संखुवासभा सामूहिक हत्याकाण्डः एक जना आरोपी पक्राउ

मेचीकाली संवाददाता

२६ भाद्र २०७८, शनिबार
346 shares

संखुवासभा । मादी नगरपालिका–१ उमलिङको खोलागाउँमा गत सोमबार एकै परिवारको ६ जनाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले एक जना २५ वर्षीय छिमेकीलाई पक्राउ गरेको छ ।

प्रहरीले आइतबार पत्रकार सम्मेलनमा पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गर्ने जनाएको छ । संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहालले आइतबार चैनपुरमा सार्वजनिक गरिने बताए ।

यसअघि प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताउँदै आएको थियो । प्रहरीले अरु कसैलाई पक्राउ नगरेको बताएको छ । शुक्रबार थप एक जना शंकास्पद व्यक्तिमाथि अनुसन्धान अघि बढाएको र शुक्रबार नै एक जना छिमेकीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका छिमेकीको घर घटना घटेको घरबाट करिब १ सय ५० मिटरको दूरीमा रहेको एसपी दाहालले बताए ।

घटनास्थलमा प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र संघीय इकाई प्रहरी कार्यालय धरानसमेतको ठूलो टिम परिचाल भएको थियो ।

मादी नगरपालिका–१ स्थित तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको सोमबार बिहान शव फेला परेको थियो । तेजबहादुर कार्की, आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दीपक कार्की र नातिनी गोमा कार्कीको हत्या भएको हो ।