गुल्मीमा खोरेत रोग मुक्त जिल्ला घोषणा अभियान सुरु

मेचीकाली संवाददाता

२६ मंसिर २०८१, बुधबार
104 shares

टोपलाल अर्याल

गुल्मी । गुल्मीमा खोरेत रोग मुक्त जिल्ला घोषणा अभियान सुरु भएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले अभियानका सन्दर्भका विषयमा सरोकारवालासंग अभिमुखीकरण गरेको छ । कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख द्रोर्णबहादुर खत्रीले उद्घाटन गरेका थिए ।

उनले अभियान सफलताको शुभकामना व्यक्त गर्दै काममा सबैको रचनात्मक भूमिकाको अपेक्षा गरे । उनले स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, पशु प्राविधिकहरुलाई खोरेत रोगको परिचय, वर्तमान अवस्था र रोकथामका विधिहरुको निषयमा खोरेत तथा सिमाविहीन पशु रोग नियन्त्रण प्रयोगशालाका प्रमुख डाक्टर कृष्णराज पाण्डेले सहजीकरण गरेका थिए ।

कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख हुमकान्त पाण्डेयले जिल्लाको अवस्थाको बारेमा जानकारी दिएका थिए । नेपालबाट दुग्ध र मासुजन्य पदार्थ तेस्रो मुलुकमा पठाउँदा रोग नभएको प्रमावित हुनपर्छ । यो कार्यक्रम तीनदेखि ७ बर्ष कार्यान्वय हुने पाण्डेयले बताए । लगातार तीन बर्ष खोरेत रोग आउटब्रेक हुनहुँदैन । यो रोग गत बर्ष गुल्मीदरवारका आउटब्रेक भएको थियो ।

अहिले अभियान गुल्मी र अर्घाखाँचीमा सञ्चालन हुनेछ । गुल्मीको पनि रुरु र सत्यवतिमा अभियान कार्यान्वयन गर्ने योजना रहेको केन्द्र प्रमुख पाण्डेयले बताए । अहिले जिल्लाबाट दैनिक १५ सय लिटर दुधको छुर्पी बाहिर जाने गरेको छ । पाण्डेयका अनुसार नेपालबाट निर्यात हुुने वस्तुहरुमध्ये तीन अर्बको दुग्धजन्य पदार्थ रहेको छ ।

कार्यक्रममा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डाक्टर प्रवेजसिंह कुँवर, प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख हुमकान्त पाण्डेयको अध्यक्षता तथा डाक्टर नवीना ढकालको संचालनमा सम्पन्न भएको थियो ।