सामुदायिक वन महासंघ रुपन्देहीद्वारा मन्त्री कलवारलाई सम्मान

मेचीकाली संवाददाता

१४ मंसिर २०८१, शुक्रबार
193 shares

बुटवल । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल रुपन्देहीले लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारलाई स्वागत तथा सम्मानसहित ज्ञापनपत्र बुझाएको छ ।

शुक्रबार बुटवल उपमहानगरपालिका–१२ तामनगरस्थित चारपाला सामुदायिक वनको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा सम्मान ग्रहण गर्दै मन्त्री कलवारले सामुदायिक वनमा देखिएका समस्याहरुलाई छलफल र वार्ताको माध्यमबाट समाधान गर्न प्रदेश सरकार तयार रहेको बताए । ‘वषौँदेखिका समस्या समाधानका लागि प्रदेश सरकार तयार छ, त्यसका लागि तपाईहरु छलफल र वार्ता गर्न तयार हुनुपर्छ ।’ उनले भने । विभिन्न कारणले लिलाम हुन नसक्दा वर्षौदेखि करडौंका काठ कुहिने अवस्थामा पुगेको भन्दै मन्त्री कलवारले अब प्रदेशभरिबाट तथ्यांक संकलन गरेर त्यसलाई बिक्रि गर्ने प्रकृया अघि बढाउने बताए ।

मन्त्री कलवारले सामुदायिक वनहरुले तिर्दै आएको करलाई समेत एकीकृत प्रणालीको माध्यमबाट अघि बढाउन आफूले पहल गर्ने बताए । प्रदेशको वन क्षेत्रको विकासका लागि आफूले १२ वटै जिल्लामा वनलाई कृषिसँग जोडेर कार्यक्रम अघि बढाउने उनले बताए । त्यसका लागि आफूले खेती योग्य जमिनका छेउछाउ र खाली रहेका सार्वजनिक जग्गामा तारबार गरी वृक्षारोपण कार्यक्रम अघि बढाउने बताए । वनलाई कृषिसँग जोडेर कार्यक्रम गर्दा स्थानीयको आर्थिक अवस्थामा सुधार हुनुका साथै पछिल्लो समय बढ्दै गएको जलवायु परिवर्तनको असरसमेत कम हुनेमा उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रविण विडारीले सामुदायिक वन देशकै समृद्धिसँग जोडिएको प्राकृतिक स्रोत भएकाले यसलाई उच्चतम प्रयोग गरी आर्थिक समृद्धिसँग जोडिनुपर्ने बताए । सामुदायिक वन उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्ष श्यामकला आचार्यले सामुदायिक वनले विभिन्न निकायमा कर बुझाउनुपर्दा खर्च व्यवस्थापन र सञ्चालन गर्न समस्या सिर्जना भएको बताइन् । वनको आम्दानीभन्दा खर्च बढी भएको उल्लेख गर्दै उनले वन ऐन संशोधन गरेर भएपनि सामुदायिक वनलाई कररहित बनाउनुपर्ने माग गरिन् । वर्षौदेखि बिक्री गर्न नपाउँदा करोडौंका काठ कुहिने अवस्थामा पुगेकाले तत्काल बिक्री गर्ने प्रकृया अघि बढाउनसमेत उनले आग्रह गरिन् । रुपन्देहीमा ११० वटा सामुदायिक वन रहेकामा ७५ प्रतिशत वन चुरे क्षेत्रमा रहेको उनले बताइन् ।

महासंघका केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज दिनानाथ आचार्यले वनका विभिन्न ऐन कानुनले समस्या सिर्जना गरेको बताए । सोही अवसरमा रुपन्देही अध्यक्ष श्यामकला आचार्यले कानुन सम्सोधन गरी सामुदायिक वनलाई कररहित बनाउनुपर्ने र अन्य विभिन्न मागसहित मन्त्री कलवारलाई ज्ञापनपत्र बुझाएकी थिइन् ।

कार्यक्रममा डिभिजन वन कार्यालय रुपन्देहीका वरिष्ठ वन अधिकृत दीपक केसी, महासंघ लुम्बिनी प्रदेश सचिव मधुकला कुँवर, चारपाला सामुदायिक वनका अध्यक्ष तथा सामुदायिक वन उपभोक्ता महासंघ बुटवलका नगर सचिव जगतनाथ शर्मा, महासंघका रुपन्देही जिल्ला कोषाध्यक्ष विनोद आचार्य, बुटवल–१२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्मा, जिल्लाका विभिन्न सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधिहरुलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन महासंघ रुपन्देही सचिव कमला ज्ञवालीले गरेकी थिइन् ।