तिनाउ गाउँपालिकामा बालश्रम अन्त्यका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

९ असार २०८२, सोमबार
14 shares

बुटवल । पाल्पाको तिनाउ गाउँपालिकालाई बालश्रममुक्त बनाउने लक्ष्यअन्तर्गत तिनाउ–३ झुम्सामा अभिमुखीकरण तथा मनोपरामर्श कार्यक्रम सम्पन्न भएको छ । सोमबार तिनाउ गाउँपालिकाको आयोजना तथा नमस्ते लुम्बिनी मिडिया प्रालिको सहकार्यमा सरोकारवालाहरुको सहभागितामा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा तिनाउ गाउँपालिका–३ का वडाध्यक्ष चित्रबहादुर थापाले बालश्रमको अन्त्य गर्न सबै क्षेत्रका व्यक्तिहरु, समाज र परिवारले आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए । बालश्रम अन्त्यका लागि वडा र गाउँपालिकाको प्रयासले मात्रै पूरा नहुने र सबै सरोकारवालाहरुको सहयोग आवश्वयक रहेकोले सरोकारवालाहरुसँग अभिमुखिकरण कार्यक्रम गरिएको उनले बताए । बालश्रम मुक्त पालिका बनाउनका लागि यसक्षेत्रका विभिन्न उद्योग, होटल तथा अन्य व्यवसाय तथा यातायात क्षेत्रमा अनुगमन गरि बालबालिकालाई काममा लगाएको भेटिए तत्काल उद्दारका लागि आवश्यक समन्वय गर्दै आएको उनले बताए ।

अभिमुखीकरण कार्यक्रमका प्रशिक्षक बुटवल उपमहानगरपालिकाका उपनिर्देशक दामोदर ज्ञवालीले बालश्रमसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । बालश्रम र बालकार्यबारे जानकारी गराउँदै उनले बालश्रममा लगाउनेलाई कानुनबमोजिम दण्ड र सजायको दायरामा ल्याउनुपर्ने बताए । बालबालिकालाई उमेरअनुसार उनको वृद्धि र विकासमा नकारात्मक असर नपार्ने गरी बालकार्यमा लगाउन सकिने उनले बताए । यस्ता बालकार्यले बालबालिकालाई सामाजिकीकरण र जीवन जिउने सीपको विकास गर्ने उनले जनाए । बालश्रम अन्त्य गर्ने सवालमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने भन्दै स्थानीय सरकारले आफ्ना वडामा रहेका बालबालिकाको तथ्याङ्क संकलन गरी बालकालिकाको रेकर्ड राख्नुपर्ने ज्ञवालीले बताए । भविष्यका कर्णधार बालबालिकाले पाउनुपर्ने उचित वातावरणका लागि हरेक नागरिक जिम्मेवार भएर बालश्रमको अन्त्य गर्न लागिपरे दीगो विकास लक्ष्यले निर्धारण गरेको समयसिमा भन्दा अघिनै नेपालमा बालश्रमको अन्त्य हुने उनले बताए ।

कार्यक्रममा वडा नम्बर ३ का वडा सदस्य टंक बश्याल, कार्यपालिका सदस्य पम्फा मगर, बालमैत्री वडा सहजकर्ता सुस्मिता ढेंगा मगरलगायतले बोल्दै बालबालिका बालश्रममा जानबाट रोक्नलाई बालबालिका आश्रित परिवार सबल हुुनुपर्नेमा जोड दिँदै बालबालिकाले श्रम गर्नुपर्ने कारक समस्याको समाधानका लागि पनि सोच्नुपर्ने समय आएको बताए । कार्यक्रममा वडा भित्रका आमा समुहका सदस्यहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थी, बाल क्लबका प्रतिनीधि र स्थानीयहरुको सहभागिता रहेको थियो । सोही अबसरमा कार्यक्रममा सहभागिहरुले बालमैत्री उन्मुख पालिकालाई बालश्रममुक्त पालिका बनाउने अभियानमा सामुहिक प्रतिबद्धता जनाउँदै हस्ताक्षरसमेत गरेका छन् । कार्यक्रम तिनाउ गाउँपालिका रोजगार शाखा संयोजक कृष्ण ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

नेपालमा कानुनले बालबालिकाको उमेरका आधारमा स्वीकार्य र अस्वीकार्य कामहरू तोकेको छ । कानुनी प्रावधानअनुसार १४ वर्ष उमेर नपुगेका बालबालिकालाई श्रममा लगाउनु दण्डनीय हो । १४ देखि १८ वर्षसम्मका बालबालिकालाई सामान्य काममा लगाउन सकिन्छ तर बालश्रम (नियमित र निषेधित गर्ने) ऐन २०५६ ले ११ प्रकारका कामलाई जोखिमपूर्ण व्यवसाय वा कामहरू भनी उल्लेख कार्यमा बालबालिकालाई सम्लग्न गराउन सकिँदैन । जसमा बाल भरिया, सडक बालबालिका, बालबालिकाको बेचबिखन, बालविधुवा बालश्रम, घरेलु बालश्रमिक, इँटा कारखानामा काम गर्ने बालश्रमिक र कोइला तथा अन्य खानीमा काम गर्ने बालश्रमिक पर्दछन् । १८ वर्षमुनिका बालबालिकालाई जोखिमयुक्त मानिएको कुनै पनि काममा लगाउनु गैरकानुनी मानिन्छ ।