गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि सबैको पहल जरुरी

मेचीकाली संवाददाता

२ मंसिर २०८१, आईतवार
119 shares

बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा सञ्चालनका लागि सबैको हातेमालो र ऐक्यबद्धता आवश्यक रहेको पर्यटन व्यवसायीहरुले बताएका छन् । नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशले १५ औँ वार्षिक साधारणसभा तथा अधिवेशनको अवसरमा शनिबार बुटवलमा आयोजना गरेको ‘गौतमबुद्ध विमानस्थल नियमित उडानको लागि पर्यटन व्यवसायीको भूमिका’ विषय कार्यक्रममा सहभागीहरूले निर्माण सम्पन्न भएको लामो समय पछि एकै पटक ५ वटा अन्तर्राष्ट्रिय उडान सुरु भएपनि यसलाई दीर्घकालीन रुपमा नियमित सञ्चालन गर्नका लागि सबैको पहल र सहकार्य हुन जरुरी रहेको बताएका हुन् ।

नाटा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि सबैको हातेमालो र ऐक्यबद्धता आवश्यक रहेको बताउँदै ट्राभल एजेन्टका साथै, होटल व्यवसायी, यातायात व्यवसायी लगायतले पनि भूमिका खेल्नुपर्ने बताइन । साथै उनले एयर टिकटमा भ्याटको अन्त्य हुनुपर्नेमा जोड दिइन । नाट्टा लुम्बिनीका निवर्तमान अध्यक्ष सागर अधिकारीले अन्तर्राष्ट्रिय उडान सुरु भएपनि विमानस्थलमा यात्रुमैत्री पूर्वाधारहरु तयार भइनसकेको बताए । यात्रुलाई सहज हुने गरेर तत्काल आवश्यक पूर्वाधार तयार गर्नुपर्ने बताए । साथै उनले भैरहवा विमानस्थल प्रयोग गर्न सबै यात्रुहरुलाई आग्रह गरे । ६० प्रतिशत यात्रु यही क्षेत्रका भएकाले पनि सकेसम्म विदेश जाने र आउनेले काठमाडौं केन्द्रित मानसिकता परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।

नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले काठमाडौँ केन्द्रीत सोँचाइको कारण नयाँ विमानस्थल सञ्चालन हुन गाह्रो भएको बताए । उनले काठमाडौं केन्द्रीत सोंचाइको लागि बाहिरका व्यवसायीले दबाब दिनुपर्ने उल्लेख गरे । नाट्टा गण्डकीका निवर्तमान अध्यक्ष हरेराम अधिकारीले भैरहवा विमानस्थल चलाउन आफ्नो प्रदेशको पनि साथ रहने उल्लेख गरे ।

यस्तै नाट्टा गण्डकीकी उपाध्यक्ष संगीता पौडेलले विमानस्थल चलाउन प्याकेज विक्रि गर्नुपर्ने बताइन् । नाट्टा सुदूरपश्चिम अध्यक्ष पदमविक्रम सिंहले भैरहवा विमानस्थलमा अवसर र चुनौती दुवै रहेको बताउँदै दीर्घकालीन रुपमा सञ्चालनको लागि कूटनीतिक पहल आवश्यक रहेको बताए । भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुँदा आफ्नो प्रदेशलाई पनि फाइदा हुने धारणा राखे ।

पर्यटन व्यवसायी सुदीप श्रीवास्तवले टिकटमा काठमाडौं फेयर सस्तो र भैरहवाबाट फेयर महँगो गरिएको बताए । ‘भैरहवामा ल्याण्डिङ, पार्किङ शुल्क नभएकाले टिकट सस्तो हुनुपर्ने हो,’ उनले भने, ‘काठमाडौंभन्दा भैरहवामा सस्तो हुनुपर्नेमा झन् १५ देखि २० हजार महँगो राखिएको छ ।’

र्यक्रममा नाट्टा लुम्बिनीका वरिरष्ठ उपाध्यक्ष चन्द्र थापा, उपाध्यक्ष अनिलप्रसाद श्रेष्ठ, नाट्टा पाल्पाका अध्यक्ष राजिवकुमार शाह, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका सल्लाकार भिमलाल ज्ञवाली, संघका सचिव अर्जुन थापालगायतले विमानस्थल सञ्चालनको लागि भैरहवा र अरु शहरसँग सहज कनेक्टीभिटी हुनुपर्ने, होटल व्यवसायीहरुले छुट सुविधा प्रदान गर्नुपर्ने, बुद्धिष्ट मुलुकमा लुम्बिनीलगायत यहाँको पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नुपर्ने बताएका थिए । कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले विमास्थल सञ्चालनको लागि आफूहरुको साथ निरन्तर रहने उल्लेख गरे । कार्यक्रमको सहजीकरण संस्थाका प्रेस सल्लाहकार नरेश केसीले गरेका थिए ।