

रमेश पराजुली
बुटवल । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (बिहीबार) देखि सुरु हुँदैछ । लुम्बिनी प्रदेशबाट झण्डै ९५ हजार परीक्षार्थी एसईईमा सहभागी हुने भएका छन् । नियमिततर्फ साधारण र प्राविधिक धारका ७४ हजार ५९८ जना र ग्रेडवृद्धितर्फ २० हजार ३१० जना गरी जम्मा ९४ हजार ९०८ जना परीक्षार्थी सहभागी हुने शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निमित्त महानिर्देशक रेस्मीराज अर्यालले जानकारी दिए । उनका अनुसार एसईई परीक्षा सञ्चालनका लागि लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा ३४८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
निमित्त महानिर्देशक अर्यालले बिहीबारदेखि सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताउँदै प्रश्नपत्र र उत्तरपुस्तिका सबै जिल्लामा पु¥याइएको जानकारी दिए । उनले परीक्षालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैलाई आह्वान पनि गरे । ‘बिहीबारदेखि देशभर एकैसाथ सुरु हुने एसईई परीक्षाको लुम्बिनी प्रदेशमा पनि सम्पूर्ण तयारी पूरा भएको छ । भयरहित भएर ढुक्कसँग परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गर्दछु,’ अर्यालले भने,‘साथै परीक्षालाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न÷गराउन विद्यार्थी, शिक्षक, अभिभावक र सबै नागरिकमा आह्वान गर्दछौँ ।’ उनका अनुसार बिहान ८ बजेबाट ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ । बिहीबार पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ ।
एसईईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने सबै केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको निमित्त महानिर्देशक अर्यालले बताए । लुम्बिनी प्रदेशमा केन्द्राध्यक्ष ३४८, सहायक केन्द्राध्यक्ष ६३४, निरीक्षक ४ हजार ७५८, परीक्षा सहायक ९५८, कार्यालय सहयोगी १ हजार ९०२ गरी जम्मा ८ हजार ६ सय कर्मचारी परिचालन गरीएको छ । सबै परीक्षा केन्द्रमा आवश्यकताअनुसार सुरक्षाकर्मी पनि परिचालन गरीने निर्देशनालयले जनाएको छ ।
कुन जिल्लामा कति परीक्षार्थी ?
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै परीक्षार्थी रुपन्देहीमा २२ हजार ६२३ जना रहेका छन् । यहाँ ६० वटा परीक्षा केन्द्र र २ हजार २७ जनशक्ति परिचालन गरिएको छ । सामुदायिकतर्फ १७६ विद्यालय र निजी तथा आवासीय विद्यालयबाट १७० विद्यालय गरी ३४६ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । गत वर्षभन्दा यसवर्ष रुपन्देहीमा ३ हजार २८० जना विद्यार्थी थपिएका छन् । रूपन्देहीमा यस वर्ष सबैभन्दा ठूलो परीक्षा केन्द्र गीवार्ण संस्कृत तथा साधारण मावि मणिग्राममा ६५८ जना र सबैभन्दा सानो परीक्षा केन्द्र नवरत्न मावि सेमलारमा १६१ जना विद्यार्थी रहेका छन् ।
यस्तै लुम्बिनी प्रदेशमा सबैभन्दा कम रुकुम पूर्वमा १ हजार २ सय परीक्षार्थीले परीक्षा दिँदैछन् । यहाँ ८ वटा परीक्षा केन्द्र र ११२ जनशक्ति परिचालन गरीएको छ । यस्तैगरी पाल्पामा ४ हजार ९१० जना परीक्षार्थी रहेका छन् भने २६ परीक्षा केन्दमा ४५० जनशक्ति परिचालन गरिएको छ । गुल्मीमा ४ हजार ८५७ जना परीक्षार्थी रहेका छन् भने २६ परीक्षा केन्द्रमा ४४९ जनशक्ति परिचालन गरिएको छ । अर्घाखाँचीमा ३ हजार ४६५ जना परीक्षार्थी रहेका छन् भने १६ परीक्षा केन्दमा ३१७ जनशक्ति परिचालन गरिएको छ । प्युठानमा ४ हजार ९४० जना परीक्षार्थी रहेका छन् भने १७ परीक्षा केन्द्रमा ४४३ जनशक्ति परिचालन गरिएको छ ।
यस्तैगरी रोल्पामा ४ हजार ७६५ जना परीक्षार्थी रहेका छन् भने २० परीक्षा केन्दमा ४३१ जनशक्ति परिचालन गरीएको छ । बर्दियामा ७ हजार ७६२ जना परीक्षार्थी रहेका छन् भने ३५ परीक्षा केन्द्रमा ७११ जनशक्ति परिचालन गरिएको छ । बाँकेमा १० हजार २७४ जना परीक्षार्थी रहेका छन् भने ३६ परीक्षा केन्द्रमा ९३३ जनशक्ति परिचालन गरीएको छ ।
यस्तैगरी दाङमा १४ हजार २५४ जना परीक्षार्थी रहेका छन् भने ४७ परीक्षा केन्द्रमा १ हजार २९२ जनशक्ति परिचालन गरिएको छ । कपिलवस्तुमा ९ हजार ४६१ जना परीक्षार्थी रहेका छन् भने ३४ परीक्षा केन्द्रमा ८५६ जनशक्ति परिचालन गरिएको छ । नवलपरासी पश्चिममा ६ हजार ३९७ जना परीक्षार्थी रहेका छन् भने २३ परीक्षा केन्द्रमा ५७९ जनशक्ति परिचालन गरिएको छ ।