इमानका साथ काम गर्न प्रदेश प्रमुख घर्तीको आग्रह

मेचीकाली संवाददाता

६ आश्विन २०८१, आईतवार
20 shares

बुटवल। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्ण घर्तीले इमानका साथमा काम गर्नुपर्ने बताएका छन् । आफूले जनताको सेवकका रुपमा काम गर्न कुनै कसर बाँकी नराख्ने उनले बताए । नेपाल मगर संघ केन्द्रीय समितिको आयोजनामा आइतबार बुटवलमा आयोजित सम्मान कार्यक्रममा प्रदेश प्रमुख घर्तीले सो कुरा बताएका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा आफू लुम्बिनी प्रदेशका जनताको सुखदुःखमा आफू सँगै रहेको र हरेक सुखदुःख बाड्नका लागि तयार रहेको उनको भनाइ छ । मानिस कुनै पद ग्रहण गर्नेबित्तिकै आफू राजाको शैलीमा सामान्य भेटघाटसमेत नदिने परम्परा भएकाले प्रदेश प्रमुखलाई भेट गर्नका लागि सर्वसाधारणका लागिसमेत खुला भएको बताए । मगर समुदाय समानातको लडाइँमा रहेको हुँदा संघीयतामा सबैकोसाझा पहिचान आवश्यक रहेको र मगर समुदाय इमानका साथमा काम गर्ने देशभक्त भएकाले नेतृतवमा मगर समुदायको खाँचो रहेको बताए ।

कार्यक्रममा नेपाल मगर सघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगरले बधाई तथा शुभकमना दिँदै प्रदेश प्रमुखमार्फत लुम्बिीनी प्रदेश सरकारले मगरहरुको पहिचान स्थापित गर्न आग्रह गरे । लुम्बिनी प्रदेशमा मगरहरुको पहिचानबिना लुम्बिनी प्रदेश अपुरो हुने र सरकारी कामकाजको भाषामा मगर भाषालाई प्राथमिकता दिन आग्रह गरे ।

कार्यक्रममा मगर संघका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । यस्तै आइतबार नै केन्द्रीय पदाधिकारीको बैठक बुटवलमा विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । देशब्यापी छलफल कार्यक्रको अभियानमा नेपाल मगर संघ केन्द्रीय समितिले बागमती प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेशसहित गण्डकी प्रदेशमा समेत विभिन्न विषयमा सरोकारवालासँगको छलफललाई तिब्रता दिएको छ ।