जापानमा पढ्दै, नेपालमा वातावरणीय शिक्षा जगाउँदै

मेचीकाली संवाददाता

२४ कार्तिक २०८१, शनिबार
1245 shares

जापानको शिक्षा मन्त्रालय र विज्ञ प्रोफेसरको सहकार्यमा नेपालका स्कुलहरुमा ‘जेरो कार्बन स्कुल अबधारणा’ कार्यान्वयन गर्दै, विद्यार्थीलाई जलवायु परिवर्तनका असर मापन गर्ने यन्त्र प्रदान

अमृत गिरी

बुटवल । गुल्मी रुरुक्षेत्र टाहाटिमका युवा भानुभक्त पुरी घरदेखि केही परको पधेँरखोलामा पुगेर केही गाग्री पानी नल्याएसम्म एक घण्टा टाढाको दुरीमा रहेको स्कुल जान पाउँदैनथे । उनीजस्ता त्यहाँका धेरै स्कुलेहरुलाई विहान साँझ घरपरिवारमा कुनै न कुनै काममा अभिभावकलाई सघाउनै पथ्र्यो । पानी लिन जाने ठाउँ एकदमै अफ्ठेरो र जोखिमपूर्ण थियो । कैयौंपटक भरिगाग्री पल्टिन्थ्यो ।

पछि पानीको मुहान नासियो, मासियो, पुरियो र पानी नै सुक्यो । पानीकै दुखका कारण उनको परिवार त्यो टोल छाडेर अली माथिको टोलमा सरे र टाढाको मुहानबाट पाइपमार्फत गाउँमा पानी ल्याइयो । तर, पानीका स्रोतहरु मासिँदै, नासिँदै र सुक्दै गएपछि ती धारामा सहरमा झैं मिटर जडान गरेर शुल्क असुल्न थालिएको छ । हुर्कदै, पढदै गर्दा उनै भानु अहिले पढ्न भन्दै जापानमा पुगेका छन् । जापानको नागोया स्थित एक विश्वविद्यालयमा वातावरण व्यवस्थापन विषयमा पीएचडी गर्दै गरेका भानुले त्यहाँ पुगेर बाल्यकालको त्यो पानीको कष्ट याद गरे, हरियाली क्षेत्र मासिएको, नासिएको र पानीका स्रोतहरु सुकेको याद गरे, डाँडामा रहेको ठूलो रिचार्ज पोखरी पुरेर, ठूला ठूला वरपिपल मासेर बनाइएको आफुले पढ्ने रानीबासको त्यो स्कुलको वातावरणको याद गरे, त्यहाँदेखि तलको घिउँबेसीको पानीका स्रोतहरुमा पारेको प्रभावलाइ सम्झे ।

वातावरणमा यस्तो असर किन र कसरी पर्छ ? असर कम गर्न के गर्नुपर्छ ? भन्ने जिज्ञासा लाग्यो र त्यहीँ विषय रोजेर पढे । जापान सरकारबाटै छात्रवृत्ति समेत पाएपछि उनलाई रुचिको विषयमा पीएचडी गर्ने अवसर मिल्यो । गाउँ समाजले भोगेको समस्यालाई कम गर्न केही उपाय लगाउन सकिने ज्ञान उनमा हासिल भयो । उनको ज्ञानमा साथ दिए उनकै प्रोफेसर र त्यहीँको मन्त्रालयले ।

वातावरणीय शिक्षामार्फत् हरित विद्यालय निर्माणको खुड्किलो
आफ्नो जन्मभूमिमा केही न केही गर्नैपर्नै हुटहुटीमा रहेका उनलाई आफैलाई पढाउने प्रोफेसर इतोउ मासाकाजुले साथ दिएपछि कार्यान्वयनको चरणमा पुग्यो । प्रोफेसरकै सहयोगमा जापानकै शिक्षा मन्त्रालयको समेत साथ पाए उनले । त्यहाँको साथ र सहयोग लिएर उनी नेपाल आए । यहाँ आएर उनले पहिलो सुरुआत विद्यालयबाटै गर्नुपर्छ भन्ने कुरालाई कार्यान्वयन गरे ।
स्कुल तहका बालबालिका र त्यहाँको वातावरणलाई शून्य कार्बन उत्सर्जन बनाउन सके त्यसले टोल, समाज हुँदै सिंगो देशमा वातावरणीय सुधारका काम गर्न सकिन्छ भन्ने उनलाई लाग्यो । पहिलो चरणमा मुलुकका तीन प्रदेशका पाँच जिल्लाका केही विद्यालयलाई छनौट गरेर त्यहाँका सयौं विद्यार्थीलाई अभियानमा सामेल गराइरहेका छन् ।

उनलाई जापानको सोही विश्वविद्यालयमा पीएचडी गर्न गएका हेटौडाकी पुजा अधिकारी बोहरा र पोखराका सन्जोग पौडेलले साथ दिएपछि यो अभियान विस्तार भयो । उनीहरुले आफ्नै प्रोफेसर र जापानी सरकारको सहयोगमा नेपालमा ‘जेरो कार्बन स्कुल अबधारणा’ लाई कार्यान्वयन गर्दै वातावरणीय विषयमा प्रयोगात्मक शिक्षा दिइरहेका छन् । जापनमा पढ्न गएका भानु र उनका केही साथीले नेपालमा हरित विद्यालय निर्माण र वातावरण संरक्षणमा अहिले नौलो अवधारणा ल्याएका छन् ।

जलवायु परिवर्तनको प्रमुख आधारमा रहेको असर बस्तु स्थानीय वाताबरणमा कार्बनडाइअक्साइडको उत्सर्जन शोषण, परिबर्तन, हावाको गतिको असर, बादल, पानीको असर, सामुद्रिक पेरिफेरीको असर र जमिनको प्रयोगलगायतमा खोज गरिरहेका पुरीले त्यहाँको ज्ञानलाई स्वदेशमै उपयोगमा ल्याउने भन्दै केही कोसिस गरिरहेको बताए ।

उनीहरुलाई पढाउने प्रोफेसर इतोउ मासाकाजुले नेपाललाई औधी माया गर्ने रहेछन् । उनले नेपालका लागि जलवायु परिवतर्नका असरका बारेमा सक्दो सहयोग गर्ने र एउटा जलवायु मापन केन्द्र (स्टेशन) नै स्थापना गरिदिनेसम्मको सोंच बनाएको पुरीले बताए । यसका लागि दुतावासमार्फत सरकारसंग कुराकानी भइरहेको पनि पुरीले जानकारी दिए ।
जापानको टोकियोमा रहेको वाताबरण सूचना बिज्ञान केन्द्रबाट पीएचडी प्रथम अनुसन्धान पेपर प्रकाशित भएपछि र नेपालका हालका प्रधानमन्त्री केपी ओलीले जलवायु परिवर्तनका असरका बारेमा लिएको चासोका कारणले आफुहरुलाई अभियानमा सहयोग जुटाउन झन सजिलो भएको पुरीको भनाइ छ । उनीहरु जेरो कार्बन स्कुल अवधारणालाई देशका सबै विद्यालयमा विस्तार गर्नेगरी सहयोगी जुटाउने काममा केन्द्रित छन् । अहिले अभियान चलेका विद्यालयमा दोस्रो चरण सुरु हुनेछ ।

पहिलो चरणमा नेपालका १४०० विद्यार्थी सामेल
ती युवाहरुले अवधारणा कार्यान्वयनका लागि बागमती, लुम्बिनी र गण्डकी गरी ३ प्रदेशका ५ जिल्ला कास्की, रूपन्देही, भक्तपुर, ललितपुर र बर्दियाका विभिन्न विद्यालयहरुका करिब १४०० जना बिद्यार्थीलाई एक वर्षदेखि उक्त कार्यक्रममा सहभागी गराएका छन् ।

रुपन्देहीको श्री शंकरनगर दुर्गादत्त माध्यमिक बिद्यालय, बर्दियाको श्री जनता माध्यमिक विद्यालय, कास्कीका गण्डकी बोर्डिङ्ग स्कुल, श्री अमरसिङ्ग नमुना माध्यमिक विद्यालय, पश्चिमाञ्चल बोर्डिङ्ग स्कुल, काठमाण्डौंका एसओएस हर्मन माइनर स्कुल र युनाइटेड एकेडेमीमा ‘जिरो कार्बन स्कुल’ अवधारणा कार्यान्वयन गरिएको छ । यी विद्यालयका विद्यार्थीहरुले वातावरणमा परे÷पारेको प्रभावलाई उपकरणद्वारा प्रत्यक्ष मापन गरेर अध्ययन गर्न सक्ने भएका छन् । उनीहरुमार्फत विद्यालय परिसर र समाजमा धेरै भन्दा धेरैलाई वातावरणीय शिक्षामा सामेल गरिनेछ ।

यस्तो छ अवधारणाको उद्देश्य
जलवायु परिबर्तनका कारण बढ्दै गरेको पृथ्वीको तापक्रम नियन्त्रण गर्न आ–आफ्ना क्षेत्रबाट खट्नु नै यसको प्रमुख उद्देश्य हो । जलवायु परिबर्तनको प्रमुख कारकको रुपमा रहेको र नाङ्गो आँखाले देख्न नसकीने कार्बनडाइऑक्साइड ग्यासलाइ अंकमा देखिने गरि कार्बनडाइअक्साइड मापक यन्त्रद्वारा मापन गरि उक्त कार्बनडाइअक्साइडको मात्रा पत्ता लगाउने र विद्यार्थीलाई बढ्दो कार्बनडाइअक्साइडले वातावरणमा पर्ने असरबारे ज्ञान दीइ कार्बनडाइअक्साइड नियन्त्रण गर्न प्रेरित गर्नु रहेको अभियानकर्ता पुरीले बताए ।

वातावरणीय विषयको प्रयोगात्मक शिक्षा
विद्यार्थीहरुलाई समूहमा विभाजन गरि कार्बनडाइअक्साइड मापक यन्त्र दिएर उनीहरुले आफै बिद्यालय परिसरको कार्बनडाइअक्साइड ग्यासको मात्रा नापी सामान्यतया वायुमंडलमा हुने कार्बनडाइअक्साइडको मात्रासंग आफैले नापेको कार्बनडाइअक्साइडको मात्रा तुलना गरी पृथ्वीमा बढ्दै गइरहेको कार्बनडाइअक्साइडको अध्ययन गरि समुदायमा समेत सचेतना गराउने गरेका छन ।

त्यसैगरी उक्त वातावरणीय शैक्षिक कार्यक्रम मार्फत विद्यार्थीले पढ्दै मात्र आएको प्रकाश संश्लेषणको प्रक्रियालाई मापक यन्त्रको प्रयोग गरी आफैले प्रत्यक्ष हेरेर अध्ययन गरिरहेका छन् । यसले विद्यार्थीहरुमा वृक्षारोपण र हरियाली प्रवद्र्धनमा समेत सरिक बनाउन मद्दत पुग्ने अवधारणा लागु गरिरहेका शंकरनगर दुर्गादत्त माविका प्राचार्य चण्डीप्रसाद पाण्डेको भनाइ छ ।
विद्यालयमा कार्यक्रम सुरु गर्न जापानबाटै प्रोफेसर डा.कीयोसी ओकामुरा र वातावरण ब्यबस्थापन बिषयमा पीएचडी गर्दै गरेका विद्यार्थीहरु नेपाल आएको र प्रभावकारी कार्यक्रम गरेको प्रचार्य पाण्डेले बताए । यो कार्यक्रम पहिलो चरणमा बागमती, लुम्बिनी र गण्डकी प्रदेशका कास्की, रूपन्देही, भक्तपुर, ललितपुर र बर्दिया जिल्लाका विभिन्न विद्यालयमा चलिरहेको छ ।

अवधारणा ल्याउने प्रोफेसर नै नेपालीलाई सघाउन इच्छुक
जापानका प्रोफेसर डा.ईतोउ मासाकाजुले नै वातावरणीय शिक्षा अन्तर्गतको ‘जेरो कार्बन स्कूल’को अवधारणा ल्याएका थिए । उनको यो अभियानलाई विश्वका वैज्ञानिकहरुले सराहना गरेका छन् । विश्वका कैयौं मुलुकले ‘कार्बन न्युट्रल’ लक्ष्य हासिल गर्न सामाजिक स्तरमा विद्यालयबाटै अभियान सञ्चालन गर्न यहीँ अभियानलाई लागु गरिरहेका छन् । जापानका तिनै प्रोफेसरले पढाइरहेका नेपाली विद्यार्थी मार्फत नेपालमा सघाउने प्रोफेसरको चाहना छ ।

उक्त अवधारणा नेपालमा पनि पहिलोपटक रूपहेंदेही जिल्लाको तिलोतमा नगरपालिकामा अवस्थित शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालयमा सुरु गरिएको छ । अभियानको पहिलो चरणको कार्यक्रममा विद्यार्थीलाई उपकरण दिएर विद्यालय परिसरको वातावरणको मापन गर्न सिकाइएको छ भने अब स्कुल वरपर रहेका रुख विरुवाले सोस्ने कार्बनडाइऑक्साइडको मात्रा र वरपरको वातावरणका बारेमा अर्को यन्त्राद्वारा मापन गर्नेगरी कार्यक्रम तय भएको तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाँणको भनाइ छ ।

नगर प्रमुख खाँणले एउटा विद्यालयबाट सुरु भएको सोधको कार्यक्रमलाई नगरस्तरमा सबैतिर विस्तार गर्नेगरी छलफल भइरहेको बताए । उनले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीहरूको सामना गर्न तिलोत्तमाका शैक्षिक क्षेत्रलाई कार्बन न्यूनीकरणमा केन्द्रित गर्न महत्वपूर्ण योगदान पु¥याइरहेको दाबी गरे ।

विद्यालयहरूमा वैकल्पिक ऊर्जा स्रोतहरूको प्रयोग जस्तै सौर्य ऊर्जा, वृक्षारोपण र पुनःप्रयोग–पुनःचक्रण (रिसाइकल) प्रविधिको प्रयोग गर्दै कार्बन फुटप्रिन्ट घटाउन प्रेरित गर्दा त्यसको सकारात्मक प्रभाव परिवार, समाज हुँदै सिंगो मुलुकमा पर्ने पुरीको दाबी छ । विद्यालयमा जलवायु सचेतना अभिवृद्धि गर्नुका साथै, विद्यार्थीलाई वातावरणमैत्री व्यवहारमा प्रशिक्षण दिन अभियानले महत्वपूर्ण भूमिका खेलेको शंकरनगर दुर्गादत्त माविका प्राचार्य पाण्डेको भनाइ छ ।

नेपालले लिएको शून्य कार्बन उत्सर्जनको लक्ष्यका लागि उपयोगी अभियान
नेपाललाई विश्वका शून्य कार्बन उत्सर्जन लक्ष्य राखेका ११० भन्दा बढी राष्ट्र मध्ये सन् २०४५ मै अग्र स्थानमा लैजान यो अभियानले महत्वपूर्ण सहयोग गर्ने अपेक्षा गरिएको अभियानकर्ता भानुभक्त पुरीको भनाइ छ । विद्यार्थी र शिक्षण संस्थाहरूमाझ हरित ऊर्जा, नवीकरणीय स्रोतको उपयोग र कार्बन उत्सर्जन न्यूनीकरणका उपायका महत्वबारे जसरी उपकरणसमेत दिएर सचेत गराउँदा प्रयोगात्मक शिक्षा हासिल भइरहेको र त्यसले समुदायलाई पनि फाइदा पु¥याएको उनको दाबी छ । यो कार्यक्रमलाई नेपाल सरकारले सहकार्य गरेमा देशैभरी विस्तार गर्न तयार रहेको र जापानी प्रोफेसरले नेपालमै मापन केन्द्र जडित स्टेशन स्थापना गरिदिन समेत तयार भइसकेको पुरीले बताए ।

यो जेरो कार्बन स्कुल अबधारणा नेपाल सरकारले दिगो रणनीतिक लक्ष्यका रुपमा लिएको सन् २०४५ ‘शून्य कार्बन उत्सर्जन’ र सन् २०५० मा लियको ‘ऋणात्मक/नकारात्मक कार्बन उत्सर्जन’ लक्ष्य हासिल गर्नका लागि अति नै उपयोगी हुने उनको दाबी छ । नेपाल सरकारको यो चुनौती पूर्ण लक्ष्य हासिल गर्नका लागी नागरिक स्तरबाट सहकार्यको खाँचो समेत रहेको पुरीले बताए ।

नेपालको राष्ट्रिय अनुकूलन कार्यक्रमका लागि सहायक हुने दाबी
नेपालले आगामी सन् २०४५ देखि २०५० सम्ममा वातावरणीय अनुकुलन भएको मुलुक बन्ने लक्ष्य लिएको छ । यसलाई राष्ट्रिय अनुकूलन कार्यक्रम भनिएको छ । यहीँ कार्यक्रमका लागि यस्ता अभियान सहायक हुने अभियानकर्ताको दाबी छ । नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)मा ‘एजेण्डा’ लाई उठान गर्न विभिन्न तयारी गरिरहेको शन्दर्भमा यस्ता अभियान प्रभावकारी हुने विज्ञहरुको दाबी छ । यही नोभेम्बर ११ देखि २२ तारिख (कात्तिक २६ देखि मङ्सिर ७ गते) सम्म अजरबैजानको बाकुमा कोप–२९ सम्मेलन हुँदैछ ।

नेपालले कार्बन व्यापार, न्यूनीकरण, अनुकूलन, लैङ्गिक समानता, समावेशीकरण, जलवायु वित्त, क्षमता विकास, पारदर्शिता र सुशाासन, पर्वतीय मुद्दालाई विश्व मञ्चमा उठाउँदै आएको छ । यी मुद्दालाई थप प्रभावकारी बनाउन विद्यायल स्तरमा गरिएको ‘जिरो कार्बन स्कुल’ अवधारणा सहायक हुने निश्चित छ ।