लुम्बिनीमा बौद्ध दर्शनका ज्ञाता र सोधार्थीको जमघट

कूटनीतिमा बौद्ध शिक्षाः शान्ति र दिगो विकासको पथ विषयक दुई दिवसीय अन्तर्राष्ट्रिय संगोष्ठिमा एक दर्जन विश्वविद्यालयको सहभागिता, शान्ति प्रवद्र्धन तथा दिगो विकाससम्बन्धी नयाँ पाठ्यक्रम घोषणाको तयारी

मेचीकाली संवाददाता

१२ श्रावण २०८२, आईतवार
94 shares

अमृत गिरी

लुम्बिनी। बुद्धको शिक्षालाई आधुनिक विश्व कूटनीति, विकास र द्वन्द्व समाधानमा कसरी व्यवहारिक रूपमा रूपान्तरण गर्न सकिन्छ भन्ने विषयको खाका प्रस्तुत गर्नेगरी अहिले बौद्ध दर्शनका ज्ञाता र सोधार्थीहरुको एक समूह लुम्बिनीमा जुटेको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीमा जुटेका नेपाल–भारतलगायतका विभिन्न ठाउँका बौद्ध दर्शनका ज्ञाता, विज्ञ र सोधार्थीहरुले लुम्बिनीमार्फत विश्व शान्तिको सन्देश प्रवाह गर्ने र दिगो विकासमा बौद्ध दर्शनको भूमिकालाई प्रभावकारी बनाउन सकिने उपायको पनि खोजी गर्नेछन् ।

‘कूटनीतिमा बौद्ध शिक्षा: शान्ति र दिगो विकासको पथ’ विषयक दुई दिवसीय अन्तर्राष्ट्रिय स्तरको विशेष कार्यक्रममार्फत उनीहरु छलफलमा जुटेका हुन् । यो महत्वपूर्ण दुई दिवसीय कार्यक्रम लुम्बिनी बौद्ध विश्वविद्यालयले विभिन्न निकायको समन्वय र सहकार्यमा आयोजना गरेको हो ।

कार्यक्रममा नेपाल र भारतका विभिन्न विश्वविद्यालयका उपकुलपति, प्रोफेसर, प्राध्यापक, व्यवस्थापन हेर्ने अधिकारीहरु र सोधार्थी विद्यर्थीको सहभागिता छ । उनीहरुले बौद्ध कुटनीति मार्फत् विश्व शान्ति, विकास, आपसी सद्भाव कायम हुने कुराको सान्दर्भिकता अझ बढिरहेकोमा जोड दिएका छन् ।

बौद्ध दर्शनमै थप नयाँ पाठ्यक्रमको तयारी
सोही कार्यक्रममार्फत लुम्बिनीबाट विश्व समुदायलाई शान्ति, सहिष्णुता र समन्वयको सन्देश प्रवाह गर्ने, बौद्ध कूटनीतिमार्फत विश्व शान्ति र दिगो विकासका कार्यक्रमलाई प्रभावकारी बनाउने गरी अहिलेको पुस्तालक्षित नयाँ पाठ्यक्रमको समेत घोषणा गर्ने तयारी छ । अहिले विश्वका विभिन्न विश्वविद्यालयहरुमा बौद्ध दर्शनका विभिन्न आयामका बारेमा पठनपाठन हुँदै आएको छ । त्यसैमा अब नयाँ अर्को विषय थप गर्ने तयारीस्वरुप सरोकारवालाहरु समेतको जमघटमा घोषणाको हुन लागेको हो । ‘शान्ति प्रवद्र्धन तथा दिगो विकाससम्बन्धी स्नातकोत्तर डिप्लोमा कार्यक्रम’ शीर्षकको नयाँ पाठ्यक्रमको घोषणा गर्नेगरी विज्ञहरु जुटेका छन् ।

विज्ञहरुमार्फत अलग अलग शिर्षकमा छ वटा विशेष कार्यपत्र प्रस्तुत गरी छलफलका सेशनहरु चलाइएको लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा.तिलकराम आचार्यले जानकारी दिए । कार्यक्रमकै अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतको सिद्धार्थ विश्वविद्यालयका बिचमा शैक्षिक कार्यक्रमका विषयमा सम्झौतासमेत भएको छ ।
सो विशेष कार्यक्रममा भारतस्थित नालन्दा विश्वविद्यालय, सिद्धार्थ विश्वविद्यालय, राजाश्री जनक विश्वविद्यालयका उपकुलपति तथा प्राध्यापकहरू, भारतीय दूतावासका प्रथम सचिव वशिष्ठ नन्दन, साथै नेपाल र भारतका एक दर्जन जति विश्वविद्यालयका उपकुलपति, बौद्ध दर्शनमा क्रियाशील विद्वान्, विषयगत विज्ञहरु र सोधार्थीहरूको उपस्थिति छ ।

मानवता, सहिष्णुता र अहिंसाको प्रतीक हो लुम्बिनी: मुख्यमन्त्री
यसअघि लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा.सुवर्णलाल बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले गौतम बुद्धको शिक्षा द्वन्द्वभन्दा संवाद, प्रतिस्पर्धाभन्दा सहयोग र द्वेषभन्दा मित्रता निर्वाह गर्ने मूल्यमान्यतामा आधारित रहेको बताए ।
बुद्धका शिक्षाले अन्तर्राष्ट्रिय कूटनीतिमा दिगो शान्ति, आपसी सम्मान र समताको भावना स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै मुख्यमन्त्री आचार्यले लुम्बिनीलाई केवल धार्मिक स्थलका रूपमा नभई मानवता, सहिष्णुता र अहिंसाको प्रतीकका रूपमा चिनाउनुपर्ने आवश्यकता औंल्याए ।

को–को छन् कार्यक्रममा सहभागी ?
कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा.अच्युत वाग्ले, सुदूरपश्चिम विश्वविद्यालयका प्रा.डा.ध्रुवकुमार गौतम, नेपाल संस्कृत विश्वविद्यालयका प्रा.डा.धनिश्वर नेपाल, भारतको सिद्धार्थ विश्वविद्यालयकी प्रा.कविता शाह, पूर्वराजदूत लोकराज बराल, पूर्वराजदूत दीपकुमार उपाध्यायलगायतले उद्घाटन शत्रमै विषयकेन्द्रित मन्तव्य राखेका थिए ।

कार्यक्रममा योगमाया बिदुसी हिमालय आयुर्वेदिक विश्वविद्यालयका उपकुलपति प्रो.डा.रमेश ढुंगेल, नालन्दा विश्वविद्यालयका डिपुटी डीन डा.किशोरकुमार धवाला, प्रो.गोपाल सारंगी, प्रो.डा.विजय सिलवाल, प्रो.डा. जिबल सापकोटा, डा.कुमार खड्कालगायतका विज्ञहरूले वातावरणीय न्याय, सामाजिक उत्तरदायित्व र बौद्ध शिक्षाको प्रयोगमा आधारित दिगो विकासका दृष्टिकोण प्रस्तुत गर्ने कार्यक्रम रहेको कार्यक्रमको सहजीकरण गरिरहेका अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक राजेन्द्र घिमिरेले जानकारी दिए ।

यस्तै पूर्व राजदूत प्रा.डा.लोकराज बराल, डा.अमरेन्द्र खतुआ, जामिया मिलिया इस्लामियाका प्रो.महताब आलम रिजवी, बौद्ध दर्शन विभाग, लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रमुख डा.निमा शेर्पा, ब्रिटेनका लागि भारतकी उच्चायुक्त रुचि घन्श्याम, पूर्व राजदूत जे.एस.मुकुललगायतले कूटनीतिक संवादमा बुद्धका शिक्षाको उपयोगिता, नेपाल–भारत सम्बन्ध, धार्मिक सहिष्णुता र शान्तिको सन्देशमाथि विश्लेषण प्रस्तुत गर्ने कार्यक्रम रहेको विश्वविद्यालयका सहायक निर्देशक चुडामणी पोखरेलले जानकारी दिए ।

यसैगरी मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा.उपेन्द्रकुमार कोइराला, भिभुवन विश्वविद्यालयका प्रा.डा.शिव भुसाल, काठमाडौँ विश्वविद्यालयका डीन डा.उद्धव प्याकुरेल, लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रा.बसन्त बिडारी, आइसिसीआर अध्यक्ष प्रा.अरविन्दकुमार सिंह, इन्ट्याचका सदस्य सचिव रविन्द्र सिंह, एसियन इन्स्टिच्युट अफ डिप्लोमेसीका संस्थापक सुनिल केसीलगायतले सहानुभूति, अहिंसा र मैत्री भावनाका माध्यमबाट द्वन्द्व समाधान र वैश्विक मेलमिलापमा बुद्ध दर्शनको योगदानको विषयमा धारणा राख्ने विषयगत सत्र तय भएको छ ।

बुद्ध जन्मस्थलबारे भ्रम नफैलाउन पूर्व राजदूतको आग्रह
कार्यक्रममा सहभागी पूर्वराजदूत दीपककुमार उपाध्यायले बुद्धको पवित्र जन्मस्थल लुम्बिनी र ऐतिहासिक कपिलवस्तुका बारेमा भारतीय पक्षबाट अनावश्यक विवाद र भ्रम सिर्जना हुनेगरी बेलाबेलामा अस्वभाविक गतिविधिहरु हुने गरेको भन्दै गुनासो गरे । उनले आफू कपिलवस्तुमै जन्मे हुर्केको, बाउबाजेसमेत यहीँ जन्मे हुर्केकाले कपिलवस्तुका बारेमा अपनत्वसहितको धेरै जानकारी रहेको उल्लेख गर्दै धेरैपछि सीमावर्ती क्षेत्रमा भारतले कपिलवस्तु नामको संरचना बनाउने र त्यसबाट भ्रमसमेत सिर्जना गर्ने गरेको भन्दै विज्ञहरुलाई सचेत रहन आग्रह गरे । कार्यक्रममा सहभागी भारतीय बौद्धविद् र शैक्षिक वृत्तलाई त्यस्ता भ्रमबाट टाढा रहन उपाध्यायले आग्रह गरे । उनले लुम्बिनीको ऐतिहासिक र आध्यात्मिक पहिचानलाई विश्वसामु स्थापित गराउने कार्यमा सबै राष्ट्र जिम्मेवारपूर्वक अघि बढ्नुपर्ने धारणा राख्दै नेपाल र भारत दुवै देशका दुई प्रधानमन्त्रीले यसअघि अगाडि सारेको रामायण र बौद्ध सर्किटलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

‘बुद्धको जन्मस्थल लुम्बिनी हो भन्ने तथ्यमा कुनै भ्रम छैन र कपिलवस्तु प्राचीन सहर हो भन्ने कुरामा पनि दुईमत नै छैन यस विषयलाई लिएर अनावश्यक विवाद सिर्जना गर्नु दुर्भाग्यपूर्ण हुन्छ, प्रोफेसर ज्यूहरु सचेत रहनुहोला ।’ उपाध्यायले अगाडि बसिरहेकी भारतको सिद्धार्थ विश्वविद्यालयकी उपकुलपति कविता साहको नामै लिएर भ्रमपूर्ण प्रचारबाजी गर्नेलाई रोक्ने भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।