दौलत बचत तथा ऋण सहकारीको वार्षिक साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

२ मंसिर २०८१, आईतवार
108 shares

बुटवल। तिलोत्तमा नगरपालिका–२ शंकरनगरस्थित दौलत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको तिलोत्तमा नगरपालिका आर्थिक विकास शाखा प्रमुख कृष्णप्रसाद पाण्डेले उद्घाटन गरे ।

सोही अवसरमा बोल्दै उनले देशको अर्थतन्त्र चलायमान बनाउन सहकारी संस्थाको योगदान महत्वपूर्ण रहेको बताए । संस्थाबाट ऋण लगेर एक जना सदस्य मात्रै फिर्ता नगरेपनि सिंगो संस्थाले नोक्सान बेहोर्नुपर्ने बताउँदै संस्थाले ऋण लगानी गदाए विशेष ख्याल गर्नुपर्ने उनले बताए । अहिलेको अवस्थामा संस्थामा २० देखि २५ प्रतिशतसम्म तरलता देखिनु राम्रो नै मान्नुपर्ने धारण राखे । देशमा बढ्दै गइरहेको आर्थिक संकटलाई कम गरी अर्थतन्त्रलाई सकारात्मक दिशामा हिँडाउन सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिसँग जोडिनुपर्ने प्रमुख पाण्डेले बताए ।

संस्थाका अध्यक्ष किरण खरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै वर्षभरि गरेका विभिन्न कार्यक्रम तथा आगामी योजनाहरुबारे जानकारी गराए । संस्थालाई थप सुदृढ र व्यवस्थित गरी थप उचाइमा पु¥याउन सबै शेयर सदस्यहरूको हातेमालो र ऐक्यबद्धता आवश्यक पर्ने उनले बताए । शेयर सदस्यहरुलाई शुलभ, प्रविधि युक्त, सदस्यमैत्री सेवा प्रदान गर्न संस्था सधैँ लागिरहने अध्यक्ष खरेलको भनाइ थियो । कार्यक्रममा दीपज्योति सहकारीका अध्यक्ष हुमनाथ पाण्डे, संस्थाका शेयर सदस्इ तेजनारायण गैरे, संस्थापक अध्यक्ष शिवप्रसाद भट्टराईलगायतले सहकारीको सफलताको शुभकामना व्यक्त गर्दै सदस्यलाई उत्पादनशील र व्यावसायिक बनाउन संस्थाले सहयोग गर्नुपर्नेमा जोड दिए ।

साधारणसभाले संस्थाका कोषाध्यक्ष इश्वरी गिरीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति सदस्य अमित भण्डारीले प्रस्तुत गरेको लेखा प्रतिवेदन पारित गरेको छ भने संस्थामा रिक्त रहेको लेखा सुपरीवेक्षण समिति संयोजक पदमा दीपक गौतम र सदस्यमा लक्ष्मी रिजाललाई चयन गरेको छ ।

यस्तै कार्यक्रममा सहकारीका उत्कृष्ठ बचतकर्ता, असल ऋणीलगायतलाई सम्मान गरिएको थियो । १ करोड ६७ लाख ८ हजार ८९० रुपैयाँ शेयर पूँजी रहेको सहकारीमा ८९३ जना शेयर सदस्य रहेका छन् । सहकारीले १२ करोड १० लाख १७ हजार ३२९ रुपैयाँ ऋण लगानी गरेको छ भने संस्थाको कुल सम्पत्ति १६ करोड ३८ लाख २७ हजार २३६६ रुपैयाँ रहेको छ । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक तिलोत्तमा शाखा प्रमुख बासुदेव कोइराला, एपेक्स स्कुलका प्राचार्य दीपक गौतम, संस्थाका सल्लाहकार टिकाराम घिमिरे, लायन्स क्लव अफ शंकरनगरका अध्यक्ष पुरुषोत्तम आचार्य, गंगा खरेल, सीता अर्याल, राधादेवी खरेल लगायतको आतिथ्यता रहेको थियो ।

सोही अवसरमा लायन्स क्लब अफ शंकरनगरको सहकार्य तथा नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ५५ यूनिट रगत संकलन भएको थियो भने बुटवल कालिकानगरस्थित मोर्डन डाइगोन्स्टिक ल्याबको सहकार्यमा बृहत् स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको संस्थाकी व्यवस्थापक सरस्वती ज्ञवालीले जानकारी दिइन् । संस्थाका सचिव खिमानन्द बस्यालको स्वागत तथा उपाध्यक्ष राजु खरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।