

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ नेपालका लागि नेपाली हस्पिटालिटी सहितको सेवा दिने गरी स्थापना भएको होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसर पारेर स्वादउत्सव कार्यक्रम आयोजना गर्न लागेको छ । यही चैत २५ गतेदेखि २९ गतेसम्म पौवाका सबै शाखामा आयोजना हुने स्वादउत्सवमा नेपाली स्वाद संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति होटल पौवा प्रालिका चिफ ब्राण्डिङ अफिसर विष्णु भण्डारीले जानकारी दिए ।
नवौं वार्षिकोत्सवको खुशियालीमा देशभरका शाखाहरूमा विभिन्न कार्यक्रमसहित पौवाले स्वादउत्सव मनाउन लागेको हो । यो उत्सवमार्फत पौवाले नेपाली स्वाद, संस्कृति र आतिथ्य संस्कारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको छ । उच्च आतिथ्यता प्रदान गर्दै मौलिक स्वादको अनुभव पाहुनाहरूसमक्ष पु¥याउने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको छ । यसैगरी पौवाका सेफहरूबीच नै स्वस्थ प्रतिस्पर्धा गराई बढीभन्दा बढी गुणस्तरीय खाना तयार पार्नु पनि हो । स्वाद उत्सवमा पाहुनाहरूले दिनुहुने प्रतिक्रियाले सेफहरूको अनुभवमा निख्खरता आई क्षमता अभिवृद्दि गर्न मद्दत पुग्ने विश्वास पौवाले लिएको छ । यो उत्सवको अर्को महत्वपूर्ण लक्ष्य भनेको स्थानीय किसानको खाद्य एवं तरकारीजन्य उत्पादनलाई प्रोत्साहन समेत गर्नु हो ।

नवौं वार्षिकोत्सवको अवसरमा आयोजित स्वादउत्सव देशभरका शाखाहरूमा एकैसाथ सञ्चालन हुनेछ । उत्सवमा भाग लिनका लागि सबै शाखाबाट २ लाख स्थानीय तथा बाह्य पाउनाहरूलाई प्रत्यक्ष भेट गरी निमन्त्रणापत्र दिइएको छ । ती सबै अतिथि पाहुनाहरूलाई पौवामा आएर खानाको स्वाद लिन पौवाले आग्रह गरेको छ ।
नेपाली होटल तथा रेष्टुरेण्ट क्षेत्रमा पौवा नाम अब नयाँ होइन । नौलो प्रस्तुतिका रुपमा ९ वर्षअघि उदाएको पौवाले आफ्नो नामको भावलाई प्रतिबिम्बित गर्नेगरी आतिथ्य सेवा प्रदान गर्दै आएको छ । जसरी विगतमा बाटोमा हिँड्ने बटुवाले आश्रय लिने स्थानलाई पाटी पौवा भन्ने गरिन्थ्यो, आकाशबाट झरी पर्दा होस् वा आँधीतुफान आउँदा पाटी पौवा बटुवाहरूका लागि ओत बस्ने सहारा बन्ने गर्दथ्यो । त्यसैगरी, होटल पौवा देश विदेशका अतिथि पाहुनाहरूको ओत बनेको छ । पाहुनाहरूले दिएको विश्वास र समर्थनकै कारण पौवा ‘मिसन १००’ को लक्ष्य पच्छ्याउँदै देशभर विस्तारित भैरहेको छ ।
स्थापनकालदेखि नेपाली हस्पिटालिटी दिने उद्घोष गर्दै पौवाका हरेक शाखाहरूमा नेपाली स्वाद, नेपालीपनको मनैदेखिको सत्कार, नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने कार्यक्रमहरू हुँदै आएका छन् । अन्तर्राष्ट्रिय जगतमा समेत ख्याती कमाएको नेपाली सत्कारलाई ब्राण्डिङ गर्दै हरेक शाखाहरूमा नेपाली पहिचान दिने सेवालाई थप समृद्ध बनाउने उद्देश्यका साथ पौवाले आफ्नो अभियानलाई अघि बढाइरहेको छ । ‘नेपाली संस्कृति र संस्कार एवं नेपाली रैथाने स्वादको पहिचानलाई पौवाले लक्ष्य बनाएको छ । सबै धर्म, संस्कृति मान्ने नेपालीका विभिन्न चाडपर्वलाई पौवाले विशेष बनाउँदै आएको छ ।
पौवा आतिथ्य सेवालाई मुल मन्त्रको रुपमा सञ्चालित होटल हो । संस्कार सिकाउने विश्रामस्थलको रुपमा पौवाले आफनो विस्तारको लक्ष्य लिएको छ । देश विकासको महत्वपूर्ण आयाम भनेको संस्कार र संस्कृतिको संरक्षण एवं सम्बद्र्धन पनि हो । नेपाली आतिथ्य संस्कृति विश्वमै अनुपम छ । संसारभरका पाहुनाहरूलाई न्यानो आतिथ्य संस्कारसहितको संस्कृति प्रदान गर्ने काम होटल पौवाले गर्दै आएको छ ।
९ वर्षअघि विश्व शान्तिका दुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट होटल पौवाको पहिलो यात्रा सुरु भएको थियो । आजको दिनसम्म आइपुग्दा १८ वटा शाखा पुगेका छन् । जहाँ ७०० भन्दा बढिलाई प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । नेपालगन्जमा पाँचतारे होटल ‘पौवा वेस्ट्रन’को पहिलो चरणको काम सम्पन्न भएको छ भने मुख्य अतिथि आवास भवन निर्माण भैरहेको छ । अत्याधुनिक सभा हल तथा नेपाली रेस्टुरेन्ट सुरु भई सकेको छ । सिन्धुली सदरमुकाममा नयाँ शाखा स्थापना हुन गैरहेको छ । अबको केही समयभित्रै पाल्पाको झिगामारामा पौवा बनवास रिसोर्ट समेत स्थापना हुँदैछ ।
पौवाले अहिलेसम्म ३ वटा मोडेलमा आफ्नो सेवा विस्तार गर्दैआएको छ, जसअन्तर्गत पहिलो मोडेलमा आफ्नै लगानी र स्वामित्वमा सेवा दिने, दोस्रो स्थानीय साझेदारसँग संस्थागत साझेदारीमा सेवा दिने र तेस्रो मोडेलमा ब्यवस्थापन जिम्मा लिएर पौवाको ब्राण्डमा सेवा दिने गरी संस्थाले सेवा प्रवाह गरिरहेको छ ।
देशलाई चिनाउने क्षेत्र पर्यटन क्षेत्र नै हो । हाम्रो डाँडापाखालाई सदुपयोग गर्ने हो भने रोजगारीको लागि विदेश पलायनलाई समेत कम गर्न सकिन्छ । पौवाको प्रमुख लक्ष्य देशभित्रै रोजगारी सिर्जना गर्ने हो । पौवाले स्थानीय उत्पादनको समेत खपत गर्दै आएको छ जसले पौवा पुगेको स्थानमा आम्दानीको स्रोत समेत विस्तार भएको छ । ‘अतिथि देवो भवः’ आत्मसात गर्दै पौवाले नेपाली पहिचानलाई संरक्षण गर्ने काम गरिरहेको छ ।