गार्गी एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

१४ भाद्र २०८१, शुक्रबार
550 shares

बुटवल । बुटवल–११ देविनगरस्थित गार्गी एकेडेमीमा तीज विशेष कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झविन्द्र अधिकारीको अध्यक्षता, अर्घाखाँचीको पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अन्तरसदनात्मक तीज गीत प्रतियोगितामा छनौट चरण पार गरेका १० वटा समूहहरूले अन्तिम चरणमा प्रतिस्पर्धा गरेका थिए । त्यसैगरी विद्यार्थीहरूले ८ वटा अप्रतियोगी नृत्य पनि प्रस्तुत गरेका थिए । प्रतियोगितामा ओमकार घर्तीको समूह ह्वाइट ए प्रथम, अनुस्का पराजुलीको समूह रेड ए द्वितीय र स्मृति रायमाझीको समूह ब्लु ए तृतीय भएका छन् ।

कार्यक्रममा पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, विद्यालयका निवर्तमान अध्यक्ष रणबहादुर थापालगायतले शुभकामना दिँदै महिलाहरुको महानपर्व तीजलाई संस्कृतिको जर्गेना गर्दैै सभ्य र भव्य रुपमा मनाउनु पर्नेमा जोड दिए । विद्यालयमा आयोजना हुने यस्ता कार्यक्रमले संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा विद्यालयका प्राचार्य भुवन अधिकारीले स्वागत तथा कार्यक्रमबारे जानकारी गराउँदै संस्कार र संस्कृतिको संरक्षण गर्ने जिम्मा विद्यालय तहबाटै हुने भएकोले तीजको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको बताए । मावि संयोजक समिर अधिकारीको सञ्चालमा कार्यक्रम सम्पन्न भएको थियो ।