हुलाकी सडकको दुर्दशा

मेचीकाली संवाददाता

३० भाद्र २०८१, आईतवार
34 shares

हरि शर्मा

परासी । नवलपरासीमा रहेको हुलाकी सडक विस्तारको काम ५ वर्ष बितिसक्दा पनि पूरा हुन नसक्दा स्थानीयले सास्ती खेप्नुपरेको छ । सरकारी बेवास्ताका कारण निर्माण कम्पनीले ढिलासुस्ती गर्दा समयमा काम सम्पन्न गर्न चासो नदिइएको स्थानीयको गुनासो छ । खनेर छाडिएको सडकका कारण दर्जनौँ स्थानमा खाल्टा–खुल्टी परेका छन् । ती खाल्टा–खुल्टीलाई समेत पुर्नेतर्फ वास्ता नगर्दा सवारी आवतजावतमा समस्या मात्र होइन दुर्घटनाको जोखिमसमेत बढाएको छ ।

खनेर छाडेको सडकका कारण वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर हिँड्नु पर्दा स्थानीयहरु आजित भएका छन् । निर्माण कम्पनीले काममा ढिलाई गरेपछि स्थानीयहरूले पटक–पटक चक्का जामसमेत गरेर विरोध गर्दै आएका छन् । तर, सरकार र निर्माण कम्पनीले कुनै सुनुवाई नगरेपछि गाउँपालिकाका जनप्रतिनिधिसहित स्थानीयहरुले संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएका थिए । सडक विस्तार कार्य तत्काल सुरु गर्न भन्दै गत भदौ ५ गते प्रधानमन्त्री र सम्बन्धित आयोजना कार्यालयलाई ध्यानाकर्षणसमेत गराएका थिए ।

जिल्लाका तीन छुट्टाछुट्टै खण्डमा सडक विस्तारको काम भइरहेको छ । २०७६ कात्तिकबाट सडक विस्तारको काम सुरु भएको हो । तीन खण्डमा करिब ३७ किलोकिटर सडक विस्तारको काम भइरहेको छ । सबै खण्डको कुल लागत १ अर्ब ७ करोडको हो । परासी–नारायण चोक सडक, नारायणचोक–गोपिगञ्ज हुँदै बेलाटारीदेखि रानीनगर सडक र बेलाटारीदेखि कठहवासम्म सडक विस्तार भइरहेको छ । जसमध्ये परासी–नारायणचोकसम्मको सडक विस्तारको काम अन्तिम चरणमा भएपनि कलभर्ट नबन्दा सो सडक पनि सञ्चालनमा कठिनाई भएको छ । अन्य दुई सडक खण्डको काम सुस्त गतिमा रहेको छ । सबै सडक खण्डको काम तीन वर्षभित्र (२०७९ मंसिर) सक्नु पर्ने सम्झौता भएपनि पटकपटक म्याद थप्दासमेत निर्माण कम्पनीले काम पूरा गर्न वास्ता नगर्दा स्थानीयले सास्ती पाएका हुन् । तीन वटा सडकखण्ड विस्तार र पुल निर्माणको छुट्टाछुट्टै निर्माण कम्पनीले जिम्मेवारी लिएका छन् । सडक विस्तारलाई छिटो सक्नका लागि निर्माण कम्पनीलाई पटक पटक ताकेता गरिएको हुलाकी राजमार्ग योजना कार्यालय गोरुसिङ्गे कपिवस्तुका इन्जिनियर युवराज पाण्डेले बताएका छन् ।

कुन सडकको कति काम ?

परासी–नारायण चोक खण्ड
सदरमुकाम परासीदेखि नारायण चोकसम्मको १२ दशमलव ६ किलोमिटर सडक विस्तारको काम अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग योजना कार्यालयले गोरुसिङ्गे कपिलवस्तुले जनाएको छ । यद्यपि कलभर्टको काममा ढिलासुस्ती हुँदा सवारी सञ्चालनमा कठिनाई भएको छ । यो पुलबाहेक यो सडकको लागत २२ करोडको हो । यो सडकका चार ठाउँमा ठूला कर्भटका काम भइरहेका छन् । तर, निर्माण कम्पनीको ढिलासुस्तीका कारण काम पूरा हुन नसक्दा उक्त सडक भएर चल्ने सवारी साधनहरु घुमेर आवतजावत गर्नुपर्ने समस्या छ । कलभर्टको कामलाई अधुरै छाड्दा दुर्घटना भएर केही समयअघि एक जनाको मृत्युसमेत भएको थियो । उक्त सडकअन्तर्गत पुलबाहेकको काम अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग योजना कार्यालयका इन्जिनियर युवराज पाण्डेले बताएका छन् । पिच बनेको दुई वर्ष नहुँदै उक्किन थालेको छ । ‘यो सडकमा अब पिचको बाहिरीतर्फ ग्राभेल र बिग्रिएका ठाउँमा मर्मतबाहेक सबै सकिएको छ । चार ठाउँको पुल निर्माणको कामलाई वर्षाका कारण केही समस्या पारेको हो । त्यसलाई पनि सुचारु गर्छौँ ।’ इन्जिनियर पाण्डेले भने । यी पुलको काम मंसिरसम्म सक्ने गरि निर्माण कम्पनीलाई ताकेता गरिएको उनको भनाइ छ । ‘खनेको बेसलाई पानीले बगाउँदा समस्या भयो । डाइभर्सन गरेर लैजाँदा धेरै खर्च लाग्ने भएकाले वर्षापछि सुरु गर्ने योजनामा छौं ।’ पाण्डेको भनाइ छ । यो सडक विस्तारको सम्झौता अवधि सकिएको र केही रकम भुक्तानी दिन बाँकी रहेको पाण्डेले बताए ।

नारायण चोक–त्रिवेणी खण्ड
गोपिगञ्जको नारायण चोकदेखि त्रिवेणीसम्मको सडकको लम्बाइ १ दशमलव १ किलोमिटरको छ । ५८ करोडको लागतमा विस्तार भइरहेको सडकको काम सुस्त गतिमा छ । तीन खण्डको सडक विस्तारअन्तर्गत सबैभन्दा बढी यही सडकको अवस्था कन्तबिजोग छ । सडकको काम सुस्त भएपछि गाउँपालिका र स्थानीयहरु अहिले आन्दोलनमा छन् । अहिलेसम्म ३५ प्रतिशत काम सकिएको आयोजना कार्यालयले जनाएको छ । ‘स्ट्रक्चरको काम सकिएको छ । कल्भर्ट बनाउन बाँकी छ । ११ किलोमिटर सडकमा ग्राभेल भइसकेको छ । अब बेस हालेर पिच गर्न बाँकी छ । त्यो काम पनि सुरु गर्छौं ।’ इन्जिनियर पाण्डेले भने । निर्माण कम्पनीले चैतसम्म फेरि सडक विस्तारको म्याद थपेको छ । असारसम्म काम सक्ने भनेपनि वर्षातका कारण समस्या भएको इन्जिनियर पाण्डेले बताए । ‘पहिला पहिला बोलाउँदा निर्माण कम्पनीले कर्मचारीलाई पठाउने गरेको थियो । पालिकाको आन्दोलनपछि अहिले निर्माण कम्पनीकै प्रमुखलाई बोलाएका थियौं । कम्पनीका प्रमुख आएर काम गर्ने प्रतिबद्धता जनाएका छन् । काम नभएर कारबाही गर्छौ भनेपछि एक दुई दिनमा काम सुरु गरेर एक हप्ताभित्र देखिने गरि प्रगति दिन्छौं भनेका छन् । एक पटक हेरौं ।’ इन्जिनियर पाण्डेले भने । उक्त समयमा काम सुरु नगरे कारबाही प्रकृया अघि बढाउने पाण्डेले बताए ।

बेलाटारी–कठहवा खण्ड
प्रतापपुर गाउँपालिकाको बेलाटारीदेखि कठहवासम्मको सडक लम्बाइ ९ दशमलव १ किलोमिटर हो । यो सडक विस्तार गर्न २७ करोडमा सम्झौता गरिएको हो । अहिलेसम्म जम्मा ४५ प्रतिशत काम भएको आयोजना कार्यालयले जनाएको छ । उक्त सडकमा नालीको काम बाँकी छ । १ किलोमिटरमा सडक सतह र माटो पुर्ने काम भइरहेको आयोजना कार्यालयका इन्जिनियर पाण्डेले जानकारी दिए । सडक विस्तारका लागि फेरि पुससम्मको म्याद थपिएको छ । म्यादभित्र काम सक्नका लागि निर्माण कम्पनीलाई ताकेता गरिरहेको आयोजना कार्यालयले जनाएको छ ।

चारबुँदे सहमतिपछि अध्यक्ष यादवले तोडे अनशन
प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले अनशन तोडेका छन् । हुलाकी राजमार्गको निर्माण समयमै सम्पन्न गर्ने विषयमा सहमति जुटेपछि उनले अनशन तोडेका हुन् । अध्यक्ष यादवले शुक्रबार दिउँसोदेखि अनशन सुरु गरेका थिए । चारबुँदे सहमतिपत्रमा अध्यक्ष यादव र हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका प्रमुख हेमबहादुर एसीले हस्ताक्षर गरेका छन् । उक्त सहमतिपछि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले जुस खुवाएर अध्यक्ष यादवको अनशन तोडाएका थिए ।

सहमतिअनुसार आगामी असोज २ गतेदेखि तीव्रगतिमा निर्माण सुरु गरी दसैँ अगाडि गोपिगञ्जदेखि बेलाटारी क्षेत्रमा पर्ने तीन किलोमिटर बेस निर्माण गर्ने र दसैँ लगत्तै उक्त क्षेत्रमा कालोपत्र सुरु गर्ने उल्लेख छ । साथै निर्माण व्यवसायीलाई तत्काल कार्यतालिका पेस गर्न लगाइ थप गरिएको समय २०८१ साल चैतसम्म बेलाटारीसम्मको सडकखण्डलाई विशेष प्राथमिकता राखी निर्माण सम्पन्न गर्ने सहमतिमा उल्लेख छ । सहमतिअनुसार काम नभए प्रमुख जिल्ला अधिकारीले निर्माण व्यवसायी ब्रजगुरु महालक्ष्मी जेभी कम्पनीलाई कारबाही गर्ने र ठेक्का रद्दको प्रक्रिया अगाडि बढाइनेछ ।

त्यसैगरी सहमतिपत्रमा हुलाकी आयोजनाअन्तर्गत पर्ने बेलाटारी–कठहवासम्मको सडक निर्माणलाई तीव्रताका साथ समयावधिभित्र सम्पन्न गर्ने उल्लेख छ । प्रदेश सरकार मातहतमा रहेका अलपत्र सडक आयोजनाहरु समयमै सम्पन्न गर्नका लागि सबै राजनीतिक दलका प्रमुखहरुले पहल गर्नेसमेत प्रतिबद्धता जनाइएको छ ।

संघीय सरकारकै लगानीमा स्तरोन्नतिको भइरहेको सडकको काम वर्षौँ बित्दासमेत पूरा नभएपछि गाउँपालिकाले आन्दोलन सुरु गर्नुपरेको अध्यक्ष यादवले बताए । सरकारले सडक विस्तार गर्न नसकी गाउँपालिकालाई जिम्मेवारी दिए चार महिनाभित्र पूरा गरेर देखाउने गाउँपालका अध्यक्ष यादवले दाबी गरेका छन् । त्यसबाहेक कठहवादेखि बेलाटारी सडक खण्ड र प्रदेश सरकारअन्तर्गतको महेशपुर–त्रिवेणी खण्डको बर्दघाटेदेखि सूर्यपुरा तथा भूजहवा–खैरेनी खण्डको सोमनी–सोनवर्षा हुँदै खैरेनी सडक खण्ड पनि अलपत्र पारिएको भन्दै तत्काल काम सुरु गर्न माग गरिएको छ ।