बुटवलमा आज सामना परिवारको साँस्कृतिक कार्यक्रम हुँदै

मेचीकाली संवाददाता

१६ आश्विन २०८१, बुधबार
100 shares

बुटवल । समाजवादका लागि सामना साँस्कृतिक अभियान बुटवलमा आएको छ । आज दिउसो १ बजेदेखि बुटवल उद्योग वाणिज्य संघको सभा हलमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने सामना परिवारले जनाएको हो ।

असोज ११ गते हेटौंडाबाट शुरु भएको अभियान चितवन, नवलपुरमा कार्यक्रम सकेर आज बुटवलमा आइपुगेको हो । बुटवलमा कार्यक्रम सकेर सामना परिवार कपिलवस्तु जाने साँस्कृतिक टिमको नेतृत्व गरेका बामपन्थी नेता मणि थापाले बताए ।

कार्यक्रमको मुल उद्धेश्य जनपक्षीय गीत संगीत मार्फत मनोरन्जन, माओवादी आन्दोलनको विगत र भविष्यका विषयमा प्रष्ट पार्ने रहेको आयोजक सामना परिवारले जनाएको छ । चर्चित कलाकार तथा जनसाँस्कृतिक महासंघका अध्यक्ष माइला लामालगायतले क्रान्तिकारी गीत, नृत्य र नाटक प्रस्तुत गर्ने जनसाँस्कृतिक महासंघका सचिव आरोह सीले जानकारी दिए।

कार्यक्रम अवलोकनका लागि २ सय, ५ सय र एक हजार रुपैयाँको टिकट शुल्क रहेको तर रकम तिर्न नसक्नेले निःशुल्क हेर्न पाउने आयोजकले स्पष्ट पारेका छन् । सबै माओवादी घटकहरुको समर्थन रहेको उक्त कार्यक्रमको नेतृत्व नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको छ ।