एमाले कमजोर भएको छैनः नेता घिमिरे

मेचीकाली संवाददाता

२० भाद्र २०७८, आईतवार
615 shares

पार्वती आचार्य

कपिलवस्तु। राष्ट्रियसभा सदस्य बिमला घिमिरेले महिलालाई विभिन्न अवसर प्रदान गरी नेतृत्वमा पु¥याउने पार्टी नेकपा एमाले भएको बताएकी छन् । तीजको अवसरमा अनेमसंघको १० औं जिल्ला सम्मेलन आयोजक समितिको दोस्रो बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्जसमेत रहेकी नेता घिमिरेले यस्तो बताएकी हुन् ।

पार्टीमा अब गुट र उपगुट भन्ने गन्ध नहुने बताउँदै मुलुकको राष्ट्रपति विद्यादेवी भण्डारी अनेमसंघबाटै पार्टीले दिएको अवसरबाट गरिमामय पदमा पुग्न सफल भएको बताइन् । दलित, जनजाति, अपाङ्ग राज्यको मूल प्रवाहमा आउन नसक्ने समुदायलाई समेत विभिन्न अवसर दिई राज्यको मूल प्रवाहमा ल्याउने काम एमालेले गरेको नेता घिमिरेले बताइन् । कार्यक्रममा बोल्दै वर्तमान अवस्थामा एमाले सत्ता बाहिर रहेपनि जनताको मन जित्न सफल भएको जनाइन् ।

वर्तमान अवस्थामा पार्टी झनै मजवुद बन्दै गएको र एमालेमा आउनेको लहर चलेको छ । महिलाको नेतृत्वसम्म सहभागिता हुनुपर्ने जनाउँदै यसका लागि महिलाहरु शसक्त हुनुपर्छ । अब आउने स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा आउने गरी महिलाहरुले नेतृत्व विकास गर्नु पर्नेमा जोड दिएकी थिइन् ।

अनेमसंघकी केन्द्रिय सदस्य तथा पार्टी जिल्ला इन्चार्ज शान्तिदेवी चमारले महिलाहरु अधिकारका लागि आफैँ शसक्त हुनुपर्ने बताइन् ।
प्रदेश कमिटी सदस्य प्रभा पौडेलले जनताको मन जितेर अब आउने चुनावमा नेकपा एमाले पहिलो स्थान हासिल गर्ने बताइन् । यस्तै प्रदेश कमिटी सदस्य टेकराज पौडेलले हरेक आन्दोलनमा धैरै जिम्मेवारीका साथ महिलाले काम गरेको हुँदा महिलाहरुको योगदानलाई सधै कदर गर्नुपर्ने बताए ।

पार्टी जिल्ला उपाध्यक्ष बाबुराम खनालले महिला नेतृत्वमा महिलाहरु स्थापित गर्न सदैब पार्टीको पूर्ण साथ रहने प्रतिबद्धता जनाए । कार्यक्रममा संघका केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज सूर्यकुमारी शाहिले महिलाहरुलाई पार्टीले अगाडि बढाएको बताइन् । महिलाहरु सक्रिय रुपमा राजनीतिमा आउनसमेत उनले आग्रह गरिन् ।

अखिल महिला संघका जिल्ला अध्यक्ष शारदा शर्माको अध्यक्षता, उपाध्यक्ष शुसिला दर्लामीको स्वागत तथा सचिव चेतना अधिकारीको सञ्चालनमा बैठक सम्पन्न भएको थियो । अनेमसंघको सदस्यता नवीकरण र बितरणलाई अभियानकै रुपमा लैजाने, वडा र नगर कमिटि विस्तार र प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ ।