

बुटवल। बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई सम्मान गर्दै नगर परिक्रमा गराएको छ ।
मंगलबार बिहान विद्यालयबाट निस्किएको बाजागाजासहितको ¥याली देवीनगर चौपारी, माझगाउँ, हात्तीसुढ, बुद्धनगर, मजुवा, जीतगढी, बेलबास, नयाँगाउँ, मगरघाट, रानीगञ्ज, सिमानगर, देवसिद्धचोक हुँदै विद्यालयमा आएको थियो ।
गत साता प्रकाशित एसईईको नतिजामा गार्गीबाट दुई जना विद्यार्थी ४ जीपीए र एक जना विद्यार्थी ३.९६ सहित शतप्रतिशत ७६ जना विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । चार जीपीए ल्याउने आर्यन पल्ली र कौशल गौतम र ३.९६ ल्याउने सम्पन्न श्रेष्ठ रहेका छन् ।
सो अवसरमा बोल्दै विद्यालयका प्राचार्य भुवन अधिकारीले छोटो समयमा विद्यालयले प्राप्त गरेको उपलब्धी विद्यार्थी, शिक्षक र अभिभावकको अथक परिश्रम, आत्मविश्वास र लगनशिलताले भएको बताए । प्राचार्य अधिकारीले आगामी वर्षहरुमा यो उपलब्धीलाई कायम राख्दै थप सफलता प्राप्त गर्न विद्यालय लागिरहने समेत विद्यार्थी र अभिभावकसँग स्पष्ट पारे ।
विद्यालयका अध्यक्ष झविन्द्र अधिकारीले उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगति एवं उज्जवल भविष्यको शुभकामना प्रदान गरे । उनले सबैको मेहनत र परिश्रमले गार्गी अभिभावक र विद्यार्थीको रोजाइमा पर्न सफल भएको बताए । विद्यालयका २ हजार ५०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । कार्यक्रमको सञ्चालन मावि संयोजक समिर अधिकारीले गरेका थिए ।