साइन रेसुङ्गा बैंक १७औं वर्षमाः लगानीका लागि कृषि र उत्पादनशील क्षेत्र प्राथमिकतामा

मेचीकाली संवाददाता

११ फाल्गुन २०८१, आईतवार
12 shares

बुटवल । आर्थिक सबलीकरणसँगै वित्तीय साक्षरताको अभियानसमेत सँगसँगै चलाइरहेको यहाँको राष्ट्रियस्तरको बैंक साइन रेसुङ्गा बैंकले १७ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । ६ करोड लगानीबाट लुम्बिनीका तीन जिल्लालाई कार्यक्षेत्र बनाएर स्थापना भएको शाइन बैंक १७ वर्षमा ८ अर्बको पुँजी कोषसहितको राष्ट्रियस्तरको बैंक बनेको छोटो समयमै उत्पादनमूलक क्षेत्रलाई प्राथमकितामा राखेर लगानी गरेको छ । बैंकले आइतबार एक समारोहका बीच आफ्नो १७ औं वार्षिकोत्सव दिवस मनाएको हो । वार्षिकोत्सवका अवसरमा विभिन्न सामाजिक गतिविधिसमेत आयोजना गरिएको बैंकले जनाएको छ ।

साविकको लुम्बिनी र राप्ती अञ्चलका पाँचवटा बैंकको सफल एकीकरणबाट बनेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक अहिले लुम्बिनी प्रदेशलाई केन्द्र बनाएर राष्ट्रियस्तरको पहिचान बनाउन सफल भएको बैंक हो । पाँच प्रदेशका २० जिल्लामा ८८ शाखा कार्यालयमध्ये लुम्बिनी प्रदेशका १० जिल्लामा मात्रै ७२ वटा शाखा कार्यालय र एउटा एक्स्टेन्सन कार्यालय सञ्चालन गरेको बैंकले लुम्बिनी प्रदेशमा आफूलाई अग्रणी सावित गरेको छ ।
आइतबार मणिग्राम ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा वार्षिकोत्सवको मूल समारोहको आयोजना गरिएको थियो । सोही कार्यक्रममा बैंकले ग्रामीण क्षेत्रमा शाखा विस्तारसँगै ग्रामीण अर्थतन्त्र बलियो बनाउन कृषि, उद्यम जस्ता उत्पादनशील क्षेत्रमा मागअनुसार कर्जा लगानी गरेको र सहज बैंकिङ सेवा दिइएको विवरण सार्वजनिक गरिएको थियो । बैंकका तर्फबाट अध्यक्ष थानेश्वर पौडेलले बैंकको प्रगति प्रतिवेदनसहितको विवरण प्रस्तुत गरेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले नेपाल राष्ट्र बैंकको मार्गदर्शनअन्तर्गत रही लुम्बिनी प्रदेशलाई मुख्य आधार÷केन्द्र बनाई शाखा विस्तार गर्दै समाजका सबै वर्ग, समुदाय र पक्षसँग जोडिएर देशकै अग्रणी विकास बैंक बन्ने लक्ष्यमा रहेको बताए ।
‘सफल मर्जरपछि मोफसलमा केन्द्रीय कार्यालय राखेर पनि राष्ट्रियस्तरको विकास बैंकका रुपमा लिड गर्न सकिन्छ भन्ने पुष्टी गरेका छौं, त्यसैले पनि सबैको साथ र माया पाएका छौं, इथिकल बैंकिङ, संस्थागत सुशासन, प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली र प्रुडेन्ट बैंकिङ्गमा हामी पूर्णरुपमा प्रतिबद्ध छौं,’ सिइओ पौडेलको भनाइ छ । ‘मोफसलमा रहेर पनि ठूला वाणिज्य बैंकसरह उत्कृष्ट सेवा दिएर ग्राहकलाई सन्तुष्ट बनाएका छौं, त्यसैले दुईदुई पटक बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड जित्यौं यो नै हाम्रो बलियो पक्ष हो’, सिइओ पौडेलले भने ।

बुटवल कालिकानगरमा आफ्नै सुविधासम्पन्न भवनमा प्रधान कार्यालय रहेको बैंकका बागमती प्रदेशको काठमाडौंमा ६, ललितपुर, भक्तपुर र चितवनमा एकएक वटा, गण्डकीको पोखरा, बुुर्तिबाङ र नवलपुरमा एकएक शाखा सञ्चालनमा छन् । यस्तै सुदूरपश्चिम प्रदेशको कैलालीमा दुई तथा कञ्चनपुरमा एक र कर्णालीको सुर्खेतमा एउटा शाखा रहेको बैंकको १८ स्थानमा एटिएम सञ्चालनमा छन् । बैंकका ७ लाख ३५ हजारभन्दा बढी ग्राहक छन् । बैंकले २०७६ मंसिर १० गते राष्ट्रियस्तरको विकास बैंकको इजाजतपत्रप्राप्त गरेको थियो ।

यस्तो छ वित्तीय अवस्था
बैंकको अधिकृत पुँजी ८ अर्ब पुगेको छ भने जारी पुँजी ४ अर्ब ८७ करोड र चुक्ता पुँजी पनि ४ अर्ब ८७ करोड छ । देशभरका डेढ दर्जन विकास बैंकहरुमा शाइन रेसुङ्गाले आफूलाई टप थ्रीमा उभ्याउन सफल भएको दाबी गरेको छ । २०८१ पुस मसान्तको अपरिष्कृत वित्तीय विवरणअनुसार निक्षेप संकलन रु.६९ अर्ब ७२ करोड बचत निक्षेप ३६.९३ प्रतिशत, मुद्दती निक्षेप ५६.७४ प्रतिशत, कुल चल्ती तथा अन्य ६.३३ प्रतिशत रहेको छ ।

कर्जा लगानीतर्फ रु.५७ अर्ब ४९ करोड रहेको छ । जसमा व्यापार कर्जा १८.९१ प्रतिशत, कृषि कर्जा ५.९१ प्रतिशत, आवास निर्माण कर्जा ३.८२ प्रतिशत, विपन्न बर्ग कर्जा ५.८९ प्रतिशत, जग्गा खरिद कर्जा ४.९५ प्रतिशत, होटल तथा पर्यटन कर्जा १६.८५ प्रतिशत, उद्योग कर्जा १४.२१ प्रतिशत, उपभोग्य कर्जा २०.३५ प्रतिशत, हायरपर्चेज कर्जा १.४८ प्रतिशत रहेको छ भने अस्पताल, शिक्षा आदीमा ६.५५ प्रतिशत र अन्य कर्जा १.०८ प्रतिशत रहेको बैंकले जनाएको छ ।

२०६५ फागुन ११ गतेदेखि बुटवलमा केन्द्रीय कार्यालय राखेर कारोबार सुरु गरेको शाइन डेभलपमेन्ट बैंक र गुल्मीको रेसुङ्गा विकास बैंकबिच २०६९ चैत ४ मा मर्जर भई शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बनेको थियो । त्यसपछि २०७३ जेठ २९ मा प्यूठानको गौमुखी विकास बैंक लिमिटेडसँग मर्जर भयो भने २०७६ असोज २७ गते भैरहवाको पूर्णिमा विकास बैंक र नेपालगञ्जको भार्गव विकास बैंकलाई प्राप्ती गरेको थियो ।

आर्थिक पत्रकारिता पुरस्कार प्रदान
यसैबिच ‘शाइन आर्थिक पत्रकारिता पुरस्कार–२०८१’ बाट बुटवलका पत्रकार दामोदर खनाल पुरस्कृत भएका छन् । वित्तीय साक्षरता तथा आर्थिक क्षेत्रमा निरन्तर कलम चलाउँदै आएको भन्दै बैंकले सम्मान गर्दै उक्त पुरस्कारबाट पुरस्कृत गरेको बैंकले जनाएको छ । पुरस्कारक लागि बैंकले पत्रकार महासंघसंग सहकार्य गर्दै आएको छ ।

यसपटकको पुरस्कार बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा खनाललाई नगद ५० हजार १११ रुपैयाँसहित पुरस्कृत तथा सम्मान गरेको हो । त्यस्तै सोही अवसरमा बर्दियाको कतरनिया शाखा, गुल्मीको खैरेनी शाखा, प्युठानको विजुवार शाखा, रुपन्देहीको योगिकुटी र सूर्यपुरा शाखालाई उत्कृष्ट शाखाको रुपमा सम्मान गरिएको छ ।