ॐ नमः शिवाय सहकारीको आठौँ वार्षिक साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

२९ भाद्र २०८१, शनिबार
241 shares

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका–४ रुद्रपुरस्थित ॐ नमः शिवाय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौँ वार्षिक साधारणसभा शनिबार बुटवलमा सम्पन्न भएको छ ।

साधारणसभाको नेपाली कांग्रेसका नेता युवराज गिरीले उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले देशको अर्थतन्त्र चलायमान बनाउन सहकारी संस्थाको योगदान महत्वपूर्ण रहेको बताए । पछिल्लो समय केही सहकारी संस्थाले बदमासी गर्दा सहकारी संस्थाप्रति सर्वसाधारणको विश्वास घटिरहेको अवस्थामा उत्कृट काम गरी बचतकर्ताको विश्वास जित्नुपर्ने धारणा राखे । दशनामी बन्धुहरु एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले देशमा बढ्दै गइरहेको आर्थिक संकटलाई कम गरी अर्थतन्त्रलाई सकारात्मक दिशामा हिँडाउन सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिसँग जोडिनुपर्ने बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष भरथ गिरीले वार्षिक कार्यक्रमसहित प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाहरुबारे जानकारी गराए । दशनामी बन्धुहरुलाई एकताबद्ध गर्न विसं २०७३ सालमा संस्था स्थापना भएको स्मरण गर्दै उनले संस्थालाई थप सुदृढ र व्यवस्थित बनाउनको लागि सबै शेयर सदस्यहरूको हातेमालो आवश्यक रहने बताए । संस्थाकी कोषाध्यक्ष दिपा गिरीले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन तथा लेखा समिति संयोजक विश्वराज गिरीले प्रस्तुत गरेको लेखा समिति प्रतिवेदन साधारणसभाले सर्वसम्मत रुपमा पारित गरेको छ ।

कार्यक्रममा संस्थाका सल्लाहकार रोमलाल पुरी, तिलोत्तमा नगरपालिका–३ का वडा सचिव गोकुल गिरी, कृषि विकास बैंक भैरहवा शाखा प्रमुख सीमा बन, सिदेश्वर माविका प्रअ दिनानाथ गिरी लगायतले सहकारीको सफलताको शुभकामना व्यक्त गर्दै सदस्यलाई उत्पादनशील र व्यावसायिक बनाउन संस्थाले सहयोग गर्नुपर्नेमा जोड दिए ।

यस्तै, कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार नेत्रलाल पुरी, एनएमबी बैंक बर्दघाट शाखा प्रमुख रामकुमार भारती, तिलोत्तमा नगरपालिका–१ का वडाध्यक्ष फर्शुराम गिरी, नियमित रक्तदाता संघका उपाध्यक्ष मेहेश खनाल, शान्तराम गिरी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सहकारीका उत्कृष्ठ बचतकर्ता, असल ऋणी, एसईई र कक्षा–१२ मा उत्कृष्ट जीपिए ल्याउन सफल शेयर सदस्यका सन्तती लगायतलाई सम्मान गरिएको थियो । हाल सहकारीमा ४९४ जना शेयर सदस्य रहेका छन् । भने कुल पूँजी ३ करोड ४९ लाख ८ हजार १४४ रुपैयाँ रहेको छ । सहकारीले ३ करोड २ लाख ९७ हजार ३३५ रुपैयाँ ऋण लगानी गरेको छ । संस्थाका उपाध्यक्ष मिनुता गिरीको स्वागत, सचिव सुरेश गिरीको सहजिकरण तथा विष्णु पुरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।