इन्सेकद्वारा समस्या पहिचान तथा कार्ययोजना निर्माण सम्पन्न

मेचीकाली संवाददाता

१३ भाद्र २०७८, आईतवार
370 shares

सुनिल आचार्य
कपिलवस्तु । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने पहल कार्यक्रमअन्तर्गत बुद्धभूमि नपाको वडा नं. ९ चौवन्नमा आइतबार समस्या पहिचान तथा कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ ।
मानवअधिकार समूहका सदस्य तथा अन्य सरोकारवाला निकायको बैठकले शिक्षा, स्वास्थ्य, खाद्य र आवाशको अधिकारसम्बन्धी समस्या पहिचान, सरोकारवाला निकायको पहिचान गर्नुको साथै वार्षिक कार्ययोजनासमेत निर्माण गरेको छ ।

बैठकले कोभिड–१९ का कारण शिक्षा स्वास्थ्य, खाद्य र अवासको अधिकारका सवालमा पारेको असरहरुको छलफल गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ । कोभिड–१९ ले बालबालिकाको शिक्षामा पारेको असरका विषयमा अन्तक्र्रिया गर्ने, निशुल्क र अनिवार्य आधारभूत शिक्षाका विषयमा निशुल्क भनिएपनि शुल्क लिने गरेको हुँदा कुन विद्यालयले कति शुल्क लिएको छ स्थलगत अनुगमन गरी सम्बन्धित निकायसंग छलफल गर्ने निर्णय भएको छ ।

कोभिडका कारण दीर्घरोगी तथा अन्य रोगीहरुको उपचारमा समस्या देखिएकोले उनीहरूको उपचारका लागि पहल गर्ने तथा बुद्धभूमि नपा–९ इमिलियामा जनता आवास कार्यक्रको अनुगमन गरी दलित र पछाडि पारिएका समुदायलाई आवास सेवा उपलब्ध गराउनका लागि सम्बन्धित वडा र नगरपालिकासंग पहल गर्ने निर्णय गरिएको छ ।

यसैगरी खाद्य वस्तुमा हुने मिसावट, गुणस्तरीयताका विषयमा अनुगमन गर्न नगरपालिकालाई आग्रह गर्ने, कृषकहरूलाई रासायनिक मलबिउ समयमा उपलब्ध गराउन, माटो परीक्षणका लागि पहल गर्ने, कुमाल टोललाई आवासको अधिकारअन्तर्गत नगरपालिकाले खरका छाना हटाउने योजना पूरा नभएको हुँदा कार्यान्वयनका लागि नगरपालिकासँग आग्रह गर्ने निर्णय भएको छ ।

यस्तै नगरपालिकाअन्तर्गत श्रम गरेर खाने मजदुरहरुको पारिश्रम पत्तालगाई मजदुरहरुको पारिश्रमिकका लागि पहल गर्ने र कोभिडको तेस्रो चरणको अवस्थालाई मध्येनजर गर्दै नगरपालिकालाई ध्यानकर्षण गराउनेलगायतका कार्य योजना निमार्ण गरिएको मानवअधिकार समूहका अध्यक्ष कृष्णप्रसाद खनालले बताए । समूहका अध्यक्ष कृष्णप्रसाद खनालको अध्यक्षता, समूहका सचिव रुपक खनालको सञ्चालनमा सम्पन्न बैठकमा इन्सेक सहजकर्ता पार्वती आचार्यले समग्र कार्यक्रमका बारेमा जानकारी दिएकी थिइन् ।