

रमेश पराजुली
बुटवल। कक्षा १२ को वार्षिक परीक्षा आज (आइतबार) देखि देशभर एकैसाथ सुरु हुँदै छ । जसमा लुम्बिनी प्रदेशबाट ९० हजार बढी परीक्षार्थी सहभागी हुने भएका छन् । लुम्बिनी प्रदेशमा नियमिततर्फ ६६ हजार ७६७ जना र आंशिकतर्फ २३ हजार ९११ जना गरी कुल ९० हजार ६७८ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्ड परीक्षा व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारीले जानकारी दिए । परीक्षा सञ्चालनका लागि लुम्बिनीमा २६४ वटा केन्द्र निर्धारण गरिएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा जेठ २ गते सम्पन्न हुने छ ।
लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै परिक्षार्थी रुपन्देही जिल्लाबाट २३ हजार ८५३ जना र रुकुम पूर्वबाट सबैभन्दा कम १ हजार २८३ जना रहेका छन् । रुपन्देहीमा ६३ र रुकुम पूर्वमा ५ वटा परीक्षा केन्द तोकिएको छ । यस्तैगरी गुल्मीमा १७ वटा परीक्षा केन्द्रमा ३ हजार ६८६, पाल्पामा १९ वटा परीक्षा केन्द्रमा ४ हजार २३१, नवलपरासी पश्चिममा १५ वटा परीक्षा केन्द्रमा ५ हजार ३०४, कपिलवस्तुमा २३ वटा परीक्षा केन्द्रमा ७ हजार ५०३ जना परीक्षार्थी सहभागी हुने भएका छन् । यस्तैगरी अर्घाखाँचीमा ११ वटा परीक्षा केन्द्रमा २ हजार ६५४, प्युठानमा ८ वटा परीक्षा केन्द्रमा ३ हजार ६४३, रोल्पामा ९ वटा परीक्षा केन्द्रमा ३ हजार १९०, दाङमा ४४ वटा परीक्षा केन्द्रमा १६ हजार ५२५, बाँकेमा ३० वटा परीक्षा केन्द्रमा १२ हजार ४०७, बर्दियामा २० वटा परीक्षा केन्द्रमा ६३९९ जना परीक्षार्थी सहभागी हुने भएका छन् ।
केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशले कक्षा १२ को वार्षिक परीक्षाका केन्द्राध्यक्षहरुका लागि परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा कार्यालय प्रमुख रमाकान्त तिवारीले आइतबारदेखि सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । परीक्षालाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि परीक्षा पूर्व, परीक्षाको अवधिमा र परीक्षापश्चात गर्ने कार्यहरू प्रस्तुत गर्दै उनले परीक्षामा खटिने केन्द्राध्यक्ष तथा अन्य सबै कर्मचारीहरुले पालन गर्नुपर्ने नियमबारे जानकारी गराए ।

यसवर्ष पनि हरेक दिन परीक्षा सुरु हुनुभन्दा ३० मिनेट अघि प्रश्नपत्र अनलाइनबाट पठाइने कार्यालय प्रमुख तिवारीले बताए । परिक्षा केन्द्रमा परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन केन्द्राध्यक्षहरुको भूमिका महत्वपूण हुने उनले बताए । परीक्षार्थीहरु परीक्षा सुरु हुनुभन्दा ३० मिनेटअघि नै केन्द्रमा पुगिसक्नुपर्ने प्रमुख तिवारीले बताए । परीक्षा सुरु भएको १५ मिनेटपछि केन्द्रमा पुग्ने परीक्षार्थी परीक्षामा सहभागी हुन नपाउने बताउँदै उनले विद्यालयहरुलाई आफ्ना विद्यार्थीलाई समयमै परीक्षा केन्द्रमा पुग्ने वातावरण बनाउन आग्रह गरे । फरक क्षमता भएका परीक्षार्थीहरुले निर्धारित समयमा परीक्षा दिन नसक्ने देखिएमा केन्द्राध्यक्षहरुले आवश्यकताअनुसार बढीमा १ घण्टासम्म समय थप गर्न सक्ने कार्यालय प्रमुख तिवारीले बताए ।
यसवर्ष रुपन्देहीमा बालसुधार गृहबाट १० जना र कारागारबाट ३ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका शाखा अधिकृत बाबुराम भण्डारीले बताए । कारागार र बालसुधार गृहबाट परीक्षामा सहभागी हुने परीक्षार्थीका लिलाराम न्यौपाने माविमा परीक्षा केन्द्र तोकिएको छ ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्यालले विद्यार्थीहरुलाई भयरहित र अनुशासित ढंगले परीक्षा दिलाउन सकेमा मात्र विद्यार्थीहरुको क्षमता र शिक्षाको गुणस्तर मापन हुने बताए । उनले परीक्षालाई तोकिएकै ढाँचा, शैली, समय र मर्यादामा सञ्चालन गर्नुपर्ने र यसको लागि प्रशासन तथा सुरक्षा निकायले सबै सहयोग गर्ने प्रतिबद्धता जनाए । जिल्ला प्रशासन कार्यालयले परीक्षाको अनुगमनलाई प्रभाभकारी बनाउने जानकारी गराउँदै उनले कुनैपनि केन्द्राध्यक्ष तथा परीक्षामा खटिने कर्मचारीहरुले अमर्यादित काम गरेको पाइएमा तत्काल कारबाही गरिने बताए ।
जिल्ला परीक्षा समन्वय समिति रूपन्देहीका सदस्य सचिव एवं शिक्षा विकास समन्वय इकाइ रुपन्देहीका प्रमुख माधव बञ्जाडेले जिल्लाका सबै परीक्षा केन्द्रमा भयरहित वातावरमा व्यवस्थित र अनुशासित ढंगले परीक्षा सञ्चालन गर्न आग्रह गरे । परीक्षा केन्द्रमा अनलाइनबाट प्रश्नपत्र आउने भएकाले त्यसका लागि आवश्यक पर्ने विद्युत्, नेटलगायत अन्य उपकरण तयारी अवस्थामा राख्नुपर्ने बताए । कार्यक्रममा सहभागी केन्द्राध्यक्षहरुले अनलाइनबाट प्रश्नहरु पठाउँदा लोडसेडिङ भएमा समस्या आउनसक्ने भन्दै विद्युत् प्राधिकरणसँग समन्वय गर्न आग्रह गरे । अभिमुखीकरण कार्यक्रम केन्द्राध्यक्षहरु, जिल्लास्तरीय परीक्षा समन्वय समितिका सदस्यलगायतको सहभागिता रहेको थियो ।
यसवर्ष कक्षा १२ को परीक्षामा देशभरबाट नियमिततर्फ ३ लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ १ लाख ११५ हजार ६१७ जना गरी कुल ५ लाख ११ हजार ५२५ जना परीक्षार्थी सहभागी हुनेछन् । परीक्षाका लागि बोर्डले देशभर १ हजार ५९० परीक्षा र देशबाहिर जापानमा एक गरि कुल १ हजार ५९१ परीक्षा केन्द्रमा निर्धारण गरेको छ । भने परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा केन्द्रमा खटिने कर्मचारी, कार्यालय सहयागी र सुरक्षाकर्मी गरी कुल ४८ हजार २०९ जना कर्मचारी परीचालन गरिएको बोर्डले जनाएको छ । यसअघि बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि गर्ने समयतालिका निर्धारण गरेको थियो । नेपाल शिक्षक महासंघ आन्दोलनमा रहेका कारण परीक्षाको मिति बैशाख २१ मा सारिएको थियो ।