बाढीपिडीत १३ परिवारलाई जस्तापाता र राहत हस्तान्तरण

मेचीकाली संवाददाता

१८ भाद्र २०७८, शुक्रबार
376 shares

पार्बती आचार्य
कपिलवस्तु । एक साताअघि अबिरल वर्षापछि आएको बाढीले बगाउदा घरबार बिहीन भएका १३ घर परिवारलाई जस्तापाता र राहत सामग्री हस्तान्तरणा गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ११ बनगाईस्थीत सकुम्बासी बस्तीका १३ पीडीत परिवारलाई टीनको जस्तापाता सहीत राहत सामग्री प्रदान गरिएको हो । बाढीले छाप्रोको घर बगाउँदा ती १३ घर मध्ये १० परिवार घरबारबिहीन बनेका थिए ।

एक सातादेखि खुला आकाशमा बस्दै आएका परिवारलाई मेयर किरण सिंहको निर्देशनमा उपमेयर लक्ष्मी गुप्ता सावले पीडीत परिवारलाई जस्तापाता र खाद्यान्न हस्तान्तरण गरेकी हुन् । १० पीडीत परिवारलाई घर जग्गाको नापका आधारमा कुल २ सय ६३ वटा जस्ता पाता बाडिएको उप मेयर गुप्ताले बताईन । यस्तै १३ पविरालाई प्रति परिवार ५० किलो चामल, ३ किलो दाल, १ किलो नुन, ५ किलो आलु उपलब्ध गराइएको छ ।

उपमेयर गुप्ताले पीडीत परिवारलाई नगरपालिकाले मल्हम लगाउने काम गरेको बताईन । ‘नगरपालिका पीडीत परिवारको साथमा छ’ उनले भनिन । घर बनाउनकालागि आवश्यक फलामको खावाँ लगायतका आवश्यक सामाग्रीहरु उपलब्ध गराईने उनले बताईन ।

वर्षौदेखि झुपडीमा बस्दै आएका पीडीत बावुराम दमाईले दुःखमा नगरपालिकाले सहयोग गरेकोमा धन्यबाद दिए । पानीले घर सहीत खाद्यान्न अन्नपात लगायत सबै सामान नोक्सान हुँँदा आफुहरुको जीवन कष्टकर बेनेको उनले बताए । जस्तापाता सहीत राहत पाएपछि पीडीत परिवार खुशी भएका छन् ।