

अमृत गिरी
बुटवल । एसिया स्तरका राजमार्ग, राष्ट्रिय गौरवका महत्वपूर्ण आयोजना, रणनीतिक सडक सञ्जाल र आधुनिक डिजाइनका पुल पुलेसा बनाउनेमध्येका केही महत्वपूर्ण कार्यालयमा प्रमुखका रुपमा इन्जिनियर महिला छन् । जसले सफल र उदाहरणीय नेतृत्व गरिरहेका छन् र आयोजनाको प्रभावकारी कार्यान्वयन गरिरहेका छन् । आज मार्च ८ का अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा तिनै केही उदाहरणीय दक्ष जनशक्ति तथा इन्जिनियर महिला अगुवाकाबारेमा संक्षिप्त सामग्री यहाँ प्रस्तुत गरिएको छ ।
नेपाली महिला इन्जिनियरहरूले विकास निर्माणमा देखाएको लगनशीलता सहितको सफल नेतृत्व, कठिनाइको सामना गर्ने क्षमता, समस्या समाधानका उपाय, समन्वयात्मक भूमिका साथै नवीन प्रविधिको प्रयोगमार्फत राष्ट्रको समृद्धिमा उल्लेखनीय योगदान पु¥याइरहेका छन् ।
पूर्वाधार विकासमा नेतृत्वदायी भूमिका
नेपालका एसिया स्तरका राजमार्ग, राष्ट्रिय गौरवका आयोजना तथा रणनीतिक सडकहरूको विकासमा महिला इन्जिनियरहरूले उदाहरणीय नेतृत्व गरिरहेका छन् । स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय बुटवलकी प्रमुख सहसचिव इन्जिनियर निशा रिजाल, राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर आयोजना (गैंडाकोट–राम्दी–माल्ढुंगा) की प्रमुख इन्जिनियर कल्पना अधिकारी, बुटवल–गोरुसिंगे रणनीतिक सडक आयोजनाकी प्रमुख इन्जिनियर कुशलता न्यौपाने र बुटवल–नारायणगढ ‘रणनीतिक एक्सप्रेस–वे’सडक विस्तार आयोजनाकी प्रमुख इन्जिनियर अनुक्षा घिमिरे जस्ता प्रतिभाशाली महिलाहरूले देशको भौतिक पूर्वाधार विकासलाई नयाँ उचाइमा पु¥याइरहेका छन् । चुनौतिपूर्ण परियोजनाहरूको सफल कार्यान्वयन गर्दै यी इन्जिनियरहरूले नेपालमा महिला नेतृत्वको शक्ति र दक्षता कलिलै उमेरमा प्रमाणित गरेका छन् ।

सहभागितासँगै अब्बल नेतृत्व
आजभोलि विभिन्न क्षेत्रमा महिला जनशक्तिको उपस्थिति बाक्लो हुँदै गइरहेको छ । तर, महत्वपूर्ण ‘प्रोजेक्ट’को नेतृत्व र सफल कार्यान्वयन गर्ने तहमा पुगेका महिलाको संख्या भने कम छ । घर गृहस्थी, सामाजिक परिपाटी र एक प्रकारको रुढी बन्धन साथै सीमित साधनस्रोतलाई अवसरका रुपमा लिएर तरक्की गरिरहेका जनशक्ति त झनै कम छन् । तीनै कम मध्येका ‘आइकोन’ केही इन्जिनियर महिलामा पर्छन् इन्जिनियरहरु निशा, कल्पना, कुशलता र अनुक्षा । उनीहरुले नेतृत्व गरिरहेका पूर्वाधार विकासका आयोजनाहरु मुलुकको मुहार फेर्ने आयोजनामध्येका प्रमुख हुन् र अहिले सफल रुपमा कार्यान्वयन भइरहेका छन् । यी आयोजनाहरुको सफल कार्यान्वयनले भौतिक पूर्वाधारको क्षेत्रमा मुलुकको कायापलटमा महत्वपूर्ण आयाम थप्ने निश्चित छ ।

प्राविधिक सहसचिव (सुई) निशा रिजाल
प्रमुख, स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, बुटवल
संघीय सरकारलाई लुम्बिनी प्रदेशका १२ जिल्लाका सबै एक सय ९ वटै पालिका र प्रदेश सरकारसँग जोड्ने संघ मातहतको महत्वपूर्ण कार्यालयका रुपमा रहेको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सक्रिय छ । बुटवलमा रहेको यो कार्यालयको प्रमुखमा सहसचिव इन्जिनियर निशा रिजाल छन् । रिजालको नेतृत्वमा यो कार्यालयले लुम्बिनी प्रदेशका १२ जिल्लाको सडक, सडक पुल र झोलुंगे पुलका आयोजनाहरु अगाडि बढाइरहेको छ । चालू आवमा मात्रै तीन अर्बभन्दा धेरैका आयोजना चलिरहेका छन् ।
विसं.२०६४ सालमा पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखराबाट इन्जिनियरिङ पास गरेकी निशाले केही समय विभिन्न संस्थामा प्राविधिकका रुपमा काम गर्र्दै अनुभव हासिल गरिन् । २०६७ भदौमा नेपाल खानेपानी संस्थानमा इन्जिनियरका रुपमा काम गर्दैगर्दा एक वर्षपछि २०६८ मा निजामति सेवामा प्रवेश गरिन् । राष्ट्रिय सतर्कता केन्द्रको प्राविधिक महाशाखा, विद्युत् विकास विभागमा पनि महत्वपूर्ण जिम्मेवारी सम्हालेको अनुभव छ । २०७३ मा उपसचिव र २०७९ मा प्राविधिक सहसचिव (सुइ) मा बढुवा भई विभिन्न आयोजनाको नेतृत्व गरिरहेकी छन् । यो पदमा रहेका इन्जिनियर महिलामध्ये लुम्बिनी प्रदेशमा उनीमात्रै हुन् ।
‘प्राबिधिक कर्मचारीको कार्यालय समय भन्ने हुदैन बिहान, साँझ बिदामा पनि साइट (कार्यस्थलमा) खटिनुपर्ने हुन्छ । घर कार्यालय काम सबैको सन्तुलन मिलाउने भनेको एउटा चुनौति नै हो । आजसम्म त्यो सबैको सामना गर्दै आइएको छ ।’ सहसचिव रिजालको भनाइ छ । कहिले काहि महिला भएकै कारणले काममा अविस्वाशको पनि सामना गर्नुपरेको उनका अनुभवहरु छन । उनी आफै थप्छिन्–तर अहिले विस्तारै समाज बदलिँदो छ र अवस्था पहिला जस्तो छैन । सुधार भैराखेको छ हाम्रो भूमिकामा गर्व गर्ने समय आइसकेको छ ।

इन्जिनियर कल्पना अधिकारी
प्रमुख, कालीगण्डकी करिडोर (गैंडाकोट–राम्दी–मालढुंगा खण्ड)
नेपालले दुई छिमेकी मुलुक भारत र चीनलाई जोड्दै कालीगण्डकी करिडोरका रुपमा त्रिदेशीय सडक निर्माण गरिरहेको छ । राष्ट्रिय गौरवको यो आयोजनाको महत्वपूर्ण खण्डको सफल नेतृत्व गरिरहेकी इन्जिनियर कल्पना अधिकारी एक ‘आइकोन इन्जिनियर’ मध्येकी हुन् । विगत १४ वर्षदेखि सडक विभागका विभिन्न क्षेत्रमा इन्जिनियरको काम गरिरहेकी कल्पनालाई इमानदार र सक्षम राष्ट्रसेवक इन्जिनियरका रुपमा सेवाग्राहीको सिफारिसमा हालै महत्वपूर्ण अवार्डसमेत प्राप्त भएको थियो । दुर्गममा मात्रै होइन कठिनका र अली धेरै चुनौतिहरु भएका आयोजनामा पनि महिलाले सफल नेतृत्व गर्नसक्छन् भन्ने उदाहरणका रुपमा कल्पनालाई नै लिइन्छ ।
इन्जिनियर कल्पनाको नेतृत्वमा कालीगण्डकी करिडोरको गैँडाकोट–राम्दी–मालढुंगा खण्डको विकासले तीव्रता पाइरहेको छ । दुर्गम क्षेत्रका सडकलाई मापदण्डअनुसार निर्माण गर्दै, यातायात सहज बनाउन उनले महत्वपूर्ण योगदान पु¥याएकी छन् ।
उनी इन्जिनियर एशोसिएशनको महिला वेलफेयर विभागको प्रमुखसमेत हुन् । उनले महिला शसक्तिकरणका क्षेत्रमा, सामाजिक उत्तरदायित्वका क्षेत्रमा र खासगरी किशोरी लक्षित सफलताका प्रेरक प्रशंगका क्षेत्रमा समेत काम गर्दै आएकी छन् ।
पाल्पाको माथागढीमा जन्मिएकी कल्पनाले २०६४ मा पुलचोक इन्जिनियरिङ क्याम्पसबाट इन्जिनियर पास गरेकी थिइन् । ०६८ मा सोही विषयमा मास्टर्स पास गरिन् र सोही वर्ष निजामति सेवामा प्रवेश गरिन् । सुरुमै उनी सडक विभागमा काम गर्न पुगिन् । त्यसपछि सडक सुधार तथा विस्तार आयोजनाअन्तर्गतको महत्वपूर्ण आयोजनामा कामु प्रमुखका रुपमा उनी दिपायलसम्म पुगिन् । दिपालयमा काम गरेपछि उनी अर्को प्रमुख आयोजना कालीगण्डकी करिडोरमा पुगिन् र त्यहाँ पनि उनी कामु प्रमुख बनिन् । ०७९ फागुनमा उनी सिनियर डिभिजिनल इन्जिनियरिका रुपमा बढुवा भइन् ।

उनको कार्यशैली, चुनौतिको सम्बोधन र समस्याको समाधानको क्षमता देखेर विभागमा उनलाई अब्बल दर्जामा राख्ने गरियो । उनी पुष्पलाल मध्यपहाडी लोकमार्गमा आयोजना प्रमुख भएर काम गरिन् । सोही क्रममा ०७० सालतिर उनलाई कास्कीमा सडक विस्तारका क्रममा आक्रमणसम्मको प्रयास भयो । केही स्थानीयले हुलहुज्जत गरेर इन्जिनियरहरुमाथि आक्रमण प्रयास गरेका थिए । सडक क्षेत्राधिकारको क्षेत्र खाली गराएर सडक विस्तार गर्नुपर्ने अली कठिनको काममध्ये त्यो पनि थियो । त्यहाँ उनीसहितका इन्जिनियरलाई प्रहरीले रेस्क्यु गरेर ल्याएको थियो । त्यहाँको सफल नेतृत्वले उनलाई फेरि कालीगण्डकी करिडोरमै आयोजना प्रमुख बनेर ल्यायो ।
कालीगण्डकी करिडोर विसं.२०६५/०६६ मा सुरु भएको राष्ट्रिय गौरवको आयोजना हो । त्यसअघि परिकल्पना गर्दै त्यत्तिकै रोकिएको सडकलाई ०६७ मा आयोजना कार्यालय नै स्थापना गरेर राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने काममा तत्कालीन मन्त्री तथा एमाले उपमहासचिव प्रदीप ज्ञवालीको विशेष योगदान र भूमिका छ । उनकै पहलमा सपनाको राजमार्ग बिपनामै परिणत हुने अवस्था पुगेको छ ।
यो आयोजनाअन्तर्गत गैडाकोटदेखि बाग्लुङको मालढुंगासम्म २ सय ४० किमी र कालीगण्डकीको पारि पर्वत खण्डमा कालीगण्डकी लोकमार्ग ५३ किमी गरी कुल २ सय ९३ किमी सडक पर्दछ । यसको कुल बजेट २० अर्बभन्दा धेरै छ भने चालू आवमा मात्रै करिब सवा अर्ब बराबरको काम भइरहेको छ । ०७९/०८० मै सकिनुपर्ने आयोजना कोभिड महामारीलगायतका समस्याले अबरुद्ध भयो । पछि यस्ता आयोजनाहरुको अवधि रिभाइज गरियो । अब यो आयोजना आगामी आव ०८३/०८४ मा सकिनेगरी काम भइरहेको छ ।

इन्जिनियर कुशलता न्यौपाने
प्रमुख, बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार आयोजना
एसिया स्तरको राजमार्गका रुपमा विस्तार भइरहेको बुटवल–गोरुसिङ्गे सडक खण्ड यसक्षेत्रको महत्वपूर्ण आयोजना हो । पूर्व–पश्चिम महेन्द्र राजमार्गको प्रमुख खण्डका रुपमा यो महत्वपूर्ण आयोजनाको नेतृत्व युवा इन्जिनियर कुशलता न्यौपानेले कुशल रुपमै गरिरहेकी छन् ।
सरल, क्षमतावान्, युवा जोश र उत्साहित इन्जिनियर कुशलताले बुटवल–गोरुसिंगे सडक आयोजनामा आफ्नो कुशल व्यवस्थापन र प्रविधिको प्रयोगमार्फत आधुनिक सडक निर्माण कार्यलाई तीव्रता दिएकी छन् । ठोस योजनासहितको उनको कार्यशैलीले निर्माण प्रक्रियालाई प्रभावकारी बनाइरहेको छ ।
मुलुकको मध्यखण्डमा रहेको ऐतिहासिक भूमि बुद्धावलीको क्षेत्र, बुद्ध जन्मस्थलको यो क्षेत्रमा एसिया स्तरको रणनीतिक राजमार्गको प्रमुख खण्डको विस्तार आयोजनाको नेतृत्वमा छन् उनी । राजमार्ग निर्माण भएको ६२ वर्षपछि उनकै नेतृत्वमा यो प्रमुख खण्डको सफल विस्तार भइरहेको छ । यस खण्डको डिजाइन एसिया स्तरका प्रमुख राजमार्ग सरहको गरिएको छ ।
अहिले ५० किमीको पहिलो खण्डमा धमाधम काम भइरहेको छ । यो यस्तो आयोजना हो जहाँ वनले कुनैपनि आयोजनामा सबैभन्दा छिटो रुख कटानलगायतको स्वीकृति दिएको थियो ।

०७२ सालमा इन्जिनियरिङ पास गरेकी कुशलताले एक वर्षको अनुभवसंगै ०७३ मै निजामति सेवामा नाम निकाल्न सफल भइन् । सुरुमै उनले पुल महाशाखामा काम गरिन् । त्यहाँ रहँदा उनले अनुभवसहित मुलुकको सडक पुलहरुको अवस्था र त्यहाँका चुनौतिहरुका बारेमा पनि जान्ने मौका पाइन् ।
उनको तीक्ष्णता, काम गर्ने हुटहुटी, उत्साह र नेतृत्व क्षमता देखेर विभागका अगुवाहरुले मार्क गरेर राख्ने गर्थे । जसले उनलाई सिधै प्रमुख आयोजनाहरुको नेतृत्वमै पठायो । मध्यपहाडी (पुष्पलाल) लोकमार्गको रुकुमपूर्वदेखि अछामसम्मको ४ सय ४० किमी सडक खण्डमा आयोजना प्रमुख भएर काम गरिन् । उनी ०७९ मा सीडीईमा (उपसचिव) बढुवा भइन् र अर्को महत्वपूर्ण सडक आयोजनाको प्रमुखका रुपमा बुटवल आएकी छन् ।
उनै इन्जिनियर कुशलताको नेतृत्वमा बुटवल–गोरुसिङ्गे खण्डाको विस्तारलाई यात्रुलाई सास्ती नहुनेगरी निर्माण गरिँदैछ । धेरैतिरबाट एकैपटक सबै सडक भत्काएर काम थाल्दा धुलो, हिलो र आवागमनमै असहजता उत्पन्न हुने गुनासो आएपछि कुशलताले निर्माण कम्पनीलाई बीचको पिच पहिल्यै नभत्काउने गरी काम गर्न निर्देशन गरिन् र अहिले कार्यान्वयन भइरहेको छ ।
इन्जिनियर कुशलताको नेतृत्वमा यो खण्डमा अहिले व्यवस्थित निर्माण कार्य चलिरहेको छ । सुरक्षा प्रबन्धका विषयमा संवेदनशीलता अपनाइएको छ । रुख कटानका बेला होस् कि पुलको निर्माणकार्यका बेला होस् स्थानीय, यात्रु, मजदुर, प्राविधिक र वन्यजन्तुसहितका प्राणीसमेत सबैको सुरक्षालाई विशेष ख्याल गरिएको छ । फ्लाइओभरका पुल, अण्डर पास र ओभरपासमा भेहिकल र यात्रु पास पुलको नौलो डिजाइन गरिएको छ ।
सडक विस्तारका लागि दुई खण्डमा गरी १३ अर्ब ५५ करोड ६५ लाख ९६ हजार ४ सय ४१ रुपैयाँको ठेक्का सम्झौता भई तीन वर्षभित्र योजना सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप र आशीष निर्माण सेवा नेपाल जेभीसँग सम्झौता भई काम सुरु भएको छ । यो आयोजनाको चालू आवमै करिब ४ अर्ब बजेट विनियोजन भइ काम भइरहेको छ । यो खण्डको पनि प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका हुन् । सडक विस्तारका लागि चासो राख्ने, कार्यान्वयनका लागि स्रोत जुटाउनेदेखि स्थानीयको अपनत्व बढाउने सम्मका काममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको योगदान छ । यहीँ खण्डको तिनाउ नदीमा आधुनिक सिग्नेचर पुल बनाइनेछ । सिग्नेचर पुलको डिजाइन पनि अन्तिम चरणमा पुगेको छ ।

इन्जिनियर अनुक्षा घिमिरे
प्रमुख, बुटवल–नारायणगढ सडक विस्तार आयोजना (दाउन्ने पूर्व)
पूर्व–पश्चिम लोकमार्ग (महेन्द्र राजमार्ग) को प्रमुख खण्डका रुपमा रहेको बुटवल–नारायणगढ सडक खण्डलाई एक्सप्रेस–वे का रुपमा अन्तर्राष्ट्रिय स्तरको बनाइँदैछ । केही समय ढिलो भएको यो आयोजना अहिले धमाधम काम भइरहेको छ । यो महत्वपूर्ण आयोजनाको एउटा प्रमुख खण्डको नेतृत्व इन्जिनियर अनुक्षा घिमिरेले गरिरहेकी छन् । केही समय अलमलमा परेको र ढिलासुस्ती भएको आयोजनालाई अनुक्षाको नेतृत्वमा रहेको जनशक्तिले अहिले गति दिएको छ ।
इन्जिनियर अनुक्षाको अगुवाइमा बुटवल–नारायणगढ सडक विस्तार आयोजनाले द्रुत गति लिएको छ र अब थपिएको समयमै सम्पन्न हुन्छ भन्ने आशा जगाएको छ । रणनीतिक योजनाको सफल कार्यान्वयन गर्दै उनले मुख्य सडक पूर्वाधारलाई सुधार गर्न निर्णायक भूमिका निर्वाह गरिरहेकी छन् ।
२०७२ मा इन्जिनियरिङ पास गरेकी घिमिरेले लगत्तै ०७३ मै निजामति सेवामा प्रवेश गर्ने अवसर पाइन् । निजामतिमा प्रवेशसंगै उनले थप अध्ययनलाई पनि निरन्तरता दिइन् । ०७६ मा उनले ‘ट्रान्सपोर्टेशन इन्जिनियरिङ’ विषयमा मास्टर्स पनि पास गरिन् । उनको काममा थप निखारता आउनेगरी पढाइको विषय पनि मिल्यो । उनले केही समय डिभिजन सडक बाग्लुङ कार्यालयमा पनि काम गरिन् । केही समय उनी मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा पनि काम गर्न पुगिन् । उपसचिवमा बढुवा भइसकेपछि उनले दुईवटा प्रमुख आयोजनामा कार्यालय प्रमुख भएर काम गरिन् ।

बुटवल–नारायणगढ सडक विस्तार आयोजना (दाउन्नेपूर्व) को आयोजना प्रमुखका रुपमा करिब ५ महिनाअघि देखि कार्यरत इन्जिनियर घिमिरेले अहिले देखिनेगरी काम गराइरहेकी छन् । पूर्वपश्चिम राजमार्गको मध्यभागमा पर्ने राजमार्ग काम सक्न सरकारले पटक–पटकको निर्देशन र खबरदारीले बेवास्ता गरेको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले अहिले सडक ‘पिच’ गर्ने कार्यलाई तीब्रता दिएको हो । राजमार्गको दाउन्ने पूर्व र पश्चिम गरी दुई खण्डमा निर्माण थालिएको ११४ किलोमिटर सडक चालू आर्थिक वर्षभित्र यात्रुलाई समस्या नहुने गरी दाउन्ने सेक्सनबाहेक ‘वान वे’ गरी काम गरिरहेको छ ।
एसियाली विकास बैंकको वित्तीय सहायतामा निर्माण भइरहेका देशको ‘लाइफलाइन’ सडक वि.सं.२०२० मा बनेर २०७५ देखि विस्तार थालिएको थियो । तीन वर्षभित्र काम सक्ने भनेर वि.सं.२०७५ चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । योसहित राजमार्गहरुको विस्तार र सडक खण्डको सुधारको परिकल्पना र साकार पार्नेगरी स्रोतको सुनिश्चितता गर्ने काम भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका हुन् ।