झ्याप्ले खोलामा अस्ताएका सपनाहरू

मेचीकाली संवाददाता

१३ आश्विन २०८१, आईतवार
5868 shares

पहिरोमा पुररिएर ज्यान गुमाएका बायाँबाट क्रमशः दीपेश, दीपिका र सीता भट्टराई/सिर्जना, अनु र प्रकाश कुँवर/जुद्धबादुर, क्रिस र प्रमिता रायमाझी ।

प्रकाश आचार्य/रमेश पराजुली

बुटवल । देशकै धेरै विद्यार्थी अध्ययनरत बुटवलस्थित कालिका मानवज्ञान माविका ‘टपर’मध्ये थिए, दीपेश र दीपिका भट्टराई । नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा हुने नेसनल एस्ट्रोनोमी ओलम्पियार– २०२४ मा भाग लिन आमा सीतासँगै उनीहरू शुक्रबार बुटवलको राजमार्ग चौराहाबाट काठमाडौंका लागि माइक्रो बस (विङ्गर) चढे । चौराहा काउन्टरका लक्ष्मण कार्कीले टिकट काटिदिएपछि लु १ ज ४५७८ नम्बरको माइक्रो बसमा काठमाडौंको यात्रा तय भयो । हरेक गतिविधिमा ‘एक्टिभ’ दीपेश र दीपिका जुम्ल्याहा दाजुबहिनी हुन् ।

आफैंले अनलाइन फारम भरेर दाजुबहिनी नै अन्तर्राष्ट्रिय स्तरको ‘कन्फ्रेन्स’ मा छनोट भएका थिए । कक्षा १० मा अध्ययनरत उनीहरू आउँदो एसईई परीक्षाको तयारीसँगै एस्ट्रोनोमिकल सोसाइटीको पहिलो चरणमा छनोट भएर दोस्रो चरणका लागि बंगलादेश जाने सपना बोकेर काठमाडौं जाँदै थिए ।

बंगलादेशमा आयोजना हुने उक्त ‘कन्फ्रेन्स’ मा ३२ देशका विद्यार्थी सहभागी हुने बताइएको छ । ओलम्पियारमा सहभागी हुने उनीहरूको सोचलाई विद्यालयले पनि साथ र समर्थन दियो । वर्षाका कारण देशभर क्षति पुग्ने खतराबारे समाचार सुन्दै काठमाडौंको यात्रा तय गरेका उनीहरू चढेको गाडी शनिबार बिहान काठमाडौँ र धादिङको सीमाना झ्याप्ले खोलामा लेदोसहित आएको पहिरोमा पुरियो । १५ वर्षका दीपेश र दीपिका तथा ४० वर्षकी आमा सीतासहित बुटवलबाट गएका १४ जना त्यहीँ अस्ताए, जसमा चालकसमेत समावेश छन् । पहिरोमा पुरिएकामध्ये दीपेश र सीताको सनाखत भइसकेको छ । दीपिकाको शव पहिचान हुन बाँकी छ । स्याङ्जाको गल्याङ नगरपालिका– ३ स्थायी घर भएको भट्टराई परिवार बुटवल उपमहानगरपालिकास्थित योगीकुटीमा बस्दै आएको थियो ।

कालिका मानवज्ञान माविका प्राचार्य दिनेश थापाका अनुसार दीपेश र दीपिका आफैं ‘कन्फ्रेन्सको फारम’ भएर छनोट भएका थिए । ‘कार्यक्रम यही असोज १७ गते हो,’ थापाले भने, ‘शायद काठमाडौंमा पढ्ने दाइदिदीसँग पनि भेटघाट गर्ने मनसायले दुई÷चार दिनअघि नै गएको हुनुपर्छ ।’ उनीहरूले यही वर्ष हुने एसईई परीक्षामा ४ जीपीए ल्याउने विद्यालयको अपेक्षा थियो ।
‘कक्षा ४ बाट यही स्कूलमा पढेका दीपेश–दीपिका दुवैले आउँदो एसईई परीक्षामा ४ जीपीए अंक ल्याउने अपेक्षा विद्यालयको थियो । उनीहरूका दाइदिदी पनि यहीबाट ‘पास आउट’ भएका हुन्,’ थापाले भने, ‘कक्षा शिक्षकसँग बिदा मागेर गएका हुन् । आमा सीता पनि स्कूलमा आएपछि विद्यालयले केही आर्थिक सहयोग गरेर पठाएको थियो । कर्णधार भाइबहिनी अस्ताए । हामी ठूलो पीडामा छौं ।’

दीपेश–दीपिकाका बुवा होमनाथ भट्टराई विगत ५ वर्षदेखि दक्षिण कोरियामा मजदुरी गर्दै आएका छन् । श्रीमती र छोराछोरी बुटवलबाट यात्रा तय गर्ने क्रममा उनीसँग कुराकानी भएको थियो । तर, होमनाथ कामबाट फर्किंदा गाडी पुरिएको खबर पुग्यो । स्कूलका शैक्षिक संयोजक दीपक बञ्जाडेले नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा काठमाडौंमा नेसनल एस्ट्रोनोमी ओलम्पियार–२०२४ को पहिलो सेसन सकाएर दोस्रो चरणमा बंगलादेश जाने तयारीका लागि उनीहरू काठमाडौं गएको बताए ।
सीताका मामा नगेन्द्रराज पाण्डेले भाञ्जा (होमनाथ) को परिवार पहिरोको विपत्तिमा परेको भन्दै दुःख व्यक्त गरे । ‘विशाल सपना बोकेर हिँडेका बाबुनानीलाई पहिरोले खोस्यो,’ पाण्डेले भने, ‘भाञ्जालाई आइतबारसम्म नेपाल बोलाएका छौं । दीपेश–दीपिकाका दाजुदिदी काठमाडौं बसेर पढ्छन् । तीक्ष्ण क्षमताका बाबुनानी कलिलै उमेरमा अस्ताए । हामी शव कसरी ल्याउने भन्ने छलफलमा छौं ।’ पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले पनि बुटवलले ठूलो मानवीय क्षति बेहोर्नुपरेको बताए ।

यस्तै, गुल्मीको मदाने गाउँपालिका वडा नम्बर–६ पुर्कोटदहका प्रकाश कुँवर १३ वर्षदेखि दक्षिण कोरियामा रोजगारीमा थिए । ३५ वर्षका प्रकाश तीन महिना अघि विवाह गर्ने गरी नेपाल फर्किए । सात भाइमध्येका छैठौं (ठाइलो) प्रकाशलाई विवाह गर्न जोडबल गरेर बोलाएका थिए जेठा दाइ गोबिन्दले । बसाइसराइ गरी रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर–१६ मा झरेका कुँवर परिवारले प्रकाशको विवाह साउन २७ गते काठमाडौकी अनु मल्लसँग गरिदिए । काठमाडौंमा विवाहपछि घुम्न र विवाहदर्ता गर्न प्रकाश र अनु बुटवल झरे । अनि जन्मघर गुल्मी घुमघाम र भेटघाटका लागि बुटवलबाट दाजु गोविन्द, अनु र प्रकाश गए । एक हप्ता अघि बुटवल झरेर उनीहरुले विवाह दर्ता गरे ।

आउँदो कार्तिक ४ गते (अक्टोबर २०) मा प्रकाशको कोरिया जाने तयारी थियो । काठमाडौंमा पनि घर भएका उनीहरू अब उतैबाट कोरिया जाने गरी प्रकाश, अनु र प्रकाशकी बहिनी सृजना शुक्रबार बुटवलबाट काठमाडौं हिडँे । दाजुले कर गरेपछि बहिनी सृजना पनि काठमाठौं जान तयार भइन् । सृजना भारतको बेङ्लोरबाट बीएस्सी नर्सिङ उत्तीर्ण गरेर बेलायत जानका लागि भाषा कक्षा पढ्दै थिइन् । शुक्रबार बिहान बुटवलबाट माइक्रो (विङ्गर) चढेपछि प्रकाशले दाजु गोविन्दलाई फोन गरेर काठमाडौं हिँडेको जानकारी गराए । दिउँसो १ बजे नारायणगढ पुगेको पनि फेरि प्रकाशले दाजुलाई जानकारी गराए । त्यसपछि उनीहरुको सम्पर्क टुट्यो । अन्ततः कुँवर परिवारका तीन जना धादिङको झ्याप्ले खोलामा प्रकाश, अनु र सृजना अस्ताए ।

भाइबुहारी र बहिनीको शव बुझ्न काठमाडौं एयरपोर्ट झरेका गोबिन्दले फोनमा कुराकानी गर्दै भने, ‘नारायणगढ पुगेपछि अन्तिम कुराकानी भयो । त्यसपछि फोन सम्पर्क हुन सकेन र अन्ततः स्वीच अफ भन्यो ।’ झ्याप्लेखोला पहिरोमा पुरिएको लु १ ज ४५७८ नम्बरको माइक्रो बसमा पुरिएर उनीहरुको ज्यान गएको हो । बहिनी सृजना भाषा कक्षाको परीक्षा दिनुपर्ने भएकाले काठमाडौंबाटै दिने गरी दाजुभाउजूसँगै गएको दाजु गोविन्द कुँवरले बताए । शुक्रबार बिहान घरबाट हिँडेका उनीहरू चढेको गाडी पुरिएको भन्ने खबर शनिबार साँझ मात्र थाहा भयो । पहिरोले यस क्षेत्रका १४ जनाको ज्यान गएपछि रुपन्देही शोकमा डुबेको छ ।

उता गुल्मी दरबार गाउँपालिकाको चारपालाकी प्रमिता रायमाझी नागरिकताको प्रतिलिपि लिन १५ दिन अघि काठमाडौंबाट जिल्ला झरेकी थिइन् । माइती घर सोही पालिकाको झिरबास रहेकी प्रमिताका श्रीमान् विवेकले काठमाडौंको थानकोटमा मोटरसाइकल ‘वर्कसप’ सञ्चालन गर्दै आएका थिए । लामो समय बुटवलमा व्यवसाय गरेर सफलता पाएपछि त्यसलाई अझै उचाइ दिन ६ महिना अघिमात्र विवेक काठमाडौँमा आफ्नो व्यवसाय सारेका थिए । तीन वर्ष कोरोनाकालमा विवाह गरेका विवेक र प्रमिताका २ वर्षका छोरा क्रिस पनि आमासँगै आफ्नो मामाघर आएका थिए ।

नागरिकताको प्रतिलिपि बनाएर घर र माइतीमा भेटघाट सकीवरी २५ वर्षीया प्रमिता, बाबा (ससुरा) ६३ वर्षका जुद्धबहादुर र २ वर्षका क्रिस बुटवल झरे । अनि शुक्रबार बिहान खुसीसाथ बुटवलबाट काठमाडौंको यात्रा तय गरे । विवेक श्रीमती, छोरा र बाबाको प्रतिक्षामा कुरेर बसेका थिए । तीन जना बुटवलबाट माइक्रो बस (विङ्गर) चढे । बाटोमा उनीहरुको कुराकानी भइरहेको थियो । शुक्रबार साँझसम्म परिवारको सम्पर्कमा थिए, रायमाझी परिवारका आफन्त पोषण पाण्डेल भने, ‘त्यसपछि सम्पर्क टुटेको थियो । पछि उहाँहरू पनि पहिरोमा पुरिएको खबर आयो ।’

बुटवलबाट छुटेको लु २ ख ४५७८ नम्बरको गाडीमा विवेकले छोरा, श्रीमती र बाबालाई झ्याप्ले खोलामा गुमाए । विवेकले ३ वर्षअघि मात्रै आमा गुमाएका थिए । विवेकसँगै लामो समय काम गरेका पोषणले पहिरोमा पुरिएर परिवार गुमाएपछि भावविहल छन् । ‘दाइलाई फोन गर्न सकिरहेको छैन, तीनजनाकै शव शिक्षण अस्पताल, काठमाडौंमा राखिएको जानकारी आएको छ । मौसम खराबीको कारण काठमाडौँ गइहाल्ने अवस्था पनि छैन,’ पाण्डे भने । विवेक गाउँमा कसैलाई अफ्ठ्यारो पर्दा सहयोग गर्न सधै अग्रसर हुन्थे । तर, आफ्नै परिवार पहिरोमा पुरिँदा न त उनले सहयोग गर्न पाए न त अन्तिम अवस्थामा अनुहार देख्न पाए । आफूले जन्माएको २ वर्षको छोरो लिएर आफ्नो ससुरासँग काठमाडौं फर्किएकी श्रीमती प्रमिता अब कहिल्यै नआउने गरी छोरोसहित सधैका लागि अस्ताइन् । विवेकले बुटवलको योगीकुटीस्थित शान्तिचोकमा बाइक अड्डा हुँदै फल्स सिलिङ्ग, नास्ता पसल गरी तीन वटा व्यवसाय गरेका थिए ।

यस्तै उक्त गाडीमा चढेका कपिलवस्तु जितपुरका बोमबहादुर मगर र काठमाडौं बस्ने बुटवल रामनगरबाट चढेका २३ वर्षका सामोइल गुरुङको पनि पहिचान खुलेको छ । काठमाडौंमा बस्ने गुरुङ बुटवलको रामनगरमा बस्ने आफ्ना हजुरबुबा, हजुरआमा भेट्न आएका थिए । शुक्रबार बिहान काठमाडौं जाने क्रममा उनी दुर्घटनामा परेका हुन् । उक्त गाडीमा सवार भिमा कुमारीको ठेगाना खुलेको छैन । गाडी रमेशप्रसाद लुइँटेलले चलाएका थिए । घटनामा उनको पनि मृत्यु भएको छ । गाडीमा चालक र २ वर्षका बालकसहित १४ जना चढेको र तीमध्ये अहिलेसम्म बालकसहित १३ जनाको मात्र पहिचान खुलेको कार्कीले बताए ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार ट्राफिक चोकबाट २ वटा समूहका गरी ७ जनाले टिकट काटेकाबाहेक टिकट काउन्टरमा रेकर्ड देखिएको छैन । पश्चिम नेपाल बस व्यवसायी प्रालिका अनुसार शुक्रबार बिहान उक्त विङ्गरमा काठमाडौं जानका लागि बुटवलको ट्राफिक चोकमा रहेको काउण्टरबाट ७ जना र राजमार्ग चौराहबाट टिकट लिएर ३ जना चढेका थिए ।

झ्याप्ले खोलामा पुरिएका ३५ जनाको शव भेटियो
धुनिबेँसी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएकाहरुको उद्धार कार्य जारी रहेको छ । अहिलेसम्म पहिरोमा परेकामध्ये ३५ जनाको शव भेटिएको छ । प्रहरीका अनुसार शनिबार १४ जनाको शव फेला परेकामा बाँकी शव आइतबार फेला परेको हो । आइतबार बिहानैदेखि खटिएको उद्धार टोलीले १७ पुरुष र चार जना महिलाको शव निकालेको हो ।

त्यस ठाउँमा पुरिएका चार वटा सवारीसाधनको नम्बर खुलेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस (विङ्गर), चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख १३४५ नम्बरको हायस पहिरोमा पुरिएको थियो । त्यस्तै गोरखाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख २२७० नम्बरको बस र बा १ प १३८८ नम्बरको बससमेत क्षति पुगेको थियो ।

पहिरोमा पुरिएको माइक्रोबस (विङ्गर) मा सवार ८ जना पुरुष, ५ जना महिला र एक जना बच्चा गरी १४ जना, हायसमा सवार १२ जना पुरुष र ४ जना महिला तथा बसमा सवार ५ जना पुरुष यात्रुहरु पहिरोमा पुरिएका थिए । पहिरोमा पुरिएकाहरुको सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोजी तथा उद्धार कार्य गरिरहेको छ । पहिरोमा भेटिएका सबै शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

विपद्मा परी देशभर १७० जनाको मृत्यु
गत बिहीबारदेखि परेको अविरल वर्षापछि आएको बाढी पहिरो डुवानमा परी हालसम्म देशभर एक सय ७० जनाको मृत्यु भएको छ भने ४२ जना बेपत्ता भएका छन् । विपद्मा परी १ सय बढी जना घाइते भएका छन् । बाढी, पहिरोमा परी धादिङमा ३८, ललितपुरमा २२, काठमाडौँमा १६, काभ्रे २९, मकवानपुर सात, सिन्धुपाल्चोक छ, सोलुखुम्बु पाँचथर र भक्तपुरमा पाँच/पाँच जनाले ज्यान गुमाएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । उनका अनुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा दुर्ई, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एकजनाको मृत्यु भएको छ ।
बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ६६१ जनाको उद्धार गरिएको प्रवक्ता तिवारीले बताए । यसैगरी बाढीपहिराले तीन सय २२ वटा घरमा क्षति र १६ पुल बगाएको सशस्त्र प्रहरी बलले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कमा उल्लेख छ । प्रहरीले लामो दूरीमा निस्किनुपरेमा प्रहरी कार्यालयमा सम्पर्क गरी सडकको अवस्थाबारे बुझेर मात्रै यात्रा गर्न पनि अनुरोध गरेको छ ।

यसैबिच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अविरल वर्षाका कारण क्षति भएका सडक यथाशीघ्र सञ्चालनमा ल्याउन मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता सुनिलबाबु ढकालले मातहतका निकायमार्फत आफ्ना संयन्त्र र स्रोतसाधन प्रयोगगरी अवरुद्ध सडक खुलाउनका लागि तदारुकताका साथ काम भइरहेको जानकारी दिए । उनका अनुसार वर्षाका कारण आएको बाढी–पहिरोसहित डुबानका कारण देशभर ४१ वटा सडकको ६४ स्थानमा अवरोध भएको छ ।