स्वर्णिम सहकारीको वार्षिक साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

१८ आश्विन २०८१, शुक्रबार
173 shares

बुटवल, असोज १८ । स्वर्णिम बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सहकारीहरु सिद्धान्तअनुसार चल्नुपर्ने बताए । प्रमुख पाण्डेले जुन सहकारी सिद्धान्तअनुसार चलेका छन् तिनी सहकारीमा कहिल्यै पनि समस्या नआउने बताए । जबसम्म आर्थिक स्थायित्व हुँदैन तबसम्म कुनैपनि परिवर्तनको दिगोपन नहुने बताउँदै उनले कोही न कोहि कुनै न कुनै सीपसँग जोडिन आग्रह गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले सहकारी संस्थालाई सफल बनाउन व्यवस्थापन समिति, कर्मचारी र सहकारीका सदस्यहरु मिल्नुपर्ने बताउँदै आफ्ना सदस्यहरुलाई सीपमार्फत आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिइन् । कार्यक्रममा लक्ष्मी मावि बुटवलका दुईजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो । साथै सेयर सदस्यका छोराछोरीमध्य कक्षा १२ मा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।

त्यसैगरी उत्कृष्ट कर्मचारी, सुत्केरी सम्मान, एकल महिला सम्मानलगायतलाई सम्मान गरिएको थियो । अध्यक्ष पारु ध्वजुले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ध्वजुले होहल्लाको पछि नलाग्न र संस्थालाई सदैव साथ दिन आग्रह गरिन् । त्यसैगरी इला श्रेष्ठले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उपाध्यक्ष शुशिला श्रेष्ठले स्वागत गरेको कार्यक्रममासंस्थापक अध्यक्ष देवेन्द्र ध्वजु, राष्ट्रिय सहकारी बैंक लुम्बिनी प्रदेश प्रमुख नारायण बेलबासे, नारी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गंगा गुरुङलगायतले बोलेका थिए ।