स्वाँरा–सालिमे जोड्न तिन किलोमिटर पदमार्ग

मेचीकाली संवाददाता

३० जेष्ठ २०८२, बिहीबार
148 shares

टोपलाल अर्याल

गुल्मी । मुसिकोट नगरपालिका र स्थानीय पुर्वाधार सहयोग कार्यक्रम मार्फत तिन करोड बढिका योजनामा काम भइरहेको छ । त्यो मध्येको स्वाँरादेखि सालिमे जोड्ने पदमार्ग एउटा हो । जहाँ तिन किलोमिटर पदमार्ग निर्माण भइरहेको छ । जिल्लाको पहिलो गुरुङ्ग होमस्टे स्वाँरा गाउँदेखि धार्मिक तथा पर्यटकीय क्षेत्र सालिमे जोड्न पदमार्ग निर्माण गरिएको हो । रमणीय गाउँमा सालिमे जोडन पदमार्ग बनेपछि स्थानीय खुसी मात्रै छैनन्, स्थानीय स्तरमै रोजगारी सृजना पनि भयो ।

यो योजना नगरपालिकाको २० लाख ६६ हजार ८३९ रुपियाँ, स्थानीय पुर्वाधार सहयोग कार्यक्रमको २६ लाख ४४ हजार २५ रुपियाँ र चार लाख ८३ हजार ९९८ रुपियाँको लागतमा पदमार्ग निर्माण गरिएको मुसिकोट नगरपालिका–६ का वडाध्यक्ष खड्ग बहादुर खड्काले जानकारी दिए । अहिलेसम्म करिव २.७ किलोमिटर पदमार्ग निर्माणको काम भएको छ । स्वाँरा सालिमे दह पदमार्ग स्तरोन्नतीको काम उपभोक्ता समिति मार्फत काम गरिएको छ । डेढ महिनादेखि गाउँमा ३८ जनाले काम गरिरहेका छन् ।

मुसिकोट नगरपालिका स्थानीय पुर्वाधार सहयोग कार्यक्रम मार्फत विभिन्न १२ योजना निर्माणको सम्झौता भएको छ । स्थानीय पुर्वाधार सहयोग कार्यक्रम र नगरपालिकाको साझेदारीमा स्वाँरा सालिमेदह पदमार्ग निर्माण, कुकुवाखोला थापाटोला चितपानी सिंचाई, सानीचौर–भर्मचौर–वालुवा सिँचाइ योजना, भुवाचिदीमा कुकुवाखोला तटबन्ध र डाँडाथोक सिँचाई योजना निर्माणको सम्झौता भएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले जानकारी दिए ।

त्यस्तै मुसिकोट दरवार क्षेत्र पहिरो नियन्त्रण, निस्तीखोला ठूला पहिरो क्षेत्र र दरमखोला बसेरी क्षेत्र तटबन्ध, तल्लाफाँट रिङ्गरोडसंगै नाली तथा सिँचाई कुलाहरु निर्माण र आगलागी जोखिम रहेको तिलेहार ठूलपोखरी वनक्षेत्रमा विपद् जोखिम न्यूनिकरणका लागि अग्नीरेखा निर्माणको काम हुने गिरीले बताए । बिपद्को बाहेक सवै काम कार्यान्वयनमा गएको नगरपालिकाले जनाएको छ ।

मुसिकोट नगरपालिकाका मेयर जिवलाल खरेल ‘जीवन’ ले बेलायत सरकारको ठूलो वैदेशिक सहयोग कार्यक्रम मध्येको स्थानीय पुर्वाधार सहयोग कार्यक्रमले स्थानीय तहको विकास र समृद्धिमा ठूलो सहयोग गरेको बताए । उनले पहिरो नियन्त्रण, तटबन्ध, सिँचाई कुलोदेखि पदमार्गसम्मका काममा साझेदारी गरेर काम गर्न पाएकोमा खुसी व्यक्त गरे । आगामी बर्षका लागि समेत सहयोग र सहकार्य अगाडी बढेको खरेलले बताए ।

पदमार्ग निर्माणले धार्मिक पदयात्री र पर्यटकलाई सहज मात्रै नभएर स्थानीय ३८ जनाले रोजगारी समेत मिलेको सालिमे दह पदमार्ग स्तरोन्नती उपभोक्ता समिति अध्यक्ष नुर बहादुर गुरुङ्गले बताए । उनले भने,‘यो मार्गले धार्मिक क्षेत्र सालिमेसंग नजिक बनाएको छ । गाउँकै योजना निर्माणमा गाउँकैले रोजगारी पाउनु अर्को सुखद पक्ष हो ।’