ॐ नम: शिवाय सहकारीको स्थापना दिवसमा रक्तदान कार्यक्रम

मेचीकाली संवाददाता

१५ मंसिर २०८१, शनिबार
263 shares

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका–४ रुद्रपुरमा मुख्य कार्यालय रहेको ॐ नमः शिवाय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बिभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । सोही अवसरमा सहकारी र नेपाल नियमित रक्तदाता संघको संयुक्त आयोजनामा शनिबार बुटवलमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले रक्तदान गरी कार्यक्रमको उद्घाटन गरेका थिए । अस्पतालमा उपचारत बिरामीहरुलाई रगतको अभाव हुन नदिन सबै एकजुट हुनुपर्ने उनले बताए । रगतदान जिवन दान भएकोले यूवाहरुलाई रक्तदान गर्नका लागि प्रोत्साहित गर्न सरकारले बिशेष योजना बनाएर काम गर्नुपर्ने अध्यक्ष अर्यालले बताए ।

नेपाल नियमित रक्तदाता संघका केन्द्रिय अध्यक्ष दयाबहादुर सिलवालले २०६१ सालमा स्थापना भएको संस्थाले रक्तदानलाई निरन्तरता दिईरएको बताए । अझैंपनि यूवाहरुमा रक्तदान गर्दा कमजोर भईन्छ भन्ने गलत मानशिकता रहेको बताउँदै उनले यसलाई चिर्न आम नागरिकलाई रक्तदानको महत्वबारे बुझाउन र यूवालाई अभियानमा जोड्न आबश्यक रहेको बताए । हरेक स्वस्थ्य व्यक्तिले हरेक ३–३ महिनामा रक्तदान गर्न सक्ने अध्यक्ष सिलवालले बताए ।

सहकारीका अध्यक्ष भरथ गिरीले मानिसको जीवन बचाउने कार्यका लागि रगत अत्यावश्यक भएकोले संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको बताए । रक्तदानको मानवजीवनमा ठूलो महत्व रहेको उनको भनाई थियो । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताउँदै उनले रगत अभाव भएको अबस्थामा तत्काल सहकार्य गर्न तयार रहेको बताए ।

नियमित रक्तदाता संघका उपाध्यक्ष महेश खनालले बुटवलमा रगतको अभाव नहोस् भनेर संघले अभियान नै सञ्चालन गरेर रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको बताए । रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ५४ यूनिट रगत संकलन भएको सहकारीका सचिव सुरेश गिरीले जानकारी दिए ।

कार्यक्रममा नियमित रक्तदाता संघका प्रमुख सल्लाहकार बिमलबहादुर शाक्य, सल्लाहकार लेखनाथ न्यौपाने, सुरेन्द्रकुमार शाक्य, सहकारीका सल्लाहकार विष्णु पुरी, शान्ताराम गिरी, लेखा समिति संयोजक विश्वराज गिरी, शिक्षा समिति संयोजक ईश्वर गिरी (अंकित), व्यवस्थापक संगिता (गिरी) पुरी लगायतको उपस्थिति रहेको थियो । सहकारीले बुटवलमा सेवा केन्द्र स्थापना गरी सेवा प्रदान गर्दै आएको छ । नियमित रक्तदाता संघका महासचिव दिपक अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।