सैनामैनाको प्राकृतिक चिकित्सा केन्द्रमा नयाँ नेतृत्व

वैकल्पिक चिकित्सालाई विस्तार गर्ने प्रतिबद्धता

मेचीकाली संवाददाता

१६ आश्विन २०८१, बुधबार
179 shares

अमृत गिरी

सैनामैना । नेपाल सामुदायिक योग तथा प्राकृतिक चिकित्सा केन्द्र, सैनामैनामा नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराइएको छ । सैनामैना–१, बनकट्टामा चिकित्सालय रहेको उक्त केन्द्रमा नगरका प्रथम प्रमुख चित्रबहादुर कार्कीको अध्यक्षतामा हालै सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको थियो ।

उक्त नयाँ कार्यसमितिलाई बुधबार बिहान एक समारोहबिच निर्वाचन समितिका संयोजक मिनप्रसाद पौडेलले सपथ ग्रहण गराएका थिए । उक्त चिकित्सा केन्द्रमा अध्यक्षमा चित्रबहादुर कार्की, उपाध्यक्षमा श्यामबहादुर थापा, सचिवमा रामबहादुर कुँवर, कोषाध्यक्षमा हेमादेवी पौडेल र सहसचिवमा बालकृष्ण ज्ञवाली सर्वसम्मत चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा चिन्तामणि भुसाल, शुकदेव अधिकारी, उमानन्द घिमिरे, रेशम खाँण, कमला बन्जाडे, रुद्रप्रसाद शर्मा, कल्पना घिमिरे, सावित्रा भुसाल पाण्डे, मानप्रसाद भुसाल, ध्रुवकुमार घिमिरे, विन्दु भण्डारी क्षेत्री, खगीमाया भुजेल र तारा कुमारी वि.क.सर्वसम्मत रुपमा चयन भएको निर्वाचन समितिका संयोजक मिनप्रसाद पौडेलले जानकारी दिए । यसैगरी केन्द्रको लेखा समितिमा संयोजक पुष्पराज शर्मा सिग्देल र सदस्यहरुमा देवराज पौडेल र लक्ष्मीप्रसाद सुवेदीलाई चयन गरिएको छ ।

सैनामैना नगरपालिका वडा नं. १ प्राचीन पद्मपाणि मत्स्येन्द्रनाथको आश्रम स्थलमा नेपाल सामुदायिक योग तथा प्राकृतिक चिकित्सा केन्द्र सैनामैना चारपालाद्वारा सञ्चालित पद्मपाणि योग तथा प्राकृतिक चिकित्सालयलाई विस्तार गरी यसक्षेत्रकै प्रभावकारी वैकल्पिक चिकित्साको केन्द्र बनाउने लक्ष्य रहेको नव निर्वाचित कार्यसमितिको प्रतिबद्धता छ । सो अवसरमा नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले प्राकृतिक चिकित्सा केन्द्रलाई विस्तार गर्न र उपचार सेवालाई प्रभावकारी बनाउन नगरले पूर्ण रुपमा सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज नरबहादुर थापा, नेपाली कांग्रेसका नगर सभापति रणबहादुर खनाल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मानबहादुर महत, रास्वपाका नगर सभापति राजबहादुर क्षेत्रीलगायतका राजनीतिक दलका नेताहरुले प्राकृतिक चिकित्सालाई विस्तार गर्न र उपचार प्रभावकारी बनाउन आफुहरुले सहकार्य र सहयोग गर्ने साझा प्रतिबद्धता जनाएका थिए ।

विसं.२०६८ साल कार्तिक १६ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट विधिवत रुपमा दर्ता भएको उक्त संस्थाले यसक्षेत्रमा योग तथा प्राकृतिक चिकित्साविधिबाट समुदायलाई सेवा पु¥याउँदै आएको छ । हाल यस संस्थाले १० शैयाबाट आफ्नो नियमित स्वास्थ्य सेवा सञ्चालन गरिरहेको छ । सेवाग्राहीको चाप र मागलाई दृष्टिगत गरी संस्थाले निकट भविष्यमा नै क्रमशः ३०० शैयासम्म थप गर्ने योजना बनाएको छ । यो संस्था स्थापना र सञ्चालनमा प्रमुख नेतृत्वदायी भूमिका स्थानीय समुदायले गरेको भएपनि यो संस्था सेवाग्राहीको साझा संस्थाको रुपमा स्थापित छ ।

माटो चिकित्सा (मड बाथ, माटो पट्टी आदि) जल चिकित्सा (स्टीम बाथ, कटी स्नान, रिढ स्नान आदी) वायु चिकित्सा (प्राणायामका विभिन्न आयामहरु) मालिस (पूर्ण अगं, आशिक अंग, पोटली आदी) रिहाबिलिटेसन सहितको फिजियोथेरापी सेवा अक्युपंञ्चर सेवालगायतका विधिबाट यो केन्द्रमा उपचार गरिँदै आएको छ ।
यस्तै भोजन चिकित्सा तथा परामर्श, रोगअनुसार योग आसन प्राणायाम तथा ध्यान हाइड्रोथेरापी, मडथेरापी, क्रोमोथेरापी, वायु चिकित्सा तथा आकाश चिकित्साको माध्यमबाट पनि उपचार गरिँदै आएको छ । सैनामैना र यस वरपरको स्थानमा उपलब्ध पुरातात्विक एवं ऐतिहासिक महत्वका वस्तुहरुको अध्ययनबाट यो स्थान प्राचीन सामगामअन्तर्गत पर्ने र बुद्धकालीन सभ्यतासहितको बसोबास भएको क्षेत्र भएको र यसले वैकल्पिक चिकित्साको क्षेत्रलाई विस्तार गर्न उत्प्रेरित गरिरहेको नवनिर्वाचित अध्यक्ष कार्कीको भनाइ छ ।

सैनामैनाको यो क्षेत्रलाई प्राचीनकालका विभिन्न कालखण्डमा यस क्षेत्रमा विभिन्न ऋषिमुनि एवं सिद्धपुरुषहरुको तपोभूमि रहेको र यही स्थानमा पद्मपाणि मत्स्येन्द्रनाथको आश्रम स्थलसमेत मानिन्छ ।
प्राचीन सभ्यता, धार्मिक एवं सांस्कृतिक तथा पुरातात्विक महत्व र योग साधना एवं प्राकृतिक उपचार पद्दतिका दृष्टिकोणले महत्वपूर्ण रहेकाले सोहीअनुरुप चिकित्सा केन्द्रका सेवा सहज र विस्तार गर्नेगरी योजनाबद्ध कामको थालनी गरिने अध्यक्ष कार्कीले बताए ।

विश्वमा बल्ल सुरु भएको अभियान हाम्रो पहिल्यै छ
वैकल्पिक चिकित्सा अर्थात् प्राकृतिक रुपमै रहेका वस्तुबाट प्राकृतिक उपचार गर्ने यो विधिलाई अहिले विश्वमा लोकप्रिय मानिन्छ । विश्वका कैयन् मुलुकले प्रकृतिमा फर्क भन्दै अभियान चलाएका छन् । तर, हामीकहाँ भने यस्तो विधि परापूर्वकालदेखि नै गरिँदै आएको छ । मानव शरीर पञ्चमहाभूत (पृथ्वी, जल, वायु, तेज (सूर्य÷प्रकाश) र आकाशबाट बनेको छ । मानव शरीर ब्रह्माण्ड वा प्रकृतिको स्वरुप भएकोले प्रकृतिको अनुकूलनै शारीरक क्रियाकलाप खानपान आहारबिहार आदि हुन जरुरी छ ।

प्रकृति, वातावरण अस्वस्थ, प्रदूषित र असंतुलित भयो भने हामीले ग्रहण र उपयोग गर्ने तत्वहरु विषालु र विजातीय बन्न गई हाम्रो शरीरका अङ्गप्रत्यङ्गमा विभिन्न रोगहरु उत्पन्न हुन्छन् । यसैले मानव शरीरलाई स्वस्थ र दीर्घजीवी बनाउन प्रकृतिकै अनुकूल जीवनयापन गर्ने बानीको विकास गर्न जरुरी छ । त्यसैले विद्वान्हरुले प्रकृतितर्फ फर्क प्रकृतिमै औषधी उपचार विधि छ भन्ने गरेका छन् ।
‘रोग लागेर धन पैसा खर्च गरेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनुनै उत्तम मानिन्छ र रोग लाग्न नदिनका लागि प्रकृतिको अनुकूल भाषालाई बुझेर स्वस्थ बन्ने बानीको विकास गर्न जरुरी छ,’लामो समयदेखि यहीँ चिकित्सा अंगाल्दै आएका अगुवा कमल घिमिरेले बताए । यसका लागि प्राकृतिक उपचार विधि (घाम, पानी, हावा, माटो र आकाश) लाई प्रयोग गर्ने चेतनाको खाँचो रहेको उनको भनाइ छ ।

यस्ता छन् विस्तारका उद्देश्य
१० शैयाबाट सेवा सञ्चालन गरेको चिकित्सालयलाई ३०० शैयाको प्राकृतिक चिकित्सा शिक्षण अस्पतालको रुपमा विकास गर्ने, सस्तो र सुलभ तरिकाबाट चिकित्सा सेवा प्रदान गर्ने र विपन्न वर्गलाई निशुल्क सेवा प्रदान गर्ने उद्देश्यलाई साकार पार्न लाग्ने नवनिर्वाचित कार्यसमितिको प्रतिबद्धता छ । उक्त प्रतिबद्धतामा स्थानीय राजनीतिक दलका नेताहरुले पनि प्रतिबद्धता जनाएका छन् ।

यसैगरी चिकित्सालय परिसर क्षेत्रमा जडीबुटी उद्यान निर्माण गरी जडीबुटी खेती जैविक प्रविधिबाट गर्ने, वातावरण संरक्षण, प्राकृतिक स्रोतको संरक्षण र प्रवद्र्धनका लागि जनपरिचालन र जनचेतनामूलक कार्यक्रमहरु आवधिक रुपमा गर्ने, योगशाला निर्माण गरी समुदायका व्यक्तिहरुलाई योग प्रशिक्षण दिँदै योगमा अभ्यस्त गराउने, चिकित्सालय परिसर क्षेत्रमा अर्गानिक खेती प्रणालीको विकास, गौशाला, मौरीपालनको व्यवस्था गरी सेवाग्राहीलाई शुद्ध भोजनको व्यवस्था मिलाउनेलगायतका उद्देश्य रहेका छन् ।