पश्चिम नेपाल बस व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम

मेचीकाली संवाददाता

२१ आश्विन २०८१, सोमबार
40 shares

बुटवल । पश्चिम नेपाल बस व्यवसायी प्रालि, बुटवलले आइतबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । नेपालीहरुको विभिन्न चाडपर्वहरुको अवसर पारेर प्रालिले हरेक वर्ष शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएको छ । सोही अवसरमा प्रालिले हालै बुटवल अटो इन्जिनियरिङ एशोसियनका नवनिर्वाचित कार्यसमितिलाई सम्मान पनि गरेको छ ।

सो अवसरमा बोल्दै प्रालिका अध्यक्ष दधिराम खरेलले आम व्यवसायीहरुको हकहितसँग आम उपभोक्ताहरुको सुविधाको विषयमा संस्था सधैँ गम्भीर रहेको बताए । ‘चाडपर्वमा बुटवल भित्रने र बुटवलबाट बाहिर जाने सवारीको चाप बढ्छ,’उनले भने । सबै सवारी साधनलाई अनिवार्य सञ्चालन र व्यवसायीहरुलाई अतिरिक्त तेल व्यवस्थासमेत गरेको उनले बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले स्थानीय सरकार नगरबासीहरुको सुविधा र सेवालाई प्राथमिकतामा राखेर काम गर्दै आएको दाबी गर्दै चाडपर्वमा हुने गरेको अपराधिक घटना र ठगी रोक्ने गरी विभिन्न सरोकारवाला निकायहरुसंग काम गरिरहेको बताए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले शान्तिसुरक्षाको विषयको गलत भाष्य बनाउन नहुने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले हरेक क्षेत्रमा निरासाको अवस्था रहेको भन्दै यसलाई चिर्ने गरी सबै मिलेर लाग्ने समय आएको बताए । कार्यक्रममा प्रालिका वरिष्ठ उपाध्यक्ष नारायण घिमिरेले यात्रुहरुको सुरक्षित यात्रा गर्ने अभियानमा लागेको दाबी गरे ।

सहचालक विकको परिवारलाई १५ लाख बिमा रकम हस्तान्तरण
दुर्घटनामा ज्यान गुमाएका प्रालिका सहचालक एवं पश्चिम नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका शेयर सदस्य सन्तोष विकको परिवारलाई बिमाबापतको रकम हस्तान्तरण गरिएको छ ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी लिमिटेडका प्रदेश प्रमुख विश्वदिपक नेपालले परिवारका सदस्य तथा श्रीमती बिबिता श्रीष र छोरा कुशल सुनार (नाबालक) लाई १५ लाख रुपैयाँ रकम हस्तान्तरण गरे