इन्जिनियर कुशलता न्यौपाने: एसिया स्तरको राजमार्ग विस्तारको कुशल नेतृत्व

मेचीकाली संवाददाता

२४ फाल्गुन २०८१, शनिबार
82 shares

अमृत गिरी

बुटवल । एसिया स्तरको राजमार्गका रुपमा विस्तार भइरहेको बुटवल–गोरुसिङ्गे सडक खण्ड यसक्षेत्रको महत्वपूर्ण आयोजना हो । पूर्व–पश्चिम महेन्द्र राजमार्गको प्रमुख खण्डका रुपमा यो महत्वपूर्ण आयोजनाको नेतृत्व युवा इन्जिनियर कुशलता न्यौपानेले कुशल रुपमै गरिरहेकी छन् ।

सरल, क्षमतावान्, युवा जोश र उत्साहित इन्जिनियर कुशलताले बुटवल–गोरुसिंगे सडक आयोजनामा आफ्नो कुशल व्यवस्थापन र प्रविधिको प्रयोगमार्फत आधुनिक सडक निर्माण कार्यलाई तीव्रता दिएकी छन् । ठोस योजनासहितको उनको कार्यशैलीले निर्माण प्रक्रियालाई प्रभावकारी बनाइरहेको छ । मुलुकको मध्यखण्डमा रहेको ऐतिहासिक भूमि बुद्धावलीको क्षेत्र, बुद्ध जन्मस्थलको यो क्षेत्रमा एसिया स्तरको रणनीतिक राजमार्गको प्रमुख खण्डको विस्तार आयोजनाको नेतृत्वमा छन् उनी । राजमार्ग निर्माण भएको ६२ वर्षपछि उनकै नेतृत्वमा यो प्रमुख खण्डको सफल विस्तार भइरहेको छ । यस खण्डको डिजाइन एसिया स्तरका प्रमुख राजमार्ग सरहको गरिएको छ ।

अहिले ५० किमीको पहिलो खण्डमा धमाधम काम भइरहेको छ । यो यस्तो आयोजना हो जहाँ वनले कुनैपनि आयोजनामा सबैभन्दा छिटो रुख कटानलगायतको स्वीकृति दिएको थियो ।
०७२ सालमा इन्जिनियरिङ पास गरेकी कुशलताले एक वर्षको अनुभवसंगै ०७३ मै निजामति सेवामा नाम निकाल्न सफल भइन् । सुरुमै उनले पुल महाशाखामा काम गरिन् । त्यहाँ रहँदा उनले अनुभवसहित मुलुकको सडक पुलहरुको अवस्था र त्यहाँका चुनौतिहरुका बारेमा पनि जान्ने मौका पाइन् ।

उनको तीक्ष्णता, काम गर्ने हुटहुटी, उत्साह र नेतृत्व क्षमता देखेर विभागका अगुवाहरुले मार्क गरेर राख्ने गर्थे । जसले उनलाई सिधै प्रमुख आयोजनाहरुको नेतृत्वमै पठायो । मध्यपहाडी (पुष्पलाल) लोकमार्गको रुकुमपूर्वदेखि अछामसम्मको ४ सय ४० किमी सडक खण्डमा आयोजना प्रमुख भएर काम गरिन् । उनी ०७९ मा सीडीईमा (उपसचिव) बढुवा भइन् र अर्को महत्वपूर्ण सडक आयोजनाको प्रमुखका रुपमा बुटवल आएकी छन् ।

उनै इन्जिनियर कुशलताको नेतृत्वमा बुटवल–गोरुसिङ्गे खण्डाको विस्तारलाई यात्रुलाई सास्ती नहुनेगरी निर्माण गरिँदैछ । धेरैतिरबाट एकैपटक सबै सडक भत्काएर काम थाल्दा धुलो, हिलो र आवागमनमै असहजता उत्पन्न हुने गुनासो आएपछि कुशलताले निर्माण कम्पनीलाई बीचको पिच पहिल्यै नभत्काउने गरी काम गर्न निर्देशन गरिन् र अहिले कार्यान्वयन भइरहेको छ ।

इन्जिनियर कुशलताको नेतृत्वमा यो खण्डमा अहिले व्यवस्थित निर्माण कार्य चलिरहेको छ । सुरक्षा प्रबन्धका विषयमा संवेदनशीलता अपनाइएको छ । रुख कटानका बेला होस् कि पुलको निर्माणकार्यका बेला होस् स्थानीय, यात्रु, मजदुर, प्राविधिक र वन्यजन्तुसहितका प्राणीसमेत सबैको सुरक्षालाई विशेष ख्याल गरिएको छ । फ्लाइओभरका पुल, अण्डर पास र ओभरपासमा भेहिकल र यात्रु पास पुलको नौलो डिजाइन गरिएको छ ।

सडक विस्तारका लागि दुई खण्डमा गरी १३ अर्ब ५५ करोड ६५ लाख ९६ हजार ४ सय ४१ रुपैयाँको ठेक्का सम्झौता भई तीन वर्षभित्र योजना सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप र आशीष निर्माण सेवा नेपाल जेभीसँग सम्झौता भई काम सुरु भएको छ । यो आयोजनाको चालू आवमै करिब ४ अर्ब बजेट विनियोजन भइ काम भइरहेको छ । यो खण्डको पनि प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका हुन् । सडक विस्तारका लागि चासो राख्ने, कार्यान्वयनका लागि स्रोत जुटाउनेदेखि स्थानीयको अपनत्व बढाउने सम्मका काममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको योगदान छ । यहीँ खण्डको तिनाउ नदीमा आधुनिक सिग्नेचर पुल बनाइनेछ । सिग्नेचर पुलको डिजाइन पनि अन्तिम चरणमा पुगेको छ ।