बुटवलमा मगर साहित्य महोत्सव हुँदै, तयारी अन्तिम चरणमा

मेचीकाली संवाददाता

१६ मंसिर २०८१, आईतवार
83 shares

बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा बुटवलमा प्रथम मगर साहित्य महोत्सव हुने भएको छ । नेपाल मगर महिला संघ रुपन्देहीले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी यही मंसिर २१ र २२ गते बुटवलको जीतगढी किल्लामा हुने महोत्वसको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ ।

महोत्वसको प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रचार समितिका संयोजक यम रानाले बताए । साथै उद्घाटन समारोहमा साहित्यकार प्राज्ञ बुद्ध रानामगर, नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुन मगर, नेपाल मगर महिलाका केन्द्रिय अध्यक्ष हिरुसरा राना मगर र बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयलगायतको सहभागिता रहनेछ ।

महोत्वसमा समुदायको भाषा, साहित्य, इतिहास र परम्परको संक्षणमा टेवा पुग्नेगरी आयोजना गरिने सम्मेलनमा कवितावाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, प्राचीन सामग्रीहरुको प्रदर्शन तथा विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरिनुका साथै प्यानल डिस्कसन हुने नेपाल महिला संघ रुपन्देही अध्यक्ष तथा मूल आयोजक समिति संयोजक निर्मला थापा मगरले बताइन् ।

महोसत्वमा विभिन्न ७ वटा प्यानल डिस्कशन, मगर कवितावाचन प्रतियोगिता तथा श्रष्टाहरुलाई सम्मान गरिने महोसत्व मूल आयोजक समितिका प्रवक्ता शंकर गाहाले जानकारी दिए । महोत्सवमा प्यानल डिस्कशनका लागि अभियन्ता तथा नेपाली वैज्ञानिक महाविर पुन मगर, चर्चित नायिका मिरुना मगर, वरिष्ठ पत्रकार जेबी पुन मगरलगायत प्रतिष्ठित व्यक्तिहरुसँग प्यानल डिस्कशन गरिने प्रवक्ता गाहाले जानकारी दिए ।
मगर समुदायको भाषा, साहित्य, इतिहास र परम्परको संक्षणमा टेवा पुग्नेगरी आयोजना गरिने सम्मेलनमा कवितावाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, प्राचीन सामग्रीहरुको प्रदर्शन तथा विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरिने छ । महोत्सवमा मगर समुदायले बोल्ने ढूट, खाम तथा काइके गरी ३ वटै भाषामा कवितावाचन प्रतियोगिता हुने महोत्सव मूल आयोजक समितिका प्रवक्ता शंकर गाहाले जानकारी दिए । उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयलाई क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद राशिले सम्मान गरिने छ । यसैगरी सान्त्वना हुने दुई जनालाई पनि नगद पुरस्कारको व्यवस्था गरिनुका साथै सम्पूर्ण सहभागीलाई प्रोत्साहनस्वरुप नगद राशिले सम्मान गरिने गाहाले जानकारी दिए ।

सम्मेलनमा आदि कवि जितबहादुर सिंजाली मगर साहित्य पुरस्कार र गोरेबहादुर खपाङ्गी मगर सामाजिक पुरस्कार स्थापना गरी सम्मान गरिने उनले बताए । सम्मेलन सम्पन्न गर्न २० लाख खर्च अनुमान गरिएको छ भने उक्त रकम दान दातव्य, मगर चलचित्र च्यारिटी शो, विदेशमा रहेका नेपालीहरुबाट सहयोग संकलन, क्यूआर कोडबाट न्यूनतम १० रुपैयाँ दान अभियान तथा स्थानीय सरकारसँग सहकार्य गरी संकलन गरिने बताए ।