प्रगतिशील प्राध्यापक संगठनको अधिवेशन भोलिदेखि सुरु हुने

मेचीकाली संवाददाता

७ बैशाख २०८२, आईतवार
16 shares

बुटवल । नेपाली उच्चशिक्षा क्षेत्रमा क्रियाशील प्राध्यापकहरुको पेशागत संगठन नेपाल प्रगतिशिल प्राध्यापक संगठनको ११ औं राष्ट्रिय सम्मेलन सोमबार देखि सुरु हुने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय, स्मृति भवनमा हुने सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले यट्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नेकपा एमाले निकट प्राध्यापकहरूको संगठनले त्रिवि अन्तर्गतका विभिन्न विश्वविद्यालयहरूमा रहेका शिक्षण, प्रशासनिक तथा आर्थिक समस्याबारे छलफल गर्ने र समाधानको खाका तय गर्ने जनाइएको छ । ‘पेशागत सुरक्षा र आत्मसम्मान, अनुसन्धानमूलक र गुणस्तरीय शिक्षा हाम्रो अभियान’ भन्ने मूल भावका साथ शुरु हुने सम्मेलनमा देशभरिका क्याम्पसहरुवाट झण्डै ७ सयजना प्रतिनिधिहरुको सहभागीता रहने संगठनका अध्यक्ष डा.खगराज शर्माले जानकारी दिए ।

सम्मेलनमा संगठनका महासचिव डा. पदमप्रसाद खतिवडाले प्रस्तुत गर्ने सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष नन्दीकेशर नेपालले प्रस्तुत गर्ने आर्थिक प्रतिवेदन र उपाध्यक्ष बलराम रायले प्रस्तुत गर्ने संशोधित विधान मस्यौदा पास गर्नुका साथै आगामी तीन वर्षका लागि नयाँ नेतृत्व निर्वाचित गर्ने कार्यक्रम रहेको छ । संगठनमा हाल करिब १० हजार सदस्यहरु आवद्ध रहेका छन् ।