पाँच दिनको सेवा सुविधा विपद् व्यवस्थापन कोषमा

मेचीकाली संवाददाता

१७ भाद्र २०७८, बिहीबार
308 shares

पार्बती आचार्य
कपिलवस्तु । बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा विभिन्न महत्वपूर्ण निर्णय गर्दै बैठक सम्पन्न भएको हो । बैठकले भदौ १० गते अविरल वर्षात हुँदा आएको बाढीले नगरपालिका भित्रका सम्पूर्ण वडाहरुमा भएको क्षतिको विवरणहरु वडा अध्यक्षले नगरपालिकालाई जानकारी गराउन निर्देशन दिएको छ ।

यस्तै राज्यबाट जनप्रतिनिधिले प्राप्त गर्ने ५ दिन बराबरको सेवा सुविधा र श्रेणी तहका कर्मचारीको ५ दिन तथा श्रेणी विहिन कर्मचारीले २ दिन बराबरको तलव नगरपलिकाको विपद व्यवस्थापन कोषमा राख्ने बैठकले निर्णय गरेको छ । ५ वर्षे आवधिक विकास निर्माण तयारीका लागी यही भदौ २५ र २६ गते विषयविज्ञ नेपाल सरकारका मुख्य सचिव शोमलाल सुवेदीलाई परिक्षकको रुपमा बोलाउने निर्णय गरेको छ । नगरपालिकाले वडाहरुमा सो विषयमा छलफल समेत गर्ने भएको छ ।

बैठकमा नदीजन्य पदार्थको चोरी निकासी रोक्नको लागी नाकाहरुमा कडाई गर्ने निर्णय गरेको छ । जसका लागी नगरपालिकाले टोल समितिलाई जिम्मेवारी दिने र प्रहरीलाई थप जिम्मेवारी निर्वाह गर्नका लागी आग्रह गर्ने भएको छ । बैठकमा नगरपालिकाका प्रमुख मंगलप्रसाद थारु, उपप्रमुख चक्रपाणी अर्याल, प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनाल, वडा अध्यक्षहरु, नगरपालिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।