मेचीकाली तिनाउ सहकारीको वार्षिक साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

२ मंसिर २०८१, आईतवार
103 shares

बुटवल । बुटवल–६ स्थित मेचीकाली तिनाउ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको राष्ट्रिय सहकारी महासंघ नेपालका सञ्चालक तथा जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिमप्रसाद तुलाचनले उट्घाटन गरे । सोही अवसरमा बोल्दै उनले पछिल्लो समय कतिपय सहकारीहरुका कारण सिंगो सहकारी अभियानमा प्रश्न उठेको बताए । सहकारीले लगानीका क्षेत्रको विस्तार गर्दै हरेक सदस्यहरुलाई उद्यमका क्षेत्रमा जोड्न जरुरी रहेको भन्दै उनले लगानीअनुरुपको उच्च प्रतिफल हासिल गर्ने उद्देश्यमा केन्द्रित हुनुपर्ने सुझाव दिए ।

संस्थाका अध्यक्ष डिल्लीराज भण्डारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै वर्षभरि गरेका विभिन्न कार्यक्रम तथा आगामी योजनाहरुबारे जानकारी गराए । सहकारीको सिद्धान्तअनुरुप संस्था अझ सशक्त र प्रभावकारी बनाउँदै अगाडि बढेको उल्लेख गरे । वित्तीय क्षेत्रको प्रतिस्पर्धा, लगानीका क्षेत्र, सदस्यहरुको वितृविकास, आधुनिक वित्तीय प्रणालीको समेत अबलम्बन गर्दै यसक्षेत्रमै उत्कृष्ट सहकारी बनाउने लक्ष्यका साथ नीति कार्यक्रम र योजना बनाइएको अध्यक्ष भण्डारीले बताए ।

अध्यक्ष भण्डारीले पेश गरेको आगामी कार्ययोजना, विगतका प्रगति प्रतिवेदनलाई साधारणसभाले सर्वसम्मत पारित गरेको छ । डिजिटल बैंकिङ, सहज सेवा सुविधा, आकर्षक ब्याजदर, धितोको सहज एवम् वैज्ञानिक मूल्यांकन, सदस्यहरुमा वित्तीय साक्षरतालगायतका नयाँ कार्यक्रम समावेश गरेर योजना बनाइएको अध्यक्ष भण्डारीले बताए । लेखा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक मोहन न्यौपानेले प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष भेषराज पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभामा सहकारीका पूर्वअध्यक्ष टंकप्रसाद पोखरेल, सामुदायिक आस्था बहुउद्देश्यीय सहकारीका अध्यक्ष खेमप्रसाद लुइँटेल, इन्द्रेणी बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष माया गौतमलगायतले बोल्दै शुभकामना व्यक्त गरेका थिए । सदस्य कवि यमलाल पौडेलले ‘मेरो मेचीकाली तिनाउ’ शीर्षकमा कविता वाचन गरेका थिए । २ करोड ३६ लाख ३६ हजार ५ सय रुपैयाँ शेयर पूँजी रहेको सहकारीमा १ हजार १३८ जना शेयर सदस्य रहेका छन् । सहकारीले २० करोड १० लाख १५ हजार ७९७ रुपैयाँ ऋण लगानी गरेको छ ।

साधारणसभाका अवसरमा प्रमाणपत्र तहमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने सेयर सदस्यका छोराछोरी, उत्कृष्ठ बचतकर्ता, असल ऋणी, ज्येष्ठ सदस्य, कवि, विद्यावारिधि गर्ने तथा डाक्टरहरुलगायतलाई सम्मान गरिएको सहकारीका व्यवस्थापक बादल आचार्यले जानकारी दिए । उपाध्यक्ष सोमनाथ पाठकले स्वागत तथा सचिव गीता गौतम ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो ।