमबीए कोर्स सञ्चालन गरेका छन् ।
तिलोत्तमा क्याम्पसका प्राचार्य प्रा.डा. रामचन्द्र आचार्यले स्वालम्बी जनशक्ति तयार गर्ने मुख्य लक्ष्यसहित एमबीए कार्यक्रम सुरु गरिएको जानकारी दिए । ‘बीबीए कार्यक्रम सुरु गरेको १५ वर्षको प्रयासपछि बल्ल एमबीए कार्यक्रम सुरु गर्न सफल भएका छौं’ उनले भने । २०५६ सालदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धन पाएको क्याम्पसले २०६६ सालदेखि बीबीए कार्यक्रम सुरु गरेको थियो । यो कलेज २०५३ सालमा तिलोत्तमा नगरपालिका–२ मा स्थापना भएको हो ।
एमबीए कार्यक्रममा सबै विषयबाट स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले अध्ययन गर्न पाउने प्राचार्य डा. आचार्यले बताए । ‘आफ्नो अनुसन्धनात्मक क्षमता, कार्यकुशलता, प्रशासनिक दक्षता अभिवृद्धि गर्ने महत्वपूर्ण अवसर सबैलाई प्राप्त भएको छ’ उनले भने । एमबीए कार्यक्रमलाई पूर्णरुपमा अनुसन्धानमा आधारिक बनाइने पनि उनले बताए । एमबीए पढनको लागि ४ लाख ३० हजार खर्च लाग्ने गर्छ ।
क्याम्पसका अध्यक्ष रामचन्द्र ढकालले अनुसन्धानमा रमाउन चाहने विद्यार्थीका लागि यो कार्यक्रम कोशेढुंगा हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले तिलोत्तमा क्याम्पसले शैक्षिक क्षेत्रमै छुट्टै पहिचान स्थापित गर्न सफल भएको भन्दै एमबीए कार्यक्रमको सफलताको कामना गरे । प्राध्यापक सन्तोष ज्ञवालीले यो विद्यार्थीहरुलाई स्वरोजगार बनाउनका लागि यो कार्यक्रम उपयुक्त विकल्प भएको बताए । तिलोत्तमा क्याम्पसले कक्षा १२ र स्नातक तहमा गरेर प्रति वर्ष करिव ७०० विद्यार्थी उत्पादन गरिरहेको छ । बीबीए कार्यक्रमका लागि कलेजले ४० जनालाई छात्रवृत्तिमा पढाइरहेको छ ।