क्रिकेटमा एशोसिएट मुलुकले देखाएको चमत्कार

जनकपुर बन्यो एनपिएल च्याम्पियन

मेचीकाली संवाददाता

६ पुष २०८१, शनिबार
127 shares

अमृत गिरी

बुटवल । नेपाल क्रिकेटमा एउटा एशोसिएट मुलक हो । जसले उत्कृष्ट र व्यवस्थित क्रिकेट प्रतियोगिता आयोजना गरेर विश्वको ध्यान आकर्षित गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को सफल आयोजना मार्फत नेपालले क्रिकेटमा अरु धेरै सम्भावना देखाएको छ ।

मुलुकमा पहिलो पटक आयोजना भएको एनपिएलमा जनकपुर बोल्ट्स च्याम्पियन बनेको छ । जनकपुरका ओपनर लाहिरू मिलन्थाले उत्कृष्ट ब्याटिङ गरेपछि जनकपुर बोल्ट्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को च्याम्पियन बनेको हो । सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिँदै जनकपुर च्याम्पियन बन्यो । उच्च रन लक्ष्यको (हाई स्कवरिङ) खेलमा लाहिरु मिलान्थाले ८७ रन बनाएपछि सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनपकुर पहिलो सिजनको एनपिएल च्याम्पियन बन्यो । जनकपुरको जितमा श्रीलंकन मूलका अमेरिकी विकेटकिपर ब्याटर लाहिरू मिलन्थाले उत्कृष्ट ब्याटिङ गरे । उनले ४९ बलमा ८७ रन जोडेपछि जनकपुरलाई जित निकाल्न सहज भएको थियो ।
एक समय दुई ओभर बाँकी छँदै जित निकाल्ने देखिएको जनकपुर अन्तिम ओभरसम्म तानिँदा केही बेर ढुकढुकी बढाएको थियो । विकेट भएपनि ओभर लगातार सकिँदा अन्तिमतिर जनकपुरको ढुकढुकी ह्वात्तै बढायो । अन्ततः चार बल बाँकी छँदा दुई रन लिंदै जित हासिल ग¥यो । १६ औं ओभरको तेस्रो बलमा सुदूरपश्चिमका स्कट कुगेलेइनको बलमा क्याच हुनुअघि उनले ९ चौका र ४ छक्का प्रहार गरे । ठूलो लक्ष्य भए पनि जनकपुरले उत्कृष्ट सुरूवात गर्न सफल भएको थियो । जनकपुरले ६ ओभरको पावरप्लेमा ७१ रन जोडेको थियो । यो नंै जनकपुरको जीतको आधार बन्यो । जनकपुरका कप्तान आसिफ शेख सातौं ओभरको अन्तिम बलमा ३३ रन बनाउँदा सइफ जइबको बलमा क्याच हुँदा जनकपुरले पहिलो विकेट गुमायो । १९ बलमा ४ चौका र २ छक्का प्रहार गरेका आसिफले पहिलो विकेटका लागि ओपनर लाहिरू मिलान्थासँग ७ ओभरमा ७३ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

रिक्वाएर रन रेट एक सयम झण्डै १२ को हाराहारीमा हुँदा जनकपुरका ओपनरले लगातार बाउण्ड्री हान्दै रनरेटमा सुधार मात्रै ल्याएन जितको सहज आधार तयार पारेका थिए । दशौं ओभरमा सय रन पूरा गरे लगत्तै जनकपुरले दोस्रो विकेट गुमायो । दशौं औभरको अन्तिम बलमा मोहमद मोहसिन ८ बलमा ९ रन जोडेर आउट भएका थिए । सुदूरपश्चिमका इशान पाण्डेबाट बोल्ड हुनुअघि उनले १ छक्का प्रहार गरेका थिए । मोहसिनले मिलन्थासँग दोस्रो विकेटका लागि ३३ रनको साझेदारी गरे । खेलको अन्तिमतिर जनकपुरका ब्याटरहरु एकछिन अलमलिए । जनकपुरको जितमा उत्कृष्ट ब्याटिङ गरेका मिलन्थाले तेस्रो विकेटका लागि हर्ष थाकरसँग ५९ रनको साझेदारी गरेका थिए । जनकपुरका जिमी निशम भने ४ रनमै सुदूरपश्चिमका कप्तान ऐरीबाट १७औं ओभरमा बोल्ड भएका थिए । जितका लागि ३ रन चाहिएको बेला आकाश त्रिपाठीलाई १९औं ओभरको चौथो बलमा ऐरीले रनआउट गरे । १९औं ओभरमा जइबले २ रन मात्र खर्चिए ।

सुपको चुचेको फिल्डिङ
सुदुरपश्चिम (सुप) ले जनकपुरलाई हाइ रन स्कोरको लक्ष्य दिएपनि बचाउन सकेन । यसमा सुपको फिल्डिङमा पनि केही समस्या देखियो । मिलन्थाले १२औं ओभरको पहिलो बलमा जीवनदान पाएका थिए । ६५ रन बनाएर खेलिरहेको बेला उनको क्याच लिन सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी चुकेका थिए । दीपेन्द्रको बलमा मिलन्थाको प्रहार आकासिएको थियो । जसमा दीपेन्द्र क्याच लिन असफल भए । क्याच ड्रप भए लगत्तैको बलमा हर्ष थाकरले दीपेन्द्रलाई छक्का प्रहार गरेका थिए ।

अन्तिमतिर बढाएको ढुकढुकी
अन्तिम ओभरमा जनकपुरलाई जितका लागि ३ रन चाहिएको थियो । पहिलो बलमा जनकपुरका हर्ष थाकरले सुदूरपश्चिमका नरेन साउद बलमा एक रन लिए । यहीँ समय जनकपुरको ढुकढुकी बढेको हो । दोस्रो बलमा मयन यादवले दुई रन लिएपछि जनकपुर च्याम्पियन बन्यो । थाकरले २४ बलमा नटआउट ३० रन जोडे । बलिङमा सुदूरपश्चिमका कुगेलेइन, ऐरी, पाण्डे र जइबले एक एक विकेट लिए ।

हाइस्कोरको लक्ष्य बचाउन नसकेको सुप
टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ओपनर सबफ जइबको अर्धशतकको मद्दतमा ९ विकेटको क्षतिमा १८४ रन जोड्यो । जइबले ६९ रनको योगदान गरे। उनले ४३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । एक समय सुपले दुई सय रनभन्दा धेरै बनाउने आँकलन गरिएको थियो । तर, पछि सुपका ब्याटरहरु अलमलिए ।
जइबले ६४ रन बनाएर खेलिरहदा १२औं ओभरको दोस्रो बलमा जीवनदान पाए । जनकपुरका किशोर महतोको बलमा शेर मल्लले क्याच लिन खोज्दा हातबाट बल छुटेको थियो । दुई बलपछि पनि उनलाई क्याच गराउने अवसर थियो । तर अन्तिम बलमा उनी ललित राजवंशीको हातबाट समातिए । जबइले पहिलो विकेटका लागि विनोद भण्डारीसँग १२ ओभरमा ११७ रनको उत्कृष्ट साझेदारी गरेपछि सुदूरपश्चिमले उत्कृष्ट सुरूवात गरेको थियो ।

अर्को ओभरको दोस्रो बलमा ललितले सुदूरपश्चिमका अर्का ओपनर भण्डारीलाई बोल्ड गरे। आउट हुनुअघि भण्डारीले ३१ बलमा १ चौका र ३ छक्काको मद्दतमा ४१ रन जोडे । ३ बलको बीचमा सुदूरपश्चिमका दुवै ओपनरलाई आउट गरेपछि जनकपुरलाई केही राहत मिलेको थियो । १५औं ओभरको अन्तिम बलमा सुदूरपश्चिमले तेस्रो विकेट गुमायो । जनकपुरका मोहमद मोहसिनले हर्मित सिंहलाई १४ रनमा आउट गरे । जनकपुरका सब्सिच्युट फिल्डर हेमन्त धामीले उत्कृष्ट क्याच लिएका थिए । यसपछि सुपको आक्रामक ब्याटिङ धिमा बन्यो ।

१६औं ओभरको अन्तिम बलमा ब्रान्डन माक्मलेन पनि १४ रनमा आउट भए । उनलाई जनकपुरका जिमी निशमले बोल्ड गरेका थिए । स्कटिस अलराउन्डर माक्मलेनले १२ बलमा १ छक्का प्रहार गर्न सके । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ९ रन जोड्न सके । उनी १९औं ओभरको पहिलो बलमा मोहमद मोहसिनको बलमा हेमन्त धामीबाट बाउन्ड्री लाइनमा क्याच भएका थिए । यो ओभरको पाँचौ बलमा सुदूरपश्चिमले अर्को विकेट गुमायो । आरिफ शेख पनि छक्का प्रहार गर्ने चक्करमा १ रनमा ललितबाट बाउन्ड्रीमा समातिए ।

अन्तिम ओभरको पहिलो बलमा सुदूरपश्चिमका स्कट कुगेलेइनलाई किशोर महतोले बोल्ड गरिदिए । उनले १० बलमा २ चौका प्रहार गर्दै १३ रन जोडे। यस्तै चौथो बलमा नरेश बुढाएर पनि ३ बलमा ८ रन जोडेर आउट भए । अन्तिम बलमा इशान पाण्डे तीन रन लिने क्रममा ६ रनमा रनआउट भए ।
सुदूरपश्चिमले पछिल्लो पाँच ओभरमा ६ विकेट गुमाउँदा ४१ रन मात्र जोडेको थियो । उसले पहिलो दश ओभरमा विनाविकेटको क्षतिमा ९७ रन जोडेको थियो । तर, पछि लडखडायो । बलिङमा जनकपुरका मोहसिन र किशोरले ३–३ विकेट लिए । मोहसिनले ४ ओभरमा ४० रन खर्चिदा किशोरले ३ ओभरमा २५ रन दिए । जिमी निशम र ललित राजवंशीले १–१ विकेट आफ्नो नाममा लेखाए ।

सर्वोत्कृष्ट नेपाली खेलाडी बने दीपेन्द्र, पाए कार
नेपाल प्रिमियर लिग (एनपीएल)को सर्वोत्कृष्ट नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरी घोषित भएका छन् । उनले ओमोडा इभी कार पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै सिद्दार्थ बैंक प्लेयर अफ दि टुर्नामेण्ट सुदूरपश्चिमका सेफ अली जैब पाए । उनले ५ लाख रूपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट बलर ललित राजवंशी बने उनले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् । उदीयमान खेलाडी कर्णाली याक्सका विपिन प्रसाद शर्माले पाए । उनले ५० हजार नगद र एक लाख बराबरको छात्रवृत्ति पाएका छन् । त्यस्तै इनर्जेटिक प्लेयर अफ द टुर्नामेण्ट जनकपुरका जिमी नीशमले पाए । उनले २ लाख रूपैयाँ प्राप्त गरेका छन् । म्याक्सिमम चौका अवार्ड लाहिरु मिलान्थाले पाएका छन् ।

शीर्ष चार टोलीले पाए पुरस्कार, लुम्बिनीलाई फेयर प्ले अवाड
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेसँगै जनकपुर बोल्ट्सले १ करोड १० लाख पुरस्कार जितेको छ । फाइनलमा पराजित भएर उपविजेता बनेपछि सुदूरपश्चिमले ५१ लाख रूपैयाँमा चित्त बुझाएको छ । दोस्रो क्वालिफायरमा पराजित भएको कर्णाली याक्सले तेस्रो हुँदै २५ लाख पाएको छ । यस्तै, इलिमिनेटरको खेलमा पराजित भएको चितवन राइनोजले १५ लाख पुरस्कार प्राप्त गर्न सफल भएको छ । । ‘फेयर प्ले अवार्ड’ भने लुम्बिनी लायन्स टिमले प्राप्त गरेको छ । लुम्बिनी लायन्स समूह चरणबाटै बाहिरिएको थियो । लुम्बिनीका कप्तान रोहित पौडेल एक्लैले भने उत्कृष्ट प्रदर्शन गरेका थिए । फाइलन हेर्न पुगेका दुई पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड पदक र पुरस्कार वितरण समारोहमा संगै देखिए ।

एशोसिएट मुलुकले देखाएको चमत्कारः नेपाल प्रिमियर लिग
नेपाल प्रिमियर लिग (एनपीएल) को सफल आयोजनाले नेपाली क्रिकेटको विकास र विश्वस्तरमा स्थापित हुनसक्ने सम्भावनाका ढोका खोलेको छ । एशोसिएट राष्ट्रका रूपमा नेपालले क्रिकेटमा देखाएको चमत्कारले अन्तर्राष्ट्रिय स्तरमा ध्यान आकर्षित गरेको छ । एनपीएलले नेपाललाई क्रिकेटको नयाँ उचाइमा पु¥याउने आधारशिला तयार गरेको छ । अब नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा नियमित रूपमा उत्कृष्ट प्रदर्शन गर्न सकेमा, विश्व क्रिकेटको प्रमुख शक्तिका रूपमा स्थापित हुने सम्भावना छ ।

एनपीएलको सफलताले नेपाली क्रिकेटको व्यवस्थापन, प्रतिभा विकास र खेलाडीहरूको व्यवसायिक स्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको छ । लिगमा कतिपय दिग्गज विदेशी खेलाडीहरूको सहभागीता, उपस्थिति र अन्तर्राष्ट्रिय स्तरका खेलहरू आयोजना गर्नुले नेपालको क्रिकेट संरचनामा ठूलो योगदान पु¥याएको छ ।
नेपालले सन् २०१८ मा पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त गरेको थियो । नेपालले टी–२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आईसीसीको ¥याङ्किङमा शीर्ष १५ भित्र स्थान बनाउन सफल भएको छ । एनपीएलले स्थानीय अर्थतन्त्रमा योगदान पु¥याउँदै प्रायोजक, पर्यटन र युवा रोजगारीका अवसरहरू सिर्जना गरेको छ । खेलकुदमार्फत समृद्धि पनि हासिल गर्न सकिन्छ भन्ने सम्भावनालाई यसले अझ बलियो बनाएको छ ।

एनपीएलले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य बनाउनुका साथै स्थानीय खेलाडीहरूलाई विदेशमा पनि खेल्ने अवसर दिएको छ । लिगले युवाहरूलाई खेलकुदमा करियर बनाउने प्रेरणा दिएको छ । साथै, विदेशी खेलाडी र प्रशिक्षकको उपस्थितिले नेपाली क्रिकेटको स्तर सुधार्न मद्दत गरेको छ ।

खेलपूर्वाधारको विकास गर, लगानी बढाउ
नेपालमा अझै खेल पूर्वाधार, प्राविधिक व्यवस्थापन र स्थिर आर्थिक स्रोतको अभाव छ । एउटा मात्र अन्तर्राष्ट्रिय स्तरको मैदान पनि ब्यवस्थित छैन । क्रिकेट हेर्न दर्शकहरु रुखमा, सिमेन्टका पिल्लरमा एकदमै जोखिमपूर्ण तरिकाले झुम्मिए । मैदानमा दर्शक नहट्ने भएपछि धेरै दर्शकहरु बाहिरै रहे । हजारौं दर्शकले टिकट नै पाएनन् । यस्ता धेरै चुनौतिहरु छन जसले सरकारलाई घचघचाईरहेका छन् । एनपीएलको सफल आयोजनालाई स्थायित्व दिन खेल मैदानहरूको विकास, प्रशिक्षकहरूको स्तरीयता र संघीय संरचनामा पारदर्शिता आवश्यक छ ।