

बुटवल । उच्च अदालत तुलसीपुर, बुटवल इजालसले चालू आर्थिक वर्ष २०८१/०८२ मा असार ३० गतेसम्म ३ हजार २०९ वटा मुद्दा फस्र्यौट गरेको छ । अदालतका निमित्त रजिष्ट्रार हरिगोपाल ज्ञवालीका अनुसार अघिल्लो आर्थिक वर्षबाट सरेर आएका ८३२ वटा मुद्दा र नयाँ दर्ता भएका ३ हजार ८१ गरी जम्मा ३ हजार ९१३ वटा मुद्दामध्ये ३ हजार २०९ वटा मुद्दा फस्र्यौट भएका हुन् । प्रतिशतका आधारमा गत वर्षभन्दा ३.३१ प्रतिशत बढी ८२.०१ प्रतिशत मुद्दा फस्र्यौट भएका छन् । गत वर्ष ७८.७० प्रतिशत मुद्दा फस्र्यौट भएका थिए । चालू आर्थिक वर्षमा बाँकी रहेका ७०४ वटा मुद्दामध्ये ६ महिना भित्रका ५९७ वटा र ६ महिना नाघेका १०७ वटा मुद्दा रहेका छन् ।

अदालतले मंगलबार अदालत परिसरमा पत्रकार सम्मेलन गरी एक वर्ष कार्य प्रगति विवरण सार्वजनिक गरेको हो । गत आर्थिक वर्ष फस्र्यौट हुन बाँकी ८३२ वटा मुद्दा चालू आर्थिक वर्षका लागि दायित्वका रुपमा सरेर आएको अदालतले जनाएको छ । उच्च अदालत तुलसीपुर, बुटवलका मुख्य न्यायाधीश बासुदेव आचार्यले पछिल्ला वर्षमा अदालतमा संख्यात्मक रुपले मुद्दा बढ्दै गएको र फस्र्यौट दर पनि बढिरहेको बताए । उनका अनुसार आर्थिक वर्ष ०७७/०७८ मा कुल २ हजार ५७८ मुद्दामध्ये ४९.८४ प्रतिशत अर्थात् १ हजार २५८ मुद्दा फस्र्यौट भएका थिए । यस्तै आर्थिक वर्ष ०७८/०७९ मा कुल ३ हजार ५२४ मुद्दामध्ये ५३.०९ प्रतिशत अर्थात् १ हजार ८७१ मुद्दा फस्र्यौट भएका थिए । आर्थिक वर्ष ०७९/०८० मा कुल ३ हजार ८८९ मुद्दामध्ये ६०.३७ प्रतिशत अर्थात् २ हजार ३४८ मुद्दा फस्र्यौट भएका थिए । आर्थिक वर्ष ०८०/०८१ मा कुल ३ हजार ९०७ मुद्दामध्ये ७८.७० प्रतिशत अर्थात् ३ हजार ७५ मुद्दा फस्र्यौट भएका थिए । यस्तैगरी चालू आर्थिक वर्षमा मेलमिलापतर्फ कुल ३२१ मुद्दामध्ये १९.४८ प्रतिशत अर्थात् ६० वटा सफल भएका छन् ।
उच्च अदालत तुलसीपुर, बुटवल इजालसअन्तर्गत रुपन्देही जिल्ला अदालतमा ६३.४९ प्रतिशत अर्थात् ५ हजार ७३९, अर्घाखाँचीमा ८७.७९ प्रतिशत अर्थात् ५२५, कपिलवस्तुमा ६४.९९ प्रतिशत अर्थात् २ हजार ८७०, गुल्मीमा ७२.१७ प्रतिशत अर्थात् ५५०, पाल्पामा ७४.०९ प्रतिशत अर्थात् ८०१, नवलपरासीमा ६८.३८ प्रतिशत अर्थात् २ हजार ४३१ मुद्दा फस्र्यौट भएका छन् ।