एमाले सैनामैनाका शाखा अधिवेशन सुरु

मेचीकाली संवाददाता

१६ भाद्र २०८१, आईतवार
239 shares

सैनामैना । नेकपा एमाले सैनामैनाले शाखा कमिटीका अधिवेशन सुरु गरेको छ । एमाले सैनामैना नगर कमिटीको हालै बसेको बैठकले भदौ १६ गतेदेखि शाखाका अधिवेशन सुरु गर्ने निर्णय गरेको थियो ।
पार्टीको सोही निर्णय बमोजिम आइतबार सैनामैनाका तीनवटा शाखा कमिटीका अधिवेशन एकसाथ सम्पन्न भएका छन् । शाखा कमिटी ४, शाखा कमिटी २ र शाखा कमिटी १ मा दोस्रो अधिवेशन आइतबार एक साथ सम्पन्न भएको पार्टीका नगर कमिटी अध्यक्ष चेतनारायण न्यौपानेले जानकारी दिए ।

तीन वटै वडामा नयाँ नेतृत्व चयन गर्नेगरी आइतबार दिउसो एकसाथ उद्घाटन शत्र सुरु गरिएको थियो । शाखा कमिटी ४ मा पार्टीका प्रदेश कमिटी सदस्य तथा सैनामैना नगरका इन्चार्ज नरबहादुर थापाले अधिवेशनको उद्घाटन गरेका थिए ।
यस्तै शाखा कमिटी १ मा पार्टीका प्रदेश कमिटी सदस्य तथा सैनामैनाका सहइन्चार्ज खुशीराम चौधरीले अधिवेशन उद्घाटन गरे भने र शाखा कमिटी २ मा नेकपा एमाले रुपन्देहीका जिल्ला कमिटी सचिव चित्रबहादुर कार्कीले अधिवेशनको उद्घाटन गरेका थिए । तीन वटै वडामा पार्टीको दोस्रो अधिवेशनको एक साथ उद्घाटन गरिएको थियो ।

शाखा कमिटी वडा नं. ४ को दोस्रो अधिवेशनको एक समारोहबीच उद्घाटन गर्दै प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज थापाले टोल, शाखा, पालिकाका अधिवेशनहरु मार्फत पार्टी कमिटीलाई चलायमान बनाइने बताए ।
उनले पार्टीका हरेक तप्काका नेता कार्यकर्ताहरुलाई अब उत्पादनमूलक काममा केन्द्रित गर्ने र जनताको जनजीविकाका सबालमा दुखसुखमा साथ दिंदैं समृद्ध समाज निर्माणको महाअभियानमा सरिक बनाउनुपर्ने बताए ।

शाखा कमिटी १ को दोस्रो अधिवेशनको उद्घाटन गर्दै पार्टीका प्रदेश कमिटी सदस्य तथा नगरका सहइन्चार्ज चौधरीले पार्टीका नेता कार्यकर्तालाई समाज रुपान्तरणको अगुवाका रुपमा अनुशासित भएर केन्द्रित हुन निर्देशन दिए ।
टोल विकास हुँदै वडा र नगरका हरेक तप्कामा पार्टीका कार्यकर्ताहरुको प्रभावकारी उपस्थिति हुनुपर्ने, मर्यादित र अनुशासित भएर प्रस्तुत हुन जरुरी रहेको नेता चौधरीको भनाइ थियो ।

एमाले सैनामैनाको २ नं वडाको शाखाको दोस्रो अधिवेशनको उद्घाटन एमाले जिल्ला कमिटी रुपन्देहीका सचिव चित्रबहादुर कार्कीले शाखा कमिटीका अधिवेशन सम्पन्न भएसंगै पालिकाका अधिवेशनको समेत तयारी गर्न निर्देशन दिए ।
सैनामैनाका पूर्व नगरप्रमुख समेत रहेका नेता कार्कीले पार्टीको नेतृत्व र अगुवाईमा भएगरेका विभिन्न तहका विकास निर्माणका काममा अपनत्व लिंदै त्यसको प्रचार प्रसार गर्न, विकासे कामको जनस्तरबाट निगरानी गर्न र अत्यावश्यक योजनाहरुको छनौटमा समेत केन्द्रित भएर जुट्न पार्टीका कार्यकर्ताहरुलाई आग्रह गरे ।

पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य तथा पूर्वइन्चार्ज मिनप्रसाद पौडेलले पार्टीका शाखा अधिवेशनमार्फत कमिटीलाई थप चलायमान बनाउनुपर्नेमा जोड दिए । उनले हरेक ठाउँका विद्यमान समस्याहरुको समाधानका लागि उपायहरुको समेत खोजी गर्दै सहायक दस्ताका रुपमा जनशक्ति निर्माण गर्नेगरी पार्टीको अभियान केन्द्रित रहेको बताए ।

नेकपा एमाले सैनामैना नगर कमिटीका अध्यक्ष चेतनारायण न्यौपानेले सैनामैनामा रहेका ११ वटै शाखामा तीन दिने अभियानकै रुपमा अधिवेशनहरु अगाडि बढाइएको बताए । पार्टीका माथिल्ला कमिटीहरुबाट सबै तहका नेता कार्यकर्ताहरुलाई थप जागरुक, सक्रिय बनाउने गरी निर्देशन आएबमोजिम पार्टी कमिटीलाई परिचालन गरिएको जानकारी दिए ।

शाखा अध्यक्षहरु ४ का पिताम्बर न्यौपाने, १ का सूर्यविक्रम राना र २ का थानेश्व गिरीको अध्यक्षतामा शाखा कमिटीका दोस्रो अधिवेशन सम्पन्न भएका छन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेगरी कार्यतालिका बनाएर परिचालन गरिएको पार्टीका नगर इन्चार्ज तथा प्रदेश कमिटी सदस्य नरबहादुर थापाले जानकारी दिए ।