कपिलवस्तुमा पाटेबाघको छालासहित एकजना पक्राउ

मेचीकाली संवाददाता

१० मंसिर २०८१, सोमबार
133 shares

बुटवल । कपिलवस्तुमा प्रहरीले पाटेबाघको छालासहित एक जनालाई पक्राउ गरेको छ ।

बाघको छालाको कारोबार हुँदै छ भन्ने विशेष सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले शिवराज नगरपालिका–२ हल्लानगरबाट रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ गोलपार्कका ४१ वर्षीय विष्णुप्रसाद भट्टराईलाई नियन्त्रणमा लिएको हो ।

रुणा रेष्टुरेन्ट एण्ड लजको काउन्टरको बाहिरी बरण्डामा आइतबार साँझ शंकास्पद अवस्थामा उभिएका भट्टराईलाई खानतलासी गर्दा सेतो प्लाष्टिकको बोरामा पाटे बाघको छाला भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए ।

उक्त छालाको लम्बाइ ६ फिट रहेको छ । छालासँगै चारवटा दाह्रा, चारै खुट्टाको पंजाका नङ्ग्रा पनि रहेको प्रहरीले जनाएको छ । छालामा गोली लागे जस्तो देखिने तीन वटा सानो प्वाल रहेको प्रहरीको भनाई छ । बाघको छाला, लु ५८ प ९७५५ नम्वरको मोटरसाईकलसहित पक्राउ परेका भट्टराईलाई सोमबार डिभिजन वन कार्यालय चन्द्रौटा पठाइएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।