शान्तिप्रिय बहुउद्देश्यीय सहकारीको चौथो साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

९ आश्विन २०८१, बुधबार
111 shares

बुटवल । बुटवल–१३ बेलबासस्थित शान्तिप्रिय बहुउद्देश्यीय सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष यमप्रसाद गैरेको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका वडा नम्बर १३ का वडा सदस्य धुव्र थापा (झविन्द्र) को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सोही अवसरमा बोल्दै वडा सदस्य थापाले देशको अर्थतन्त्र चलायमान बनाउन सहकारी संस्थाको योगदान महत्वपूर्ण रहेको बताए । पछिल्लो समय केही सहकारी संस्थाले बदमासी गर्दा सहकारी संस्थाप्रति सर्वसाधारणको विश्वास घटिरहेको अवस्थामा उत्कृट काम गरी बचतकर्ताको विश्वास जित्नुपर्ने धारणा राखे । क्षणिक ब्याज र आर्थिक लोभमा परेर संस्थाबारे बुझ्दै नबुझी पैसा जम्मा गर्दा धरै बचतकर्ताले लाखौँ रकम गुमाउनुपरेको बताउँदै बचतकर्ता सचेत हुनुपर्नेमा उनले जोड दिए । सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिसँग जोडिनुपर्ने वडा सदस्य थापाले बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष यमप्रसाद गैरेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै वर्षभरि गरेका कार्यक्रम तथा आगामी योजनाहरुबारे जानकारी गराए । संस्थालाई थप सुदृढ र व्यवस्थित बनाउनको लागि सबै शेयर सदस्यहरूको हातेमालो आवश्यक रहने भन्दै सबैलाई एकजुट हुन आग्रह गरे । लेखा सुपरिवेक्षण समिति संयोजक किरण बेल्बासेले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरे ।

कार्यक्रममा लालटिन बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष गोपाल गैरे, लुम्बिनी वाणिज्य क्याम्पसका सहप्राचार्य पुनाराम घिमिरे, भूमिकास्थान–रुपन्देही सम्पर्क समाजका अध्यक्ष लक्ष्मण बेल्बासेलगायतले बोल्दै सहकारीले पूँजी संकलन मात्र नगरी छरिएर रहेको पूँजीलाई एकत्रित गर्दै सदस्यहरुलाई उत्पादनशील र व्यावसायिक बनाउन सहयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहकारीका ज्येष्ठ नागरिक शेयर सदस्य, असल ऋणी, एक वर्षमा संस्थामा धेरै शेयर सदस्य थप गर्ने सदस्यहरु, निर्वतमान व्यवस्थापकलगायतलाई सम्मान गरिएको थियो । ७७ लाख १२ हजार रुपैयाँ शेयर पूँजी रहेको सहकारीमा हाल ३११ जना शेयर सदस्य रहेका छन् । सहकारीले १ करोड २६ लाख रुपैयाँ ऋण लगानी गरेको छ । संस्थाका उपाध्यक्ष निर्मला बेल्बासेको स्वागत तथा सचिव गोपालप्रसाद बञ्जाडेको सञ्चालनमा कार्यक्रम भएको थियो ।