सम्बन्ध सहकारीको ५ औं साधारण सभा

मेचीकाली संवाददाता

१५ मंसिर २०८१, शनिबार
239 shares

बुटवल ।

बुटवल–११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ५ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष लोकराज शर्माको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष रामचन्द्र खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै अध्यक्ष खनालले सम्बन्ध सहकारीलाई उत्पादन केन्द्रित बन्न आग्रह गरे । देशको अर्थतन्त्रलाई गतिशिल र समृद्ध बनाउन सहकारीको महत्वपूर्ण भूमिका रहने खनालले धारणा राखे ।

कार्यक्रममा सहकारीका अध्यक्ष शर्माले कुनै सहकारीबाट मर्जरको प्रस्ताव आए संस्थाको ख्यातीलाई कायम गरी मर्जर प्रक्रियामा जान सकिने बताए । अध्यक्ष शर्माले सहकारीका शेयर सदस्य वृद्धि गरी अहिलेसम्म ७०९ पुगेको बताए । सहकारीलाई थप सुद्धढ र व्यवस्थित बनाउनको लागि सबैको योगदान र सहयोग आवश्यक रहेको अध्यक्ष शर्माले जोड दिए । बुटवल उपमहानगरपालिकामा दर्ता भएर सञ्चालनमा आउने बहुउद्देश्यीय सहकारीमा सम्बन्ध पहिलो हो । सम्बन्ध सहकारी बुटवल वडा नम्बर–११ को पहिलो बुहउद्देश्यीय सहकारी पनि हो । सहकारीको शेयर पूँजी ९६ लाख १८ हजार, नियमित बचत ३ करोड ८० लाख ७४ हजार ६८३, स्वेच्छिक बचत १९ लाख ९९ हजार २०३ र बाल बचत २ लाख २८ हजार ७१६ रहेको सहकारीका व्यवस्थापक विमला अधिकारीले जानकारी दिइन ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका सहकारी शाखा प्रमुख गुणाखर खनाल, बुटवल उपमहानगरपालिका कृषि शाखा प्रमुख सन्तोष जिसी, सहकारीका सल्लाहकार राजेन्द्र ढकाल, जनकल्याण सहकारीका अध्यक्ष सुरज भटटराई, दीपावली साकोसका अध्यक्ष चण्डी प्रसाद न्यौपाने, मालिका साकोसका अध्यक्ष कपिल आचार्य, शेयर सदस्यहरु जीबलाल बस्याल, राधिका पराजुली लगायतले बोलेका थिए ।

सो अवसरमा ७० वर्ष पुगेको जेष्ठ शेयर सदस्य टिकाबहादुर भाट, प्लस टु मा ३.६१ जीपीए भन्दा माथि ल्याउने शेयर सदस्यका छोराछोरीहरु सुगम श्रेष्ठ, सुप्रिया भटटराई, सुप्रियंका भटटराई, सन्दिप कार्की र रजत बेल्वासे र सहकारीका कार्यालय सहायक सरस्वती कुँवरलाई सम्मान गरिएको थियो । सहकारीका अध्यक्ष लोकराज शर्माको अध्यक्षता, उपाध्यक्ष विष्णु कुमारी घिमिरेको स्वागत तथा सचिव कमल नेपालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।