बुटवलमा पुनः सञ्चालनमा आयो नेपाली जुत्ताघर

मेचीकाली संवाददाता

१० भाद्र २०८१, सोमबार
424 shares

बुटवल । बुटवलको मिलनचोकस्थित डेल्टा कम्प्लेक्समा नेपाली जुत्ताघर पुनः सञ्चालनमा आएको छ । असार ६ गते आगलागी भएपछि कम्प्लेक्स परिसरमा नै ४० वटा स्टलहरुमार्फत सेवा पुनः सुरु भएको हो ।

सोमबार एक कार्यक्रममका बिच लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले स्वदेशी उत्पादन भाषणमा नभई काम गरेर प्रवद्र्धन गर्नुपर्ने बताए । नेपाली जुत्ता उत्पादक र कच्चा पदार्थ उत्पादकहरुले उत्पादन र निर्यातमा जोड दिन आवश्यक रहेको उनले बताए । देशलाई आर्थिक रुपमा सबल बनाउने गरि युवाहरुबाट नै योजनाहरु अघि सार्नुपर्ने उनको तर्क छ । अब भाषणभन्दा पनि काम गरेर देखाउने समय आएको उनले बताए ।

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ पुनः जुत्ताघर सञ्चालनमा ल्याइएको नेपाली लुगाघर तथा जुत्ताघरका सञ्चालक प्रकाश भुसालले बताए । भदौ ९ गतेदेखि दोस्रो बुटवल जुत्ता चप्पल व्यापार मेला उद्घाटन अघि केही संस्थाहरुबाट लज्जास्पद हर्कत गरिएको प्रति दुखेसो गरे । आम उपभोक्तामैत्री सेवा दिन लागेको बेला गलत आरोप लगाइएको भन्दै एमआरपी ट्याग मूल्यमा छुट दिइने गरी आफूहरु लागेको बताए । आगलागी भएर करोडौंको सामान नोक्सान भएको अवस्थामा पनि नेपालीहरुका महान् चाडपर्व तीज, दशैं, तिहारलाई लक्षित गरी स्वदेशी उत्पादनलाई प्रवद्र्धन र उपभोक्तालाई कम मूल्यमा स्वदेशी जुत्ताचप्पल बिक्री गर्ने उद्देश्यले नयाँ सोँचका साथ जुत्ताघर सञ्चालन भएको उनको भनाइ थियो ।

जुत्ताघरमा नेपालमा स्थापित चर्चित जुत्ताचप्पल उत्पादक कम्पनी र ब्राण्डहरु उपलब्ध छन् । स्मार्ट शुज, क्रस रोड, रन शुज, एक्सन शुज, शिखर शुज, पवित्रा शुजलगायतका उद्योगका ३० भन्दा धेरै ब्रान्ड र ३ हजार बढी डिजायन रहेको सञ्चालक भुसालले बताए । जुत्ताघरमा उपभोक्ताले १५ देखि ५० प्रतिशतसम्म छुटसहित कारखानाकै मूल्यमा जुत्ता पाउनेछन् । यसका साथै सुरुमा आउने २ हजार ग्राहकहरुलाई एकजोर मोजा एक रुपैयाँमा उपलब्ध गराउने भुसालले बताए ।

नेपाली फुटवयरजन्य सामान नेपाली उपभोक्ताहरुको मागको ६५ प्रतिशत योगदान नेपाली उत्पादनवाट भइरहेको जुत्ता उत्पादक संघ नेपाललका अध्यक्ष रुद्रप्रसाद न्यौपानेले बताए । नेपाली उद्योगबाट वार्षिक १६ करोड जोडी जुत्ताचप्पल उत्पादन गर्न सक्ने क्षमता रहेको उनले बताए । नेपालमा वार्षिक १० करोड जोर जुत्ताचप्पल खपत हुने गरेको भन्दै नेपाली उद्योगबाट वार्षिक ६ करोड जोर माग पूरा गर्दै आएको उनले बताए । करिब ४ करोड जोर जुत्ताचप्पल बाहिरबाट भित्रिने र त्यसमा पनि साढे २ करोड बढी अवैध बाटोबाट भन्सार छलेर भित्रने गरेको उनले दाबी गरे ।

नेपालको औद्योगिक उत्पादनमा फुटवेयर क्षेत्रको योगदान उल्लेखनीय रहेको फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका वरिष्ठ उपाध्यक्ष सुरज बञ्जाडेले बताए । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बुटवलमा २०८० बैशाख १ गतेदेखि डेल्टा कम्पेक्समा नेपाली जुत्ताघर सञ्चालन आएको थियो । ०८१ असारमा आगलागीबाट पूर्ण रुपमा ध्वस्त भएपछि सोही ठाउँमा पुनः जुत्ताघर सञ्चालनमा ल्याइएको हो ।