

तुलसीराम पौडेल —
लुम्बिनी , चैत्र १७
अस्ट्रेलियाका परोपकारी एवं द ग्रेट स्तुपा अफ युनिभर्सल कम्प्यासन”का अध्यक्ष इयान ग्रीन आगामी अप्रिलको पहिलो हप्ता लुम्बिनी भ्रमण गर्ने भएका छन्। अस्ट्रेलिया स्थित बिन्डिगोमा विश्वका ठूला बौद्ध स्तुपाहरू मध्ये एकको निर्माणका प्रमुख जिम्मेवार इयानले बौद्ध धार्मिक सन्देशको प्रवर्द्धन गर्दै नेपालसँग धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउन लुम्बिनी भ्रमण गर्न लागेको जनाएका छन्।
बौद्ध धर्म एवं धर्मनिरपेक्ष सद्भावमा उहाँको विशिष्ट योगदानको सम्मानस्वरूप अर्डर अफ अस्ट्रेलिया मेडलबाट सम्मानित ब्यक्ति इयान ग्रीनको निरन्तर बौद्ध दर्शनका निम्ति नेपालसँग धार्मिक सहकार्यको नयाँ युग स्थापनामा जोड रहेको भ्रमणको सहजकर्ता एवं अभियान्ता डिएन घिसिङले बताए।
अभियान्त घिसिङका अनुसार, द ग्रेट स्तुपामा विश्वमा सबैभन्दा ठूलो बौद्ध मूर्तिको निर्माण जसलाई रत्न गुणस्तरको जेडबाट गढिएकोले अन्तर्राष्ट्रिय ध्यान केन्द्रित गरेको छ। ग्रेट स्तुपामा नेपालका कला र सांस्कृतिक धरोहरलाई प्रदर्शन गरेर नेपालको कला धरोहरलाई समर्थन गर्नु र जलवायु परिवर्तन र वातावरणीय स्थिरतामा सचेतना फैलाउनु प्रमुख उद्देश्य हो।
पारस्परिक सहयोग र सहकार्यले नेपालको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्ने बताउँदै घिसिङले भन्नुभयो,इयान ग्रीनको लुम्बिनी भ्रमणले नेपाल र अस्ट्रेलियाबीचको बौद्ध सम्बन्धलाई अझ गहिरो बनाउने अपेक्षा गरिएको छ।
इयानको लुम्बिनी भ्रमण सार्थक बनाउन स्थानीय तहबाट समेत विशेष अभिनन्दन एब औपचारिक कार्यक्रम तय गरिएको संयोजक तुल्सी राम लामिछानेको समन्वयमा लुम्बिनी सांस्कृतिक नगरपालिका रूपन्देही, कपिलवस्तु नगरपालिका कपिलवस्तु , देवदह नगरपालिका रूपन्देही, रामग्राम नगरपालिका नवलपरासी, तिलोत्तमा नगरपालिका रूपन्देहीसँग लुम्बिनी सर्किट नगरपालिकाको कार्यक्रम तय गरिएको जनाएका छन्। भ्रमणका मुख्य उद्देश्यहरूमा बुद्धको जन्मस्थल लुम्बिनीको अवलोकन, प्रमुख बौद्ध गुरुहरूसँग अन्तरक्रिया, बौद्ध सम्पदाहरूको संरक्षण र विकास परियोजनाहरूको अवलोकन एब औपचारिक कार्यक्रम तय गरिएको जनाएका छन्।
समन्वयकर्ता लामिछानेका अनुसार,इयान ग्रीनको भ्रमणले नेपाल-अस्ट्रेलिया बीच धार्मिक तथा सांस्कृतिक सहकार्यको नयाँ ढोका खोल्ने अवसर बन्ने र सांस्कृतिक एवं धार्मिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अत्यन्त महत्त्वपूर्ण हुनेमा आशावादी रहेको बताए।