रोट्रयाक्ट क्लब अफ बुटवल साउथले भलिबल प्रतियोगिता आयोजना गर्ने

मेचीकाली संवाददाता

१३ चैत्र २०८१, बिहीबार
235 shares

बुटवल । रोट्रयाक्ट क्लब अफ बुटवल साउथले १२औँ संस्करणको भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले बुधबार पत्रकार सम्मेलन गर्दै स्वर्गीय रोटरियन कमलराज पाठकको स्मृतिमा यही चैत १५ र १६ गते दुईदिन प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको छ ।

क्लबका अध्यक्ष सुदीप पौडेलले प्रतियोगिताको तयारी अन्तीम चरणमा पुगेको जानकारी दिए । रोट्रयाक्ट क्लब अफ बुटवल साउथले यस क्षेत्रमा रहेका रोट्रयाक्ट र रोटरी क्लबहरुलाई सहभागी गराएर हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आइरहेको उनले बताए ।

प्रतियोगिताको उद्घाटन नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाँले गर्ने क्लबका निवर्तमान अध्यक्ष तथा डिस्ट्रिक सेक्रेटरी सुविन खड्काले जानकारी दिए । उनका अनुसार हालसम्म र १५ वटा रोट्रयाक्ट र ५ वटा रोटरी क्लबले टिम दर्ता गराइसकेका छन् । टिम दर्ता शुल्क ४ हजार तोकिएको कार्यक्रम संयोजक तुलसीराम भण्डारी (इपल) ले जानकारी दिए । प्रतियोगिता दीपनगरस्थित लाफा समूहको मैदानमा आयोजना हुने उनले बताए ।

अघिल्लो वर्ष आयोजना गरिएको प्रतियोगितामा २० वटा टिम सहभागी भएको डिआरआर विक्रम क्षेत्रीले जानकारी दिए । डिस्ट्रिक मिडिया कोडिनेटर आविस्कार खनालले क्लवहरुबीच हुने यस्ता प्रतियोगिताहरुले आत्मियताको भावना विकास हुने बताए ।