साहित्यिक साँझमा विरहदेखि विद्रोहसम्म

मेचीकाली संवाददाता

७ असार २०८२, शनिबार
84 shares

दलबहादुर गुरुङ

बुटवल । असार ६ गते, शुक्रबारीय उल्लासमय साहित्यिक साँझ । नमस्ते नेपाल, लुम्बिनी प्रदेश समितिले मंगलापुर, रुपन्देहीमा आयोजना गरेको साहित्यिक साँझ । जूनकीरी रेष्टुरेन्टले सहयोग गरेको उक्त साहित्यिक साँझमा दर्जन नवोदित साहित्यिक मनहरुले कविता, गजल र मुक्तकद्वारा सो साहित्यिक साँझलाई उल्लासमय एवम् रमणीय बनाएका थिए ।

साहित्यिक सिर्जनाहरुमा श्रृङ्गारिक रस र युवाहरुलाई जुरुक्क उचाल्ने खालका रचना वाचन गरिएका थिए । साथै युवाहरुले बाबाका जिम्मेवारीलाई समेत कवितामा उनेका थिए । वैदेशिक रोजगारमा जानुपरेको बाध्यतालाई गजल बहरमा सिउरिएका थिए । राजनीतिले युवालाई समेट्न नसकिरहेको वर्तमान अवस्थाका बारेमा मुक्तकमार्फत् व्यङ्ग्य कसेका थिए । युवाको व्यापारमा नेताहरु सक्रिय रहेको, रेमिटान्सले राज्य सञ्चालन गर्ने कोशिसमा सरकार रहेको दुखेसो पोखेका थिए ।

युवा साहित्यिक मनहरुले युवालाई देशमै बसाल्न साहित्यिक रचनामार्फत् उत्प्रेरित गरिरहेका थिए । सुदूरपश्चिमका भास्कर समागमदेखि शंकरनगरकी स्मृति खरेलले आफ्ना रचनामा देशका कथाब्यथा र प्रेमका कथा उरालेका थिए । उज्यालोभन्दा अँध्यारो नै आफूहरुले मन पार्न थालेको, त्यसैले त रातमै फुल्ने सुगन्धित पारिजात नै प्रिय लाग्न थालेको सुनाउँदै गर्दा ‘जूनकीरी’मा टिल्पिलिएका साहित्यिक मनहरुले ताली ठोकिरहेका थिए ।

लक्ष्मण न्यौपानेको कलात्मक र रसिलो मुक्तकले सबैलाई जुरुक्क उचालेको थियो । कपिलको कविता र क्यारिकेचरले सबैको मन तानेको थियो । उनले वियोगका कवितालाई ‘जूनकीरी’को प्रतिबिम्बन दिएका थिए । छुटेको मनलाई जूनकीरीमा खोजिरहेका थिए । निश्चलले ‘नमस्ते नेपाल’कै कविता तयार पारेर सुनाए । संस्थागत कवितामा ईतिहास थियो, वर्तमान र भविष्यका सपना थिए । युवाको ढुकढुकी नमस्ते नेपाललाई देशव्यापी बनाउन आह्वान गरिएको थियो ।

नारायण अधिकारीले निधारमा घस्नका लागि अब चुल्होमा खरानीबाहेक केही नरहेको गजल सुनाईरहँदा विद्रोहको शब्द झङ्क्रित भएको थियो । अधिवक्ता एवम् नवोदित कवि किरण ज्ञवालीले ‘शून्य थिएँ, तिमीले मलाई कवि बनायौ’ भन्दा त साहित्यिक माहोल तातेको थियो । असल सुवेदी, शरद पाण्डेय, हरि न्यौपाने र राजन न्यौपानेले स्टेजमा उत्साह थपेका थिए । विरहदेखि विद्रोहसम्मका साहित्यिक रचना वाचित उक्त जूनकीरी साहित्यिक साँझमा १५ देखि ३० नकटेका युवाहरुसँगै ५० कटेको कलाकार बेनु थापा र म सहभागी थियौं । एउटा कविता र शुभेच्छा प्रकट गर्दै युवाका माँझ, साहित्यिक साँझ प्रभावकारी रहेको बताउँदै कार्यक्रम निरन्तरताको कामना समेत गरियो ।

जीवन पाण्डेयको अध्यक्षता, साजनको सञ्चालन, प्रतिभाको संयोजन,अर्जुन र मनीषको विशेष उपस्थिति अनि जूनकीरीका सन्तोष न्यौपानेको आत्मिक सहयोगले नै साहित्यिक साँझ, सोचेभन्दा नि बढी सफल रह्यो ।