सैनामैना नमुना माविको ५१ औं वार्षिकोत्सव सुरु

मेचीकाली संवाददाता

४ फाल्गुन २०८१, आईतवार
852 shares

-साताव्यापी विभिन्न कार्यक्रम गरिँदै
-पढ्दै, सिक्दै र कमाउँदैको नयाँ कार्यक्रम चलाइने

सैनामैना । सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले ५१ औं वार्षिकोत्सबलाई साताव्यापी अतिरिक्त क्रियाकलाप गर्दै भव्य रुपमा मनाउने भएको छ ।
रुपन्देहीको अब्बल मध्येको सैनामैनाको उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा रहेको यस विद्यालय ५१ वर्षअघि २०३१ सालमा स्थापना भएको थियो । सेक्टर वान र टू गरि दुई स्थानमा कक्षा सञ्चालनमा छन् । आइतबार एक समारोहबीच विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवलाल बस्याल र प्रधानाध्यापक नेत्रलाल पुरीले वार्षिकोत्सवका साताव्यापी कार्यक्रमको उद्घाटन गर्नुभयो । विद्यालयमा रहेका करिब २७०० विद्यार्थीलाई कक्षागत प्रतियोगितामा विभिन्न विद्यामा प्रतिस्पर्धा गराइने प्रधानाध्यापक पुरीले बताउनुभयो ।

अतिरिक्त क्रियाकलापको समन्वयका लागि शिक्षक टीकाराम सुवेदीलाई जिम्मेवारी दिइएको छ । रिङ र फिल्डका विभिन्न खेलहरु खेलाइनेछ । एथलेटिक्सतर्फका खेलहरू, फुटबल, भलिवल, क्रिकेट, बास्केटबलमा उमेर समूह अनुसार प्रतिस्पर्धा गराइने अतिरिक्त क्रियाकलाप प्रमुख सुवेदीले जानकारी दिनुभयो । यस्तै सांस्कृतिक कार्यक्रमहरुमा भजन, लोकनृत्यमा पनि प्रतिस्पर्धा गराइनेछ ।

यसपटक नयाँ कार्यक्रम अन्तर्गत विद्यालयले पञ्चेबाजा बजाउने तालिम पनि दिने भएको छ ।
यो तालिम कक्षा ७(१२ का विद्यार्थीलाई दिइने र तालिम पछि व्यवहारिक रुपमा प्रयोगमा ल्याउन पनि मद्दत गरिने प्रअ पुरीले बताउनुभयो । पञ्चेबाजाको तालिम लिएका विद्यार्थीलाई विद्यालयले बाजा समेत उपलब्ध गराउनेछ । ती विद्यार्थीले विद्यालय समयका अतिरिक्त व्यवसायिक रुपमा बाजा बजाउन जान सक्छन् ।

पढ्दै सिक्दै र कमाउँदैको नौलो कार्यक्रम सुरु गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष बस्यालले बताउनुभयो । विद्यार्थीको प्रतिभा र क्षमतालाई मध्यनजर गर्दै विषयगत तालिम सञ्चालन गरिने प्रधानाध्यापक पुरीको भनाइ छ ।