बुटवल–गोरुसिङ्गे सडकखण्ड: खोजिएन हुर्केका रुख सार्ने उपाय

सडक छेउका ७७ सय रुख काट्दा, अन्यत्रै ७७ हजार नयाँ रोपिने

मेचीकाली संवाददाता

२७ भाद्र २०८१, बिहीबार
2881 shares

अमृत गिरी

बुटवल । सहरी सडक क्षेत्रमा हुर्केका महत्वपूर्ण रुख अन्यत्र सार्ने उपाय खोज्न मेचीकालीले समाचारमार्फत गरेको आग्रहलाई वन तथा भूसंरक्षण विभागले ‘सकारात्मक नोटिस’का रुपमा लिएको बताएको छ । यद्यपि अहिले योजना कार्यान्वयनमा गइसकेकाले सम्भव नभएको प्रष्ट पारेको छ ।

विभागमा यस्ता रुख सार्ने एउटा पनि उपकरण छैनन् । आवश्यक उपकरण पनि नभएको र आयोजनासमेत कार्यान्वयनमा गइसकेकाले अहिलेलाई रुख सार्ने काम सम्भव नभएको विभागले जनाएको छ । बुटवल–बेलहिया सडक विस्तारका क्रममा कैयन् महत्वपूर्ण रुख मासिएपछि अब विस्तार हुने बुटवल–गोरुसिङ्गे सडक खण्डमा पर्ने कल्पवृक्षलाई बचाएर अन्यत्र सार्ने उपाय खोज्न सुझाइएको थियो । ‘योजना बनाउने बेलामै ध्यान दिनुपर्ने विषयमा अब कार्यान्वयन गइसकेपछि कसरी सम्भव होला र ?’ विभागको प्रतिक्रिया छ ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गको प्रमुख खण्डअन्तर्गतको बुटवल–गोरुसिङ्गे सडक खण्ड विस्तार हुने प्रक्रियामा छ र यो खण्ड विस्तारका क्रममा हजारौं रुख काट्नुपर्ने छ । तीमध्ये कैयन् रुख कल्पवृक्षसमेत छन् । वन विभागले सडक क्षेत्राधिकारमा पर्ने ती रुख काट्न स्वीकृति दिइसकेको छ ।

वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक दिपक ज्ञवालीले उक्त आयोजनाको फाइल स्वीकृति भई कटानको अनुमतिको पत्र पठाइसकिएको जानकारी दिए । उनले रुख सार्नेबारे केही उपाय अपनाउन भन्ने मेचीकालीको प्रश्नमा भने,‘यो सकारात्मक कुरा हो र त्यसैअनुरुप नोटिस गरेका पनि छौं तर, अब योजना तय गर्दा नै यसबारेमा ख्याल गरेर प्रक्रिया अगाडि बढाउनुपर्छ, अहिले भने योजना कार्यान्वयनमा गइसकेकाले सम्भव भएन ।’ वातावरणीय क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विकासे आयोजनालाई प्रभावित नगर्नेगरी अनुमतिका प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ ।

यो खण्डमा पर्ने रुख काटेपछि एउटा रुखको सट्टा १० वटाका दरले नयाँ वृक्षारोपण गरेर हुर्काउने बेलासम्मको सबै खर्च प्रबन्ध गर्न पनि विभागले सडक विस्तार आयोजनालाई निर्देशन दिएको छ । यो वन नियमावलीमै भएको प्रावधान हो । कुन क्षेत्रमा कति रुख रोप्ने भन्ने यकिन भने भइसकेको छैन ।
सडक विस्तारका लागि सबै प्रक्रिया पूरा भएर ठेक्का सम्झौता भई निर्माण कम्पनीसमेत छनौट भइसकेको र आवश्यक प्रक्रियासमेत अगाडि बढिसकेको छ । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले उक्त सडक विस्तारको ठेक्का पाएका छन् ।

बुटवलदेखि पश्चिम कपिलवस्तुको गोरुसिङ्गेसम्मको ५० किलोमिटर सडकखण्डलाई दुई प्याकेजमा विभाजन गरेर निर्माण गर्ने गरी १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपियाँमा गत असार १३ गते ठेक्का सम्झौता भएको थियो । अहिले ‘साइट क्लियर’ को प्रक्रिया चलिरहेको आयोजनाले जनाएको छ । निर्माण कम्पनीले फिल्डको थप अध्ययन भइरहेको बताएको छ र अबको दसैंतिहारलगत्तै तीव्र रुपमा काम अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ ।

दसैंतिहार लगत्तै तीव्र गतिमा काम हुन्छ: आयोजना प्रमुख ई.न्यौपाने
बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलका आयोजनाका प्रमुख इन्जिनियर कुशलता न्यौपानेले आवश्यक सबै प्रक्रिया पूरा भइसकेकाले अब दसैंतिहारलगत्तै फटाफट काम गर्नेगरी निर्माण कम्पनी तम्तयारीमा रहेको बताइन् । यो खण्डमा वन क्षेत्र धेरै पर्ने भएकाले रुख कटान, सट्टामा नयाँ रोपणसम्मका कामको प्रक्रिया लामो भएको हो । संगसंगै विद्युत्का पोलसमेत सार्नुपर्ने भएकाले सम्बन्धित निकायमा समन्वयन गरेर सहजीकरण गरिसकिएको इन्जिनियर न्यौपानेको भनाइ छ ।
वन विभागबाट सबै प्रक्रिया पूरा गरेर स्वीकृति आएपछि थप काम अगाडि बढ्ने बताउँदै आयोजना प्रमुख न्यौपानेले सडक क्षेत्राधिकारमा पर्ने रुखहरु काट्ने र सट्टामा अन्यत्र नयाँ रोप्नेसम्बन्धी वनसँग सम्बन्धित सबै काम वन तथा भूसंरक्षण विभागबाटै हुने प्रष्टाइन् । पहिलो चरणको काम तीन वर्षमा सकिएपछि अर्को दोस्रो चरणको काम अगाडि बढाइनेछ ।

सात हजार सात सय रुख काटिने, सट्टामा ७७ हजार रोपिने
बुटवल–गोरुसिङ्गे सडक खण्डको विस्तारका क्रममा सात हजार सात सयभन्दा धेरै साना ठूला रुख काट्नुपर्ने छ । वन नियमावलीअनुसार एउटा रुख काट्ने हो भने त्यसको सट्टामा अरु १० वटाका दरले ७० हजारभन्दा धेरै नयाँ बिरुवा खाली जमिन खोजेर रोपेर हुर्काउनुपर्ने हुन्छ । यसका लागि लाग्ने सबै खर्च सम्बन्धित आयोजनाले वन विभागसँग समन्वय गरेर बेहोर्नुपर्ने छ । यसका लागि करिब ४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

आयोजना कार्यान्वयन हुने क्षेत्र पर्ने तौलिहवा वन डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख अजित कर्णले वन विभागसँग समन्वय भइरहेको र सडक विस्तार आयोजनालाई आवश्यक निर्देशनसहितको सहजीकरण पनि भइरहेको बताए ।

‘भेलुएबल’ रुख बचाउने उपाय खोज्नुपर्छ
सहरी सडक क्षेत्रमा हुर्केका रुख बचाउने उपाय खोज्ने विषयमा वन तथा भूसंरक्षण विभागमा छलफल भएपनि अहिलेसम्म त्यस्तो प्रावधानको कार्यान्वयन भने भएको छैन । ‘भेलुएबल (वर, पिपल, समी, आँप, सिमल, कदमलगायतका कल्पवृक्ष) रुख बचाउनुपर्ने हो तर अहिले त आयोजना नै कार्यान्वयनमा गइसकेकाले सम्भव भएन,’ वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक ज्ञवालीको भनाइ छ ।

विदेशका कैयन् मुलुकमा भेलुएबल रुखलाई महत्व दिने गरेपनि हामीकहाँ व्यवस्ता गरिने गरेको उनको स्वीकारोक्ति छ । ‘हामीकहाँ रुखलाई महत्व दिने, महत्वपूर्ण रुखमा लगानी गर्ने चलन नै बसेन जुन दुखद कुरा हो र अबका दिनमा पनि यस्तै गरिरहनु राम्रो हुँदैन उपाय खोज्नैपर्छ,’ उपमहानिर्देशक ज्ञवालीको भनाइ छ ।

५० किलोमिटरको खण्डमा ३० पुल, १४९ कल्भर्ट
पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुने छन् भने १४९ वटा कलभर्ट र छ वटा ‘अन्डर पास, ओभर पास’ निर्माण हुने छन् । बुटवल–गोरुसिङ्गे सडक आयोजनाका अनुसार सडक विस्तारको काम सहरी क्षेत्रमा ५० मिटर, सहरोन्मुख क्षेत्रमा साढे ३७ मिटर र जङ्गल क्षेत्रमा २४ मिटर चौडाइ कायम हुने छ । पूर्व–पश्चिम राजमार्गलाई विस्तार गर्ने योजना अर्थमन्त्री तथा एमाले उपाध्यक्ष एवम् रुपन्देहीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेल यसअघि अर्थमन्त्री भएका बेलामै अगाडि बढेको थियो । अहिलेको यो योजना पनि नेता पौडेलकै जोडबलमा कार्यान्वयन जान लागेको हो ।

त्यसपछि बुटवलको अहिलेको तिनाउ पुललाई विस्थापन गरी नयाँ आधुनिक सिग्नेचर पुल बनाइने छ । जुन नेता पौडेलले धेरै पहिलेदेखि नै संकल्प गरेकामध्येको एउटा अर्को ड्रिम प्रोजेक्ट हो । पूर्वाधारका महत्वपूर्ण क्षेत्रका रुपमा रहेका सडक र पूलका क्षेत्रमा आधुनिक युग ल्याउनुपर्ने उनको जोड हो । तत्कालीन राजा महेन्द्रको पालामा बनेको सडक ६२ वर्षपछि स्तरोन्नति हुन लागेको हो । यो चरणपछि दोस्रो चरणमा चन्द्रौटा र पछि कोहलपुर र त्यहाँभन्दा पनि पश्चिमसम्मै चरणबद्ध रुपमा राजमार्ग विस्तार गर्ने लक्ष्य छ ।

यो पनि पढ्नुहोस्

हुर्केका रुख काट्नुभन्दा अन्यत्र सार्न पाए…