बगनासकालीले प्राविधिक शिक्षामा प्रोत्साहन गर्न छात्रवृत्तिको व्यवस्था गर्ने

मेचीकाली संवाददाता

११ असार २०८२, बुधबार
119 shares

पाल्पा । बगनासकाली गाउँपालिकाको गाउँसभाको १८ औं अधिबेशन सम्पन्न भएको छ । अधिवेशनमा गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी (चिदी) बाट आगामी आ.ब. २०८२÷०८३ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । नीति तथा कार्यक्रममा प्राविधिक शिक्षामा प्रोत्साहन गर्न छात्रवृत्तिको व्यवस्था गर्ने र अध्यायन पछि कम्तीमा २ बर्ष सम्म अनिवार्य रुपमा गाउँपालिकामा सेवा गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै निर्वाहमुखी उत्पादनलाई सुधार गरि व्यवसायीक उत्पादनमा जोड दिने, कृषकको आय आर्जन बढाउन बगर खेती कार्यक्रम सञ्चालन गरिने, एक घर एक करेसाबारी, बन्यजन्तुबाट जोखिम क्षेत्रमा बैकल्पिक उत्पादनमा जोड दिने, प्लाष्टिक जन्य भाँडा बर्तन न्यूनिकरण गर्न स्थानिय साल पातबाट दुना टपरी उत्पादनमा जोड दिने, पर्यटन गुरुयोजना तयार गरि पर्यटन पथ रुट तय गर्ने, होमस्टे सञ्चालन साथै संग्रहालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने, शिक्षा कार्यक्रमलाई दिगो गराउन पायक र भेग मिल्नेगरि बिद्यालय समायोजन गरिने, विद्यार्थी सामुहिक दुर्घटना विमा, बाल मैत्री शिक्षण, लगायतका कार्यक्रम ल्याइएको छ ।


यस्तै नीति तथा कार्यक्रममा स्वस्थ्य क्षेत्रको बिकासको लागि गर्ववती तथा सुत्केरीहरुलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिने, स्वास्थ्य आमा समुह सञ्जाललाई प्रभावकारी गराईने, नसर्ने रोग कमगर्न घर घरमा योग तथा भान्छा सुधार कार्यक्रम गरिने, मागमाआधारित कार्यक्रम सञ्चालन गरिने, लक्षित कार्यक्रममा एकरुपता ल्याउने लगायतका कार्यक्रम सभामा प्रस्तुत गरिएको थियो ।


सभामा गाउँपालिकाका उपाध्यक्ष तथा राजस्व परामर्श समितिका संयोजक हरिप्रसाद पाठकद्धारा आगामी आर्थिक बर्ष २०८२÷०८३ का लागि अनुमानित बजेट ५४ करोड , ७५ लाख, ८६ हजार १२८ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । नेपाल सरकार सँगको समपुरक अन्तर्गत चिलाङदी, वगनास नायर खानीछाप राम्दी मोटर बाटो पिचका लागि ३ बर्षमा सम्पन्न गर्ने गरि २ करोड १७ लाख,मोहदि भञ्ज्याङ गुगाँ दर्पुक मोटर बाटो समपुरकमै १ करोड ४९ लाख विनियोजन गरिएको छ । सभामा उपाध्यक्ष पाठकले चालू आर्थिक बर्षमा ९२ लाख,८४ हजार १ सय ४० रुपैयाँ आन्तरिक आय संकलन भएको समेत जानकारी गराएका थिए । अधिवेशनमा वन वातावरण तथा विपत व्यवस्थापन , सुशासन तथा क्षमता बिकास ,राजस्व परामर्श समिति , न्यायिक समिति , लेखा समिति , आर्थिक बिकास ,सामाजिक विकास ,पूर्वाधार विकास समिति लगायत का समितिको प्रतिबेदन प्रस्तुत गरिएको थियो । समितिका संयोजकहरुले एक आर्थिक बर्षमा भए गरेका कार्य प्रगति साथै आगामी बर्षमा गर्नुपर्ने योजनाहरु प्रस्तुत गरेका थिए ।


कार्यक्रममा गाउँसभा सदस्य यमलाल तिमिल्सिना र कृष्ण प्रसाद भुसालले सभामा सुझाव राख्दै निति तथा कार्यक्रम अनुसार बजेटलाई प्राथमिकता दिनु पर्ने, बेरुजु अन्त्य का लागि पहल गर्नुपर्ने साथै विपत व्यबस्थापनका लागि सर्तक हुनुपर्ने सुझाव दिएका थिए । १८ औं अधिबेशन गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी (चिदी)को अध्यक्षतामा सम्पन्न भएको थियो ।