विभाजन ल्याउन खोज्नेहरु आफै पतन हुँदैछन्ः विष्णु पौडेल

नेतृत्व एकताबद्ध छ, आम कार्यकर्ता मुलधारमै छन्

मेचीकाली संवाददाता

२३ भाद्र २०७८, बुधबार
693 shares


बुटवल । नेकपा एमालेका उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णुुप्रसाद पौडेलले नेकपा एमालेमा विभाजन ल्याउन खोज्नेहरु आफै पतन भएर जाने बाटोमा रहेको बताएका छन् । अध्यादेशमार्फत एमालेबाट विभाजित भएर बनेको माधव नेपालको पार्टीलाई ‘सर्पको काँचुली’ को संज्ञा दिंदै नेता पौडेलले यसले बलियो जनाधार भएको एमालेमा कुनै असर नपार्ने दाबी गरे ।

प्रेस चौतारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपमहासचिव पौडेलले एमाले विभाजन नभएको र विभाजन गर्न खोज्ने कोसिस भइरहेको बताए । उनले विभाजन गर्न खोज्नेहरु आफै पतनको बाटोमा रहेको उनले दाबी गरे । पार्टी फुटेको होइन, काँचुली फेरेको जस्तै हो नेता पौडेलले एमालेमा विभाजन ल्याउने कोसिस गरेपनि त्यो काँचुली फेरेको जस्तै भएको र त्यसले एमालेलाई कुनै असर नपार्ने दाबी गरे ।

‘हाम्रो आन्दोलनमा जुन खालको प्रवृत्ति देखिएको छ, त्यो पात्रलाई काँचुली छोडे जस्तै गरि छाडेको मात्रै हो’ उनले भने–‘काँचुली फेरेजस्तै हो, विभाजनले कुनै असर राख्दैन ।’ एमालेको जनाधार र संगठन ठूलो शक्तिकै रुपमा रहेको बताउँदै नेता पौडेलले आउने चुनावमार्फत् एमाले नै देशको ठूलो पार्टीको रुपमा निर्वाचित भएर सत्तामा पुग्ने ठोकुवा गरे ।

दाजुभाईमा रिस उठ्यो, आमालाई बञ्चरो हान्ने ?
उनले नेकपा कालमा र त्यसपछि एमाले बनेका बेलामा पनि पार्टी भित्रका सामान्य मतभेदलाई लिएर माधव नेपाललगायतका केही नेताहरुले पार्टी र कम्युनिष्ट आन्दोलनविरुद्ध जघन्य अपराध गरेको आरोप लगाए । ‘दाजुभाईको सामान्य झगडामा रिस उठ्यो भनेर आमामाथि बञ्चरो प्रहार गर्ने अपराध भयो’ उनको भनाइ थियो । उनले पार्टीको आमा जस्तै रहेको प्रष्टाए ।

आमाको दूूधको चुसेर भएन…
नेता पौडेलले एमालेमा विग्रह ल्याएर नयाँ समूह बनाउने माधव नेपालहरुको पार्टी पानीको फोका जस्तै हुने बताए । नयाँ पार्टी बनाउनेहरुले देउवा र प्रचण्डसँग ओत लाउने ठाउँ माग्दै हिँड्नुुपरेको उनको भनाइ छ । माधव नेपालहरुलाई लक्षित गरेर नेता पौडेलले भने ‘आमाको दूूधको चुसेर भएन, बाउको घुुँडा चुसेर हुन्छ र ?’

शक्ति पृथकीकरणको सिद्दान्त लत्याइयो
नेता पौडेलले सम्मानित अदालतले गरेका आदेश मान्नैपर्ने भएकाले आफुहरुले मानेको बताए । ‘तर,अदालतको आदेशले शक्ति पृथकीकरणको सिद्धान्तलाई लत्याएको छ र संसदको सर्वोच्चतालाई कुल्चेको छ’ पौडेलको भनाइ । संसदीय दलको ह्वीप नमान्ने, अनुशासन उल्लंघा गर्नेलाई दलले कारबाही गर्न नपाउने भन्ने जस्तो अदालतको आदेशले बहुदलीय ब्यस्थालाई नै गिज्याएको उनले बताए । अदालतबाट भएका आदेश र त्यसले पार्ने दुरगामी प्रभावका बारेमा इतिहासमा समीक्षा हुने उनको भनाइ छ ।

माधव नेपालहरुको काम दक्षिणपन्थी, भन्ने वामपन्थी ?
माधव नेपाल र अरु केही कम्युनिष्ट नेताहरुले कम्यूनिष्टका नेता नेतृत्वको सरकार गिराएर दक्षिणपन्थी शक्तिलाई गोलबन्ध गरेर जनादेश विपरितको सरकार बनाएको टिप्पणी गरे । ‘काम गर्ने दक्षिणपन्थीको अनि भन्ने वामपन्थी ? यो त भद्धा मजाक भएन र ?’ उनको टिप्पणी थियो ।

एमालेमा विग्रह गराउने अध्यादेश
नेता पौडैलले देउवा सरकार र गठबन्धनले एमालेको जनाधार कमजोर बनाउने गलत सोंच र पार्टी नै विभाजन गर्ने कुत्सित् उद्देश्यले अध्यादेश ल्याएको टिप्पणी गरे । उनले यो अध्यादेशलाई निरन्तरता दिन र संसदबाट पारित गर्न सरकारलाई चुुनौती दिए । ‘संसदको कानुनी हैसियतमा निरन्तरता दिन सरकार तयार छैन, केबल एमाले विभाजनकै लागि मात्रै ल्याइएको हो प्रष्टै छ’ उनको भनाइ थियो । नेता पौडेलले राज्यशक्तिको दुरुपयोग गरेर एमालेलाई किनारा लगाउन सकिन्छ कि भनेर केही तत्व लागेका तर, त्यो कदापी सफल नहुने उल्लेख गरे ।

सभामुखका गतिविधि पदीय मर्यादा विपरित
प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले सभामुखको पदीय मर्यादा विपरित भूमिका निर्वाह गरिरहेको नेता पौडेलले आरोप लगाए । सभामुखको जुन भूमिका, पदीय मर्यादा र सीमा हो त्यसलाई लत्याएर एउटा पार्टीको नेताका रुपमा र जसरी पनि एमालेलाई विभाजन गर्ने मतियारका रुपमा सभामुख प्रस्तुत भएको दाबी गरे । पार्टी निर्णयको उल्लंघन गर्ने १४ जना सांसदलाई एमालेले पदमुक्त गरेर संसदमा पठाएको सूचनालाई सभामुखले रोक्नै मिल्दैन तर, किन रोकियो ? एमालेको पत्रलाई किन वेवास्ता गरियो ? यस्तो पनि सभामुखको भूमिका हुन्छ ? नेता पौडेलको आक्रोस थियो । सभामुखले पदको दुरुपयोग गरेर संविधान विपरितका गतिविधि गरिरहेको नेता पौडेलको दाबी थियो ।

एमसीसीबारे सरकार र गठबन्धनको धारणा के हो ?
अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे वर्तमान सरकार र गठबन्धनको धारणा के हो भन्ने प्रश्न गरे । ‘एमालेले के गर्छ ?’ भन्ने पत्रकाहरुको जिज्ञासामा नेता पौडेलले भने,–‘सरकार र गठबन्धनले के गर्छन् त्यो हेर्छौं, हामीले पहिल्यै कुनै तयारी गरेर बस्नुपर्ने छैन । संसदमा प्रस्ताव भएको खण्डमा तुरुन्तै निर्णय गरिने छ । एमसीसी सम्झौतालाई बरु सरकारले र त्यसको गठबन्धनले के गर्छ त्यतातिर प्रश्न सोध्न उनले पत्रकारहरुलाई आग्रह गरे ।

सुकुम्बासी समस्या समाधान गर्न अवरोध गरियो
नेता पौडेलले वर्तमान सरकार र त्यसका गठबन्धन लाखौं सुकुम्बासीको समस्या समाधानमा होइन उनीहरुको दुखमा रमाउन खोजको आरोप लगाए । सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि संवैधानिक रुपमै आयोग बनाएर काम अगाडि बढाएको केपी ओली नेतृत्वको सरकारलाई अवरोध गरेर र आयोग नै खारेज गरेर गठबन्धनले त्यो रुप देखाएको प्रष्टाए ।

‘शेरबहादुर देउवा नेतृत्वको सरकार सुकुम्बासीको समस्या समाधानको पक्षमै छैन, यसका गठबन्धनका नेताहरु पनि समाधान होस् भन्ने पक्षमा छैनन्’ नेता पौडेलले प्रश्न गरे–थिए भने काम गरिरहेको आयोगलाई किन खारेज गरे ?’ जनताको समस्या समाधान गर्न सरकार जिम्मेवार नभएको र कानमा तेल हालेर बसेको उनले आरोप लगाए ।

लुम्बिनी प्रदेशमा विभाजनको प्रभाव छैन
नेता पौडेलले लुम्बिनीमा नेकपा एमालेमा ल्याउन खोजिएको विभाजनको कुनै असर नपरेको दावी गरेका छन । उनले भने–‘विग्रहको अपेक्षा नगरेपनि हुन्छ, विभाजन ल्याउने आँट नगरे हुन्छ, यहाँ पतनको बाटोमा कोही हिंड्न तयार हुँदैनन् ।’ लुम्बिनी प्रदेश कमिटीको बैठकले त्यो सन्देश दिएको नेता पौडेलको भनाइ छ । उनले लुम्बिनी प्रदेशका आमकार्यकर्ताले विभाजनको कुनै पनि प्रयास सफल हनु नदिने बताए । अहिले आफूहरु प्रतिपक्षी भूमिकामा भएपनि आगामि निर्वाचन मार्फत पुन सरकारमा जाने गरि पार्टी गतिविधि गर्ने उनले बताए ।

भदौ ३० मा रुपन्देही जिल्ला भेलाको तयारी
आगामी ३० गते १२ वटै जिल्ला भेला आयोजना गर्ने भएको छ । उक्त अगुवा भेलालाई सम्बोधन गर्न पार्टी अध्यक्ष तथा पूर्वप्रम केपी ओली आउने कार्यक्रम तय भएको नेता पौडेलले बताउनुभयो । यस्तै असोज मसान्तसम्म पार्टी नविकरण गर्ने, ९ सय ८३ वडाहरुमा कार्तिक ६ गते वडा अधिवेशन गर्ने, त्यसपछि पालिका स्तरको अधिवेशन गर्ने उपमहासचिव पौडेलले बताए ।

‘संसदीय अंकगणितले के देखाउछ, त्यो अर्को पाटो हो, तर हामी नेपालको ठूलो दल हो, हामी राष्ट्रिय स्तरको लिड पार्टीका हौं’ उनले भने ।१० बुँदे सम्झौतालाई सकरात्मक रुपमा लिएर रचनात्मक रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ । प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष अमृत गिरीको अध्यक्षता तथा सचिव सम्झना शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।