कब्जियतबाट कसरी बच्ने ?

मेचीकाली संवाददाता

२६ चैत्र २०८१, बुधबार
153 shares

डा.नमराज पाण्डे

कब्जियत अर्थात् पेट सफा नहुनु यो एउटा साझा समस्या बन्न थालेको छ । यो व्यक्तिअनुसार फरक फरक प्रकृतिको हुन्छ । कसैलाइ दिनमा २–३ पटक थोरैथोरै गरेर दिसा हुन्छ तबमात्रै व्यक्तिलाई दिसा सफा भएको महशुस हुन्छ । कसैलाइ १–२ दिन बिराएर हुन्छ । कब्जियत तपाईको बानी, दिनचर्या, खानपिनमा भर पर्छ । आधुनिक विज्ञानमा ३ दिनभन्दा धेरै दिनसम्म दिसा नहुनुलाई कब्जियत भएको मानिन्छ भने आयुर्वेद चिकित्सा विज्ञानले हरेक दिन दिसा हुनुपर्छ भन्ने कुरालाई महत्व दिएको छ ।

३–४ दिनसम्म वा कब्जियतको समस्या भैरहँदा के हुन्छ त भन्नेबारेमा सबैलाई जानकारी हुनु आवश्यक छ । जब २–३ दिनसम्म दिसा हुँदैन तब दिसा साह्रो हुनपुग्छ, साह्रो हुनुको कारण भनेको दिसामा भएको पानी सोसिन्छ, धेरै पानी सोसिएपछि दिसा साह्रो हुनपुग्छ र मलद्वारबाट बाहिर निस्कन कठिन हुन्छ । जसले गर्दा दिसाघरको मुखमा घाउ हुनसक्छ । दिसाघर च्यातिन सक्छ । यसलाइ फिसर भनिन्छ । यसरी नियमित कब्जियत हुँदा पाइल्स लगाएत मलद्वार सम्बन्धी विभिन्न समस्याहरु आउन सक्छन् ।

कस्तो अवस्थालाई कब्जियत भन्ने ?
–दिसा गर्दा बल लगाउनुपर्ने ।
–थोरै थोरै दिसा हुनु, दिसा साह्रो हुनु ।
–एक पटकमा दिसा सफा नहुनु । पुनः २–३ पटक थोरै—थोरै गरेर जानुपर्ने वा १–२ दिन बिराएर मात्रै हुने ।
–दिसा जान मन लाग्नु तर दिसा गर्दा पेट थिच्नुपर्ने, बल लगाउनुपर्ने हुनु ।
–दिसा गरिसकेपछि पनि पेट भारी, फुलेजस्तो भइरहनु ।

कारण
मुख्यतः पाचन प्रकृया गडबडी हुनु अर्थात् तपाईंले खाएको खानेकुरा राम्रोसँग पाचन नहुनु, अस्वस्थकर खाना, असन्तुलिन खाना, खानाको टाइमटेबल नमिल्नु । जस्तै:
– धेरै रूखो सुक्खा बजारका बोटलबन्द पदार्थहरुको अधिक सेबन ।
– मैदाबाट बनेका विभिन्न परिकारहरुको सेवन ।
– दीर्घ रोगीहरुले प्रयोग गर्ने विभिन्न एलोप्याथिक औषधीले पनि कब्जियत गराउँछ । जस्तैः एन्टासिड, क्याल्सियम, निद्रा लगाउने औषधी, प्रेसरको औषधीका साथै मानसिक रोगका लागि प्रयोग गरिने औषधी आदि ।
– रात्री जाग्राम बस्नु वा विभिन्न कारणले रात्रीको काम गर्नुपर्ने व्यक्तिमा ।
– धेरै समय दिसा पिसाबको बेग रोक्नु (लागेको समयमा नगर्नु) ।
– चिन्ता तथा तनावपूर्ण जीवन बिताउनु ।
– धुम्रपान, चिया, कफीको अधिक सेवन ।
– खाना खाने समयमा अनियमितता आदि ।

यस्तै कारणहरुले हाम्रो पाचन प्रकृयामा अवरोध पु¥याउँछन् । जसले गर्दा खानाको पाचन राम्रोसँग हुँदैन र त्यहाँ उत्पन्न हुने पाचक रसहरु (जुन खानालाई पचाउन आवश्यक हुन्छन् ) को उत्पादन प्रकृयामा असर पुग्न जान्छ जसको कारणले गर्दा पेट फुल्ने, दुख्ने, कोखा चस्कने, मुख सुक्खा हुने, मलको अवरोध अर्थात् कब्जियत हुने हुन्छ ।

प्रकार
सामान्यतया कब्जियत दुई किसिमको हुन्छ । अस्थायी र स्थायी । अस्थायी कब्जियत कहिलेकाहीँ खानाको गडबडिमा देखिने र कारण हटेपछि आफैँ ठिक हुने वा सामान्य औषधीको छोटो समय प्रयोग गर्दा ठिक हुने हुन्छ भने स्थायी कब्जियत लामो समयदेखि भएको वा लामो समयसम्म भइरहने हुन्छ । दैनिक औषधी सेवन नगरी दिसा नखुल्ने वा दिसा गराउने औषधीको सेवन गर्दा पनि काम नगर्ने हुन्छ ।

के गर्ने ?
– कब्जियत भएको थाहा पाउनासाथै खानपिनमा सुधार गर्ने, सन्तुलित र समयमा खानाको सेवन गर्ने, स्वस्थकर खानाको सेवन गर्नुनैं यसबाट बच्ने पहिलो उपाय हो ।
– आफ्नो नजिकैको चिकित्सकलाई भेटेर के कारणले गर्दा कब्जियतको समस्या भएको हो सोअनुसार उपचार गर्दा लामोसमय सम्म कब्जियतको समस्या रहिरहने र औषधि सेवन गर्नुपर्ने अवस्था आउँदैन ।
– कब्जियत हुनेहरुले मुङ्गको दाल, भात, परबल, लौका, घिरौला जस्ता झुण्डिएर फल्ने तरकारीहरु खाने गर्नुपर्छ र माथि कारणमा उल्लेख गरिएका कुराहरु गर्नु/ हुँदैन।

के नगर्ने ?
– कब्जियत हटाउन विभिन्न विज्ञापनमा देखाइएका औषधीहरुको प्रयोग गर्नु हुँदैन ।
– लामो समयसम्म कब्जियतको कुनै पनि आौषधी खानु राम्रो हुँदैन ।
– दिसा बस्दा दिसा आएन भने कनेर दिसा गर्ने गर्नुहुँदैन । यसले गुद्वारमा दबाब पर्न जान्छ र मलद्वारमा घाउ हुन सक्छ ।
– बच्चाहरुको कब्जियतको समस्या प्रायः खानपिनमै सुधार गरेर ठिक गर्न सकिन्छ । दिसा नहुने वा दिसामा रगत आउने जस्ता समस्या भएमा बच्चालाई चिकित्सकोमा लैजानुपर्छ ।

– कब्जियतको वा अन्य प्रयोगका लागि आफूखुशी औषधी पसलबाट कहिल्यै पनि लेक्जेटिव वा सपोजिटरीहरू किनेर प्रयोग गर्ने गर्नुहुँदैन ।

कब्जियत हुँदा वा नहुँदा पनि पेट सफा राख्न घरमै गर्न सकिने उपाय
अमला पाउडरको प्रयोगः दैनिक खानाखानुभन्दा ठिक अगाडि १ चम्चा अमलाको धुलो तातोपानीसँग खाने गर्नाले पेट सफा हुनुको साथै भिटामिन पनि प्रशस्त पाइने हुन्छ । बुढ्यौली आउन दिँदैन । छालाको चमक बढाउँछ ।
किसमिस प्रयोगः १५–२० दाना किसमिस १ कप पानीमा पकाएर आधा कप बनाएर मिचेर खानाअगाडि वा दिनभरि किसमिसको पानी खान सकिन्छ । (यसरी बच्चालाई पनि खुवाउन सकिन्छ ।)
घ्यूको प्रयोगः तपाईं स्वस्थ हुनुहुन्छ र पेट सधै ठिक राख्न चाहनुहुन्छ भने सधै खानासँग १ चम्चा घ्यूको सेवन गर्ने गर्नुहोस् ।

अन्त्यमा, आयुर्वेद चिकित्सा पद्धतीमा केही समयको औषधी सेवन गरेर पाचनप्रकृया ठिक गरेपछि कब्जियतको औषधी लामो समयसम्म खानुपर्ने हँुदैन । त्यसको लागि आयुर्वेद चिकित्सकसँग परामर्श लिनु मुनासिब हुन्छ ।