प्रदेश सांसद घर्तीले रोजिन् नेकपा एकीकृत समाजवादी

मेचीकाली संवाददाता

१५ भाद्र २०७८, मंगलवार
679 shares

बुटवल । लुम्बिनी प्रदेश सभामा पाल्पाकी सांसद रमा घर्ती मगरले नेकपा एकीकृत समाजवादी रोजेकी छन् । नेकपा एमाले विभाजन भई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता भएपछि घर्तीले प्रदेश निर्वाचन कार्यालय दाङ पुगेर समाजवादी पार्टी रोजेकी हुन् । घर्तीले आफूले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको कार्यालयमा जानकारी गराएकी छन् ।

आयोगका प्रदेश निर्वाचन अधिकारी मीनराज भट्टराईको रोहबरमा घर्तीको हस्ताक्षर सनाखत भएको छ । भट्टराईले एकजना सांसदले समाजवादी रोजेको बताए । उनका अनुसार निर्वाचन आयोगले लुम्बिनी प्रदेशसभा सचिवालयलाई यसबारे पत्राचार गरेपछि प्रदेशसभामा कायम राजनीतिक दल र प्रदेशसभा सदस्यको अभिलेख अद्यावधिक गर्न लागिएको हो ।

घर्तीले समाजवादी रोजेसँगै प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको संख्या ६ पुगेको छ । ८० सदस्यीय प्रदेश सभामा एमालेका ३७ सांसद थिए । घर्तीले नेकपा एकीकृत समाजवादी रोजेपछि अब एमाले सांसदको संख्या ३६ भएको छ । समाजवादी रोजेकी उनी गठबन्धन सरकारमा मन्त्री बन्ने चर्चा छ ।